राजनीति

कांग्रेसको संगठन समायोजन

झगडाको चुरो खोज्‍न निर्वाचन समिति सदस्यहरू स्थलगत भ्रमणमा

बारामा केन्द्रीय प्रतिनिधि र जिल्ला सभापतिका छुट्टाछुट्टै प्रतिवेदन

मधुसुधन भट्टराई |
फागुन १६, २०७७ आइतवार १२:५३ बजे

काठमाडौँ : पेचिलो बनेको नेपाली कांग्रेसको संगठन समायोजन विवाद-किँचलो बुझ्‍न पार्टीको निर्वाचन समितिका सदस्यहरू विवादित जिल्लामा पुगेर फर्किएका छन् । किँचलोले समायोजन टुंगिन नसकेका बारा र सप्तरीमा निर्वाचन समितिका सदस्यहरू पुगेर फर्किएका हुन् । 

सप्तरीमा निर्वाचन समितिका सदस्यहरू गोपालकृष्ण घिमिरे र खम्बबहादुर खाती तथा बारामा सिताराम केसी र एकराज पोखरेल पुगेका हुन् । 


समिति सदस्य घिमिरेले आफूहरू विवादित जिल्लामा पुगेर स्थलगत प्रतिवेदन तयार पारेको र त्यसैका आधारमा समितिले समायोजन टुंग्याउने बताए । ‘हामी विवादित दुई जिल्ला सप्तरी र बारामा पुगेर फर्किएका छौं,’ घिमिरेले इकागजसँग भने, ‘दुई/दुई सदस्य जिल्लामा पुगेर तयार पारेको प्रतिवेदनका आधारमा अब बस्‍ने समिति बैठकले समायोजन टुंग्याउँछ ।’ 
 
कांग्रेसले बारा, सप्तरी र सिन्धुपाल्चोकको संगठन समायोजन गर्न सकेको छैन । समायोजन सक्न बाँकी तीन जिल्लामध्ये दुई जिल्लामा विवाद पेचिलो बनेपछि निर्वाचन समितिका सदस्यहरू स्थलगत अध्ययनमा पुगेका हुन् ।

कांग्रेसले संगठन समायोजनको जिम्मेवारी टुंग्याउन दुई वर्ष अगाडि केन्द्रीय समितिबाट निर्णय गरेर पार्टीको निर्वाचन समितिलाई दिएको थियो । दुई वर्षसम्म पटक-पटक म्याद थप्दा पनि आवश्यक कागजात एकातिर जिल्ला र केन्द्रमा नेताको धारणा अर्कैतिर भएपछि गत पुस तीन गते समितिले तीन जिल्ला विवादित फाइल केन्द्रीय समितिमै फिर्ता पठाएको थियो ।

तर, माघ १३ गते बसेको केन्द्रीय समितिले तीन जिल्लाको विवाद मिलाउन भन्दै पुनः समितिमै फिर्ता गर्ने निर्णय गरेको थियो ।  केन्द्रीय समितिले पुनः फाइल फिर्ता पठाएपछि केन्द्रमा छलफल गर्दा सहमतिमा नटुंगिने अवस्था देखिएपछि आफूहरू स्थलगत अध्ययनमा पुगेको घिमिरेले बताए । 

बारा र सप्तरीमा समायोजनका फरक-फरक दाबी आएका छन् । जिल्लाका संस्थापनले समायोजनका लागि १३ औं महाधिवेशनको रेकर्ड ठिक नभएको अर्को पक्षले आरोप लगाउँदै आएका छन् । घिमिरेले जिल्ला सभापति र केन्द्रीय प्रतिनिधिले गलत रिपोर्ट दिएको भन्दै अर्को पक्षले दुवै जिल्लामा विरोध गर्दै आएका छन् । 

घिमिरेले बारामा जिल्ला सभापति र केन्द्रीय प्रतिनिधिले दिएका रिपोर्ट नै फरक-फरक आएपछि समस्या भएको बताए । बारामा जिल्ला सभापति जयचन्द्र चौरासिया छन् भने समायोजनका लागि निर्वाचन समितिले केन्द्रीय प्रतिनिधिका रूपमा अधिवक्ता प्रह्लाद गौतमलाई पठाएको थियो ।

जिल्ला सभापति चौरासिया र प्रतिनिधि गौतमका फरक–फरक रिपोर्ट आएकाले समिति कसरी निर्णय गर्ने भन्‍ने अन्यौलमा परेको थियो । समितिका अनुसार बारामा २३ स्थानमा विवाद छ । र, अर्को पक्षले भने संस्थापनले पुरानालाई नपारी ‘आफ्ना मानिस’ महत्व दिएको आरोप लगाइरहेको छ । 

यता ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सप्तरीमा तीन क्षेत्रमा विवाद छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र १, २ र ३ मा प्रदेश सभा क्षेत्र (क) र (ख) को विवाद रहेको घिमिरेले बताए । त्यहाँ पनि सभापति दिनेश यादवले केन्द्रीय प्रतिनिधिसँग मिलेर एकलौटी गरेको आरोप अर्को पक्षले लगाएको छ । 

सप्तरीमा केन्द्रीय प्रतिनिधि दुई जना गएका थिए । पहिला नानुलाल यादव केन्द्रीय प्रतिनिधि भएर गए । उनले क्षेत्रसम्म समायोजन गरेपछि विरामी भएर फर्किए । त्यसपछि समितिले उनको ठाँउमा बालकृष्ण ढुंगानालाई पठाएको थियो ।      

बारा र सप्तरीको विवाद टुंग्याएपछि मात्रै समितिले सिन्धुपाल्चोकको विवादबारे अध्यय गर्ने तयारी गरेको छ । ‘पहिला बारा र सप्तरीको विवाद टुंग्याउँछौ, त्यसपछि सिन्धुपाल्चोकमा प्रवेश गर्छौ,’ सदस्य घिमिरेले भने ।

समायोजन सकिएका ७ जिल्लाले पनि पुनरावलोकनका लागि कांग्रेस केन्द्रीय समितिमा निवेदन दिएका थिए । ती निवेदनमा उल्लेख गुनासो सम्बोधन गर्ने जिम्मेवारी पनि १३ माघमा बसेको केन्द्रीय समितिले निर्वाचन समितिलाई नै सुम्पिएको छ ।  

केन्द्रीय कार्यालयमा समायोजन सकिएका सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा र बाँकेले समितिको निर्णयमा असन्तुष्टि जनाउँदै पुनरावलोकनको निवेदन दिएका थिए । पहिला विवाद टुंग्याएपछि मात्रै पुनरावलोकनबारेका निवेदन अध्ययन गर्ने तयारी समितिले गरेको छ ।
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x