राजनीति

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा खलक विग्रहमा

लीलावल्लभ घिमिरे |
फागुन १०, २०७७ सोमबार १६:४० बजे

धनकुटा : ‘संकटका पञ्‍च’ भनी कहलिएका सूर्यबहादुर थापाको राजनीतिक आधार इलाका हो, धनकुटा । नेपाली राजनीतिमा चतुर खेलाडीका रूपमा चिनिएका थापाको दोस्रो पुस्तामा आइपुग्दा राजनीतिक धारमात्र परिर्वतन भएको छैन । उनको खलक र सहयोगीहरू समेत विग्रहमा परेका छन् ।

२०७० मा उत्ताराधिकारीका रूपमा एक मात्र छोरा सुनिलबहादुर थापालाई सूर्यबहादुरले गृह जिल्ला धनकुटाकै चुनावी मैदानमा उतारेका थिए । सुनील पिताले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार हुँदै धनकुटा-२ बाट संविधान सभा सदस्यमा विजयी भए ।
 
२०७४ मा शेरवहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्‍मा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थापा २०७७ साउन १३ गते नेपाली कांग्रेसमा प्रवेश गरे । पटक-पटक धनकुटाबाट विजयी बन्‍ने सूर्यबहादुरको पार्टी संगठन भने कमजोर रह्यो । उनका खलक र सहयोगी बाडिएकाले संगठन कमजोर भएको हो । पहिलो त, उनलाई परिवारबाटै ठूलो सहयोग थियो । भाइ हरेन्द्र र भतिजाहरू कुमारबहादुर, जगतबहादुरका अतिरिक्त पदमबहादुर बस्‍नेत सूर्यबहादुरका धनकुटाका लागि ‘पिलर’ मानिन्थे ।


उनीहरूका अलवा सूर्यबहादुरका इमान्दार सिपाहीहरू धर्मध्वज लिम्बु, चन्द्र याख्खा, देवेन्द्र देवान, माधव भट्टराई, टिकाप्रसाद घिमिरे, कृष्ण अधिकारी, मानबहादुर मिश्र, शंकर थापा, गोपाल थापा, लक्ष्मी सुब्बा र रेवत भण्डारी थिए ।

सूर्यबहादुरले यिनैका बलमा चुनावमा जित्थे । यहाँसम्म कि छोरा सुनीललाई २०७० को निर्वाचन जिताउने समूह पनि यही थियो । सुनीललाई अघि बढाएपछि २०३५ देखि सूर्यबहादुरकै राजनीतिलाई सहयोग गर्न धनकुटामै डेरा जमाएर बसेका भतिजा कुमारबहादुरले आफ्नो स्थान खोजे । 

जिल्ला विकास समितिको सभापतिसमेत बनिसकेका कुमार राप्रपा धनकुटाको पार्टी अध्यक्ष थिए । उनी काका सूर्यबहादुरको शेखपछि धनकुटा-२ मा उम्मेदवार बन्‍न चाहन्थे । तर, परिवारिक बैठकमा सूर्यबहादुरले छोरा सुनीललाई २०७० को निर्वाचनमा धनकुटा-२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने र भतिज कुमारलाई समानुपातिक सांसद बनाइ मन्त्री बनाउने योजना सुनाए । र, सहमति भयो ।

त्यही सम्झौता अनुसार कुमारले सुनिललाई सघाए । निर्वाचनमा सफलता पनि मिल्यो । तर निर्वाचन सकिएपछि सूर्यबहादुरले कुमारलाई दिने भनेको समानुपातिक कोटामा आफै जाने इच्छा देखाए । 

आफू सबैभन्दा जेठो भएकाले सबैलाई सपथ खुवाउन पाउने भएकाले केही समयका लागि आफू जाने र पछि राजीनामा गर्ने भन्दै कुमारलाई मनाए । कुमार त्यसपछि लगातार रूपमा आफूमाथि अन्याय भएको बताउँछन् । ‘मैले परिवारको राजनीति भनेर सबथोक त्यागेर लागेको हुँ’ कुमारले भने, ‘मैले गरेको योगदानको कदर परिवारबाटै नभएपछि बाहिर निस्केको हुँ ।’

२०७२ बैशाखमा सूर्यबहादुरको निधनपछि पारिवारिक खलकबीचको झगडा जिल्ला तहसम्म आयो । उता सुनिल चाहिँ ‘बुबाको राजनीतिलाई निरन्तरता दिएको’ बताउँछन् । ‘परिवार एक नहुँदा त्यसको क्षति हुन्छ भन्‍ने कुरा मलाई राम्रोसँग थाहा छ’ सुनील भने, ‘परिवारलाई राजनीतिक रूपमा एक बनाएर लैजान धेरै पटक छलफल पनि भयो ।’

उनी भन्छन्, ‘बाहिरबाट देख्दा अनमेल भए जस्तो छ । समयको माग र देशको हितका लागि मैले जुन निर्णय लिए त्यो सही छ भन्‍ने मेरो बुझाइ हो । सायद यही कुरा बुझाउन नसकेर होला परिवारका केही सदस्य र मबीच राजनीतिक विचारधारा फरक भएको छ । तर मिलाएर लैजाने मेरो प्रयास सँधै जारी रहनेछ ।’

यतिखेर सुनील कांग्रेसमा छन् । तर सूर्यबहादुरका उतिबेलाका सहयोगीहरूको ठूलै जमातसहित कुमारबहादुर राप्रपामा नै छन् । सूर्यबहादुरको मृत्युपछि खलक झगडाले निकै उग्र रूप लिएपछि करिब एक वर्ष कुमारबहादुर राप्रपाबाट एक समूह लिएर छुट्टै बसे ।

उनी पनि कांग्रेस वा नेकपामा जाने हल्लासमेत चलेको थियो । तर सुनिल कांग्रेसमा प्रवेश गर्ने बित्तिकै कुमार पुरानै घर फर्के । फेरि राप्रपा धनकुटाको अध्यक्ष बने । एकै खलकमा फरक राजनीतिले कसलाई बढी घाटा पुग्छ त्यो भने हेर्न समय पर्खनुपर्छ ।

तीमध्ये सूर्यवहादुरका छोरा सुनिलबहादुर कांग्रेसमा प्रवेश गर्दा धेरै कम मात्र उनको पछि गएका छन् । मानबहादुर मिश्र, चन्द्र याख्खा, माधव भट्टराईलगायतका सूर्यबहादुरका दाहिने हात मानिएका जिल्लाका नेताहरूमात्र कांग्रेस प्रवेश गरेका छन् । अझै पनि सूर्यबहादुरलाई सहयोग गर्ने ठूलो जमात कुमारबहादुरले आफूसँगै राखेका छन् ।
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x