राजनीति

मूलधारमा विप्लव : 'महापतन'का अनुत्तरित प्रश्‍नहरू

सत्ता र स्वार्थको गठजोडले रन्थन्‍निएको क्रान्ति

विनोद देवकोटा |
फागुन २०, २०७७ बिहीबार १६:२७ बजे

काठमाडौँ : २०७४ कात्तिक ८ मा नेत्रविक्रम चन्द खुलामञ्‍चमा देखिएका थिए । त्यसपछि उनी खुला सभामा देखिएनन् । सन्दर्भ थियो, अक्टोबर क्रान्तिको शतवार्षिकी । यही अवसरमा चन्द नेतृत्वको नेकपाले राजधानीमा ‘विशाल आमसभा’ गरेको थियो । सभा सुरु भइसकेको थिएन । सोतो सर्ट, खैरो पाइन्ट र साधारण जुत्ता लगाएका चन्द मञ्‍चमा उक्लिए । त्यसपछि करिब तीन वर्षसम्म उनी अर्को मञ्‍चमा चढेनन् । 

चन्द संसद्‍वादी दलहरूसँग सहकार्य गर्नुलाई ‘महापतन’ भन्थे । त्यसैले ‘संसदीय व्यवस्थाविरुद्ध विद्रोह गर्न’ भूमिगत भए । त्यसैले उनी सार्वजनिक मञ्‍चमा तीन वर्षसम्म उभिएनन् । अब उभिदैछन्, त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग । चन्द त्यो संसद्लाई ‘दलाल’को थलो मान्थे । 


भूमिगतकालमै चन्दले ‘महापतन’ नामक पुस्तकसमेत लेखे । अहिलेको सत्ता र संसदीय व्यवस्थाप्रति उनको वितृष्णा त्यो पुस्तकमा पोखिएको छ । चन्दले तत्कालीन एमाले-माओवादी एकतालाई संशोधनवाद संज्ञा दिए । 

‘क्रान्ति असम्भव छ भन्दै आफ्नो संशोधनवादी अनुहार लुकाउन एमालेकरण हुन पुगेका दाहालका लागि यो ठूलो प्रतिष्ठा र अस्तित्वको प्रश्‍न बन्‍न पुगेको छ,’ चन्दले महापतन पुस्तकमा लेखेका छन्, ‘उनले जे गरेर भए पनि क्रान्ति समाप्त पार्नुमा आफ्नो भविष्य देख्‍ने हुन्छ, त्यो हिजोको संकटकाल भन्दा पनि नाङ्गो हुन सक्ने सम्भावना रहन्छ ।’ 
     
हिजो पुष्पकमल दाहाल जुन धरातलमा उभिएर ओलीसँग सहकार्य गरेका थिए । चन्द र ओलीबीचको सहकार्य पनि त्यही धरातलमा उभिएको छ । चन्दले आफ्नो पुस्तकमा निकालेको निष्कर्ष हो, संसदीय शक्तिसँग सहकार्य गर्नु नै महापतन हो । के चन्द ‘महापतन’तर्फ उन्मुख भएका हुन् त ? 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठको ठम्याईं चाहिँ अलि फरक छ । उनकै शब्दमा, ‘इर्ष्याको राजनीतिले यो सबै भइरहेको छ । दुबै पक्षको ‘दाहाललाई देखाइदिने’ भावनाले यो असम्भवीय वार्ता सम्भव भएको हो ।’

‘आफैमा आश्‍चर्यको प्रश्‍न आइलागेको छ, एक महिना पनि टिक्न नसक्ने सरकार छ, यस्तो खालको सरकारसँग चन्दले किन वार्ता गरे ? यसमा इष्र्याको राजनीतिले यो सम्भव भएको देखिन्छ’, श्रेष्ठ भन्छन्, ‘ओलीलाई दाहाल ठीक लगाउनु छ, यसका लागि उनले चन्दलाई साथमा लिए । चन्दलाई पनि हेर दाहाल भन्दा म महत्वपूर्ण भनेर देखाउनुछ । यसमा सहायक कारण अरु पनि हुन सक्छन् ।’

०६९ असारमा चन्दले तत्कालीन माओवादीमा विद्रोह छेडिदिए । त्यो बेला उनको निष्कर्ष थियो, ‘अध्यक्ष पुष्पकमल दाहाल र नेता डा.बाबुराम भट्टराई संसदीय राजनीतिमा भाँसिए ।’
 
क्रान्तिमा होमिने योजनामा विद्रोह गर्दा उनी एक्लै थिएनन् । उनीसँग मोहन वैद्य किरण, रामबहादुर थापालगायतका नेताहरू पनि सँगै थिए । माओवादी क्रान्तिलाई ब्यूँताउने उनीहरूको उद्घोष थियो । संसदीय राजनीतिभन्दा पर वैज्ञानिक समाजवादी व्यवस्थाको कल्पना गर्दै उनीहरू सघर्षमा होमिएका थिए । 

