राजनीति

बजेट विनियोजन मनमोहनको पालामा, शिलान्यास गर्दै केपी ओली

नवराज पनेरु |
फागुन ९, २०७७ आइतबार १४:२८ बजे

धनगढी : लामो समयदेखि अलपत्र परेको कञ्‍चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्ने भएको छ । पहिलो पटक बजेट विनियोजना भएको २५ बर्षपछि छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तयारी गरिएको छ ।  २०५२ सालमा तत्कालीन  प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो । त्यस्को २५ बर्षपछि सोमबार प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक क्षेत्रको शिलान्यास गर्दैछन् । ९ महिने शासनकालको पहिलो निर्वाचित कम्युनिस्ट सरकारले बजेट विनियोजन गरको २५ वर्षपछि प्रतिनिधि सभा भंग गरेका कामचलाउ कम्युनिस्ट प्रधानमन्त्रीले उक्त क्षेत्रको शिलान्यास गर्दैछन् ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्याससँगै सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन् । आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले भने, ’प्रधानमन्त्री केपी शर्मा ओली सोमबार कञ्‍चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउँदै हुनुहुन्छ । सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको हो ।’ नौ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टले बताए । 


सो औद्योगिक क्षेत्र स्थापनाका लागि यसै बर्ष वातावरणीय  प्रभाव मुल्याङ्कन स्वीकृत भएको थियो । २०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, वेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन सहमति जनाइसकेका थिए । २०७५ साल असोजमा डिभिजन वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजिछेला क्षेत्रमा उद्यौगिक क्षेत्र स्थापना गर्न नसकिने पत्र पेश गरेपछि सो काम अलपत्र परेको थियो ।

वन कार्यालयले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको पुर्नउत्पादित क्षेत्र र जंगली जनावरको हिडडुल गर्ने बाटो भएको भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न सकिँदैन भनेर वन कार्यालयले उद्यौगिक क्षेत्र स्थापना गर्न नसकिने जनाएको थियो । तर वन तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालयसँग सबै प्रमाणसहित पेस गर्दा मन्त्रालय स्तरबाटै सकारात्मक कुरा आएपछि इआइए स्वीकृती भएको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले बताए । अहिले दुई सय ९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य सुरु हुने र पछि एक हजार बिघामा विस्तार हुने दाबी चन्दको छ ।  


Author

थप समाचार
x