प्रदेश-२ प्रमुख पदमुक्त प्रकरण
सम्भावित कारण : ‘अडियो’देखि ‘नेकपा विभाजन’सम्म
को हुन् पदमुक्त प्रदेश प्रमुख परियार ?
काठमाडौँ : मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार परियारलाई पदमुक्त गरेर डा राजेश झालाई नियुक्त गरेकी छन् ।
परियारलाई पदमुक्त गर्नुको पक्का कारण खुलेको छैन । तर, केही विषय भने सतहमा आएका छन् । जसले केन्द्र सरकार र परियारबीचको टकरावतर्फ संकेत गर्छन् । सत्तारुढ नेकपा अहिले चोइटिएको अवस्था छ । जसको सोझो असर प्रदेश २ का प्रमुख परेको देखिन्छ । किनकि परियार पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख भएका थिए ।
प्रदेश-२का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झालेसमेत सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोका कारण यो घटना घटेको प्रतिक्रिया दिएका छन् । ‘यो राजनीतिक अवस्थाको उपज हो जस्तो लाग्छ मलाई,’ उनले भने । त्यस्तै परियार स्वयम्ले यो घटना राजनीतिक रुपमा घटेको संकेत गरेका छन् । उनले आफूलाई दलित भएकै कारण पदमुक्त गरेको प्रतिक्रिया दिएका हुन् ।
केही दिनअघि परियारका स्वकीय सचिव अनिल पासवान र नेपाल रेल्वेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईबीच भएको वादविवादको अडियोसमेत सार्वजनिक भएको थियो । अडियोमा भट्टराई र पासवानबीच ठूलै चर्काचर्की भएको थियो । यो वादविवादमा राजनीतिक घोचपेचदेखि अपहरण गर्नेसम्मको विषय उठेको थियो ।
करिब ४ मिनेटको सो अडियोमा चर्को आरोप-प्रत्याआरोपमा उत्रिएका उनीहरूले राजनीतिक शक्ति र नेताको आडमा तीव्र आक्रोश पोखेको सुनिन्छ । अडियो सार्वजनिक भएसँगै प्रदेश प्रमुख पदमुक्त भएपछि कहीँ न कहीँ यी दुबै विषय एक अर्कासँग जोडिएको हुनसक्ने देखिन्छ । भट्टराई प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र मानिन्छन् । प्रदेश प्रमुख परियारको निर्देशनमा रेलवे सञ्चालनका बारेमा जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराईले पासवानलाई गालीगलौज गरेको बताइएको थियो ।
अडियो संवादमा महाप्रबन्धक भट्टराईले 'म रेलवेको महाप्रबन्धक हुँ बर्दिबास मेरो घर हो तिमीलाई एक घण्टामै अपहरण गराई दिन्छु' भनेका छन् । दुवैबीचको चर्काचर्कीमा अश्लील गालीगलौजसमेत भएको छ । ‘म केपी ओलीको छोरा हुँ मलाई तिमी केही बिगार्न सक्दैनौ’ भट्टराईले भनेका छन् । संवादको क्रममा अपहरणको धम्कीपछि पासवानले पनि ज्यान मार्ने धम्की दिएका छन् । दुवैले एकअर्कालाई अश्लील गालीगलैज समेत गरेका छन् । अडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र ओलीको मान्छे भन्ने आरोप प्रत्यारोप पनि सुन्न सकिन्छ ।
को हुन् परियार ?
तिलक परियार संविधान सभा सदस्य भएर संविधान निर्माणमा सहभागी भएका व्यक्ति हुन् । राजनीतिशास्त्रमा बीए गरेका उनी २०२१ सालमा राजनीतिमा प्रवेश गरेका थिए । उनी ०३३ साल यता सक्रिय राजनीतिमा थिए । उनी ००७ सालमा रोल्पा जिल्लाको लिवाङमा जन्मिएका हुन् ।
पहिलो संविधान सभा निर्वाचनमा १८ जना उम्मेद्वारबीच १६ हजारभन्दा बढी मत ल्याएर विजयी भएका हुन् । परियार बाँके जिल्लाको कोहलपुरका स्थायी बासिन्दा हुन् । माओवादी सशस्त्र संघर्षमा लागेर उनी २०५८ सालदेखि ०६३ सालसम्म भूमिगत भएका थिए । साथै, ०२८ देखि ०४२ सालसम्म निर्वासन जीवन बिताएका परियार ०५४ चैतदेखि ०५४ साउनसम्म राजनीतिक बन्दी भएरसमेत बसेका थिए ।
दलित मुक्तिमोर्चाको केन्द्रीय संयोजकसमेत भइसकेका परियारले राजनीतिको सुरुवाती समयमा भारतीय कम्युनिस्ट पार्टीका नेता वि.डी. रणदिवेबाटसमेत राजनीतिक प्रशिक्षण लिएको बताउँदै आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया