राजनीति

कांग्रेस निष्कर्ष : नेकपा फुट्यो भने सरकारको नेतृत्व गर्न पार्टी तयार छ

पहिले संसदीय प्रक्रिया सुरु हुनुपर्‍यो : पौडेल

सन्तोष अधिकारी |
फागुन १३, २०७७ बिहीबार १९:१४ बजे

काठमाडौँ  : नेपाली कांग्रेसले सत्तारुढ नेकपाको विवादको टुंगो छिटै लाग्नुपर्ने बताएको छ । प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा सर्वाेच्च अदालतले फैसला सुनाएसँगै नेकपाको दाहाल-नेपाल समूह र ओली समूहले सत्ता सहकार्यको लागि कांग्रेसलाई प्रस्ताव गरेसँगै पदाधिकारी बैठक बसेर कांग्रेसले यस्तो निर्णय गरेको हो ।  
बुधबार नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमै पुगेर सहकार्यको प्रस्ताव गरेका थिए । दाहाल र नेपाललाई देउवाले पार्टीमा छलफल गरेर पुन भेट गरी जानकारी गराउने बताएका थिए । देउवाले हिजो (बुधबार) नै आज (बिहीबार) को लागि पदाधिकारी बैठक आह्वान गरेका थिए । बैठक देउवा निवास बुढानीलकण्‍ठमा बसेको हाे ।

बैठकमा वर्तमान र पूर्वपदाधिकारी सबैले नेकपा फुटेको वा जुटेको प्रष्ट नभएसम्म सत्ता सहकार्य गर्न नहुने तर्क गरे ।  ‘अहिले पार्टी एउटै छ । अध्यक्ष केपी ओली नै हुनुहुन्छ । उहाँहरुले निर्क्योल गर्ने कुरा भो । त्यो परिस्थिती नआएसम्म हामी यो पक्ष त्यो पक्षमा लाग्‍ने कुरा अपरिपक्क हुन्छ । कांग्रेस त्यसो गर्दैन,’ कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले बैठक पछि भने । । महतले पार्टी र संसदीय दल अलग भएपछि मात्रै कांग्रेसको भूमिका के भन्‍ने प्रष्ट हुने बताए ।  


‘अब संसदको बैठक बसेपछि सरकार यही हुन्छ या हुँदैन भन्‍ने कुरा टुंगो लाग्छ । यो कम्युनिष्ट पार्टीमा निर्भर छ । त्यो अवस्थामा हामी यो गर्छौँ भनेर कांग्रेसले भन्छ,’ उनले भने, ‘अहिले सरकारको नेतृत्वको लागि कसैले प्रस्ताव गरे पनि अर्थ छैन ।’  

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल पनि संसदीय प्रक्रिया सुरु नभएसम्म सत्ता सहकार्यको विषयमा कांग्रेसले केही निर्णय नगर्ने बताउँछन् । ‘संसदीय प्रक्रिया केही सुरु भएको छैन । संसदीय प्रक्रिया सुरु नभएसम्म नेपाली कांग्रेसले गर्ने भूमिका केही छैन ।  त्यसकारण संसदीय प्रक्रिया सुरु भएपछि हाम्रो पार्टीले सल्लाह गरेर निर्णय गर्छ,’ उनले भने, ‘संसदीय प्रणालीको प्रक्रिया आएपछि कांग्रेसले के गर्ने भन्‍ने आउँछ । यहाँ छोरो नजन्मी कन्दनी बाट्ने कुरा गर्न त भएन ।’ 
उनले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने पनि बताए । उनले आफैँले भंग गरेको संसद् कसरी जाने भन्दै प्रश्‍न पनि गरे ।  
‘प्रधानमन्त्रीको राजीनामाबारे हामीले बोलिसकेका छौँ । मैले बोलिसकेको छु, सभापतिज्यूले बोलिसक्नु भएको छ । नैतिकता हो भने आफैँले भंग गरेको संसद कसरी जानु हुन्छ ? कुन मुखले जानुहुन्छ ?’ पौडेलले भने ।  
   
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि नेकपा जुट्ने या फुट्नेमा टुंगो नलागेसम्म कांग्रेसले कुनै निर्णय नगर्ने बताए । उनले कांग्रेसले निर्णय गर्दा सर्वसम्मत गर्ने पनि दाबी गरे ।  प्रधानमन्त्री बन्नका लागि सभापति देउवालाई नेकपाका नेताहरुले प्रस्ताव गरेका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘फुटेर जुटेर आउ भन्ने होइन । पहिला तपाइँहरुबीचको टुंगो लगाउनुस् ।  फुटेको हो कि जुटेको प्रष्ट पार्न पर्‍यो । अहिले पनि नेकपाको संसदीय दलको नेता केपी शर्मा ओलीजी नै हो, उहाँ प्रधानमन्त्री नै हुनुहुन्छ ।  त्यसको अन्तिम टुंगो नलागेसम्म हामीले कहाँ कस्लाई कसरी सहयोग गर्ने ?’  

उनले नेकपा विभाजन हुने हो भने कांग्रेसले तत्काल छलफल गरेर निष्कर्ष निकाल्ने पनि बताए । ‘विभाजन हुने हो भने हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ,’ उनले भने, ‘होइन बीचमा उहाँहरुको सहमति भयो भने, नेकपा मिल्ने हो भने कांग्रेस प्रमुख प्रतिपक्षीकै भूमिकामा सशक्त आउनेछ ।’ केसीले कांग्रेस सरकारमा जान आतुर नभएको पनि दाबी गरे ।  

नेकपा विभाजन भएको अवस्थामा सरकार शून्यताको स्थिति हुन कांग्रेसले नदिने उनले बताए । ‘उहाँहरु (नेकपाका नेताहरु) को बीचमा विमती, विभाजन भयो भने, सरकार शून्यताको स्थितीमा त प्रतिपक्षीले बस्न दिँदैन,’ उनले भने, ‘त्यो बेलामा आवश्यकता अनुसार निर्णय गर्छाैँ । संसदीय प्रक्रिया टुंगो नलागेसम्म कांग्रेस सरकारमा जाने विषयमा टुंगो लाग्दैन ।’ 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x