माओवादीबाट छुट्टिएको समूहले ०७० सालको दोस्रो संविधान सभा निर्वाचनलाई बहिस्कार गरे । त्यसलाई उनीहरूले जनक्रान्तिको नाम दिए । तर, समूहमा फाटो आउन धेरै समय लागेन । मोहन वैद्यसँग चन्दको गति मिलेन ।

‘बुढाले क्रान्ति गर्न सक्दैनन्’ भन्दै ०७१ मङ्सिर ८ मा वैद्य र बादलसहितका नेतालाई छोडेर चन्द आफ्नो बाटो लागे । वैद्य र थापाबाट अलग भएर सुरुमा नेकपा माओवादी गठन गरे । पछि चन्दले नेकपा माओवादी पनि छाडेर पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेर आफ्नो संघर्षलाई अघि बढाए । 

क्रान्ति थालेको ६ वर्षे अवधिमा दुई वर्ष त ‘अघोषित सशस्त्र द्वन्द्व’ नै भयो । संसदीय व्यवस्था ढालेर वैज्ञानिक समाजवाद ल्याउने महत्वाकांक्षी लक्ष्यमा पुग्‍न एक दर्जन बढी नेपालीले ज्यान गुमाए । राज्यसत्ता अर्थात् यो राज्य व्यवस्थाविरुद्धको विद्रोहमा ‘दलाल पुँजीवाद’विरुद्ध लड्ने भन्दै केहीले ज्यान गुमाए । 

औपचारिक रूपमा सशस्त्र युद्ध घोषणा नगरिएको भए चन्दका समूहका प्रभावशाली नेता कुमार पौडेलले प्रहरी कारबाहीमा ज्यान गुमाउनु पर्ने थिएन । तीर्थराज घिमिरे, प्रज्वल शाही जस्ता युवाको अवसान भयो । यो संख्या दर्जन हाराहारीमा छ । राज्य व्यवस्थाविरुद्धको विद्रोहमा होमिएका उनीहरू मात्रै होइन पूर्वी नेपालको मोरङमा एक शिक्षक सफाया गरियो । नख्खु बम विस्फोटमा एक जना सर्वसाधारणको ज्यान गयो । एक प्रहरी समेत चन्दको जवाफी कारबाहीमा मारिए । यस्तो क्षतिको विवरण धेरै लामो छ । 

दाहाल संसदीय व्यवस्थामा भासिएको भन्दै क्रान्तिको बिगुल फुक्न गाउँ पुगेको थिए चन्द । तर, फेरि उनी सत्तासँग सहकार्य गरी प्रधानमन्त्री ओलीसँग संयुक्त सम्बोधन गर्न तयार भएका छन् । 

सरकारसँग सहमतिपछि उनी शान्तिपूर्ण राजनीतिमा आउन तयार भए । वार्तामा के सहमति भयो त्यो त पूरै खुलाइएको छैन । तर, वार्ताका मूलभूत विषय सार्वजनिक भएका छन् । वार्ताबाट चन्दलाई प्राप्त उपलब्धि भनेको हिरासतमा रहेका कार्यकर्ताको रिहाइ, उनीहरूमाथि लगाइएका मुद्दा खारेज र प्रतिबन्ध फुकुवा हो । यो बाहेक थप कुनै ठूलो राजनीतिक उपलब्धि वार्ताबाट प्राप्त नभएको प्रष्ट छ । राजनीतिक विषयमा संवादबाट हल गरिने भनिएको छ ।
 
दाहालले क्रान्तिलाई बिर्सजन गरेको, पतन गराएको भन्दै चन्द तत्कालीन माओवादीबाट निस्किएका थिए । दाहालको महापतनसँग असहमति राख्‍ने माओवादीहरूको समर्थनमा विप्ल्वले माओवादी पुनर्गठन गरे । त्यसलाई कम्युनिष्ट आन्दोलनमा मुख्य नेतृत्वको विचलनपछि पार्टी र आन्दोलन विघटन हुने विश्‍व कम्युनिष्ट आन्दोलनमा एउटा क्रमभंगता भने। 

दाहालको महापतनको प्रतिवाद गर्न विप्ल्वले पार्टी बनाए, ‘हिजो क्रान्ति गर्छु भनेर नेपाली जनतालाई जनयुद्धमा होम्‍ने दाहाल-बाबुरामहरू पतन भए, अब उनीहरूबाट केही हुँदैन । किरण पनि संसदीय राजनीतिकै वरिपरि छन् । उनीबाट केही हुँदैन, क्रान्ति गर्ने भनेको हामीले हो, हाम्रो पार्टीले हो, एकीकृत क्रान्तिले हो ।’

यही उद्घोष गर्दै विप्लवले क्रान्तिको बिगुल फुकेका थिए । अन्ततः उनकै शब्दमा पनि महापतनको बाटोमा लागेका छन् । डा. ऋषिराम बरालको शब्दमा भन्‍ने हो भने ‘नेपालीमा प्रायः सकारात्मक कुराका लागि ‘महान’ को प्रयोग गर्ने गरिन्छ । तर, चन्दले महापतनको प्रयोग नकारात्मक अर्थमा प्रयोग गरेर किताब (महापतन) नै लेखेका छन् ।
 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x