राजनीति

मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्‍वासको प्रस्ताव पेस

सरकार र राई पक्षीय सांसदहरू अनुपस्थित

लीलावल्लभ घिमिरे |
फागुन ९, २०७७ आइतबार १६:३० बजे

फाइल तस्बिर

विराटनगर : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले अनुमति दिएपछि आइतबार बसेको प्रदेशसभा बैठकमा नेकपा (दाहाल-नेपाल समूह)ले दर्ता गराएको अविश्वास प्रस्ताव पेस भएको हो । 

सदनमा दाहाल-नेपाल समूहका सांसद र अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्तावबारे प्रकाश पारेका थिए । 


अविश्वासको प्रस्ताव पेस भएको बैठकमा मुख्यमन्त्री राई पक्षीय सांसद र प्रदेश सरकारका मन्त्रीहरू अनुपस्थित थिए । सरकार पक्षीय सांसद र मन्त्रीहरू अनुपस्थित भएपछि सभामुख भण्डारीले अविश्वासको प्रस्ताव पेस भएपनि फागुन २० गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । 

प्रदेश सभा सचिवालयमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की प्रदेश सभा बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि सचिवालयबाट बाहिरिएका थिए । प्रदेश सभामा आएका मुख्यमन्त्री राई पक्षीय सांसदहरू संसदीय दलको कार्यालयमै बसे । तर, उनीहरूले सदनमा उपस्थिति जनाएनन् । 

प्रदेश–१ को सदनमा सरकारबिना संसद् चलेको यो पहिलो घटना हो । प्रदेश सभा नियमावलीमा बैठक सञ्चालन गर्दा मन्त्री उपस्थित हुनुपर्ने उल्लेख छ । 

बैठक बस्‍नु अघि राई पक्षले प्रदेशसभा सचिवालयमा निलम्बनमा परेका १६ सांसद सदनमा उपस्थित भए आफूहरू सदनमा उपस्थित नहुने लिखित जानकारी प्रदेशसभा सचिवालयमा गराएका थिए ।
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x