राजनीति

ताप्लेजुङका आगलागी पीडितलाई प्रदेश सरकारको राहत

इकागज |
फागुन २०, २०७७ बिहीबार