राजनीति

ओलीले संसद्ले पास गरेको नक्सा पाठ्‍यपुस्तकमा राख्‍न दिएनन् : पौडेल

इकागज |
फागुन ३, २०७७ सोमबार २०:११ बजे

फाइल तस्बिर

दैलेख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओलीले संसद्ले पास गरेको नेपालको नक्सा शिक्षा मन्त्रालयले प्रकाशित गर्ने पाठ्यपुस्तकमा राख्‍न नदिएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्द दैलेखमा आयोजित विरोध प्रदर्शनमा पौडेलले  सरकारले तीन वर्षमा जनताका लागि कुनै काम नगरेको बताए । 

उनले भने, ‘तीन वर्षमा केपी ओलीजीले कति पटक खोक्नुभयो, कति पटक हाछ्युँ गर्नुभयो र कति पटक अस्पताल जानुभयो ? यो नेपाली जनताको सरोकारको विषय होइन ।’


प्रधानमन्त्रीले ओम्‍नीलाई कतिवटा ठेक्का दिए र यती होल्डिङलाई कतिवटा सरकारी सम्पत्ति जिम्मा लगाए भन्‍ने कुरा नेपाली जनताका लागि उपलब्धिको विषय नभएको बताए । उनले भने, ‘यो तीन वर्षमा केपी ओलीजीले जनताका निम्ति केही पनि काम गर्नुभएन । तीन वर्षको अवधिमा यो सरकारले एउटा पनि नयाँ परियोजना ल्याएन ।’ 

पौडेलले मध्य-पहाडी राजमार्ग, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, मेलम्ची खानेपानी योजना ओली सरकारले बनाएका योजना नभएको बताए ।  ‘पहिले सुरु भएका योजनाहरु निरन्तर चलिरहेका थिए । यो सरकार आएपछि काम एकदमै ढिलो भयो,’ उनले भने, ‘यो सरकार आउँदा मेलम्चीको काम जम्मा १०% मात्रै बाँकी थियो । तीन वर्षसम्म त्यो १०% काम पनि पूरा भएन ।’ 
 
प्रधानमन्त्रीको रूपमा शपथ लिने बेलामा  ईश्‍वरलाई मान्दिन भन्‍ने ओलीले संसद् विघटन गरेर पशुपतिमा सुनको जलप लगाउने घोषणा गरेर नाटक गरेको पनि उनले बताए । कार्यक्रममा बोल्दै उनले ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधानभन्दा माथि बस्‍न खोजेको बताए । 


Author

थप समाचार
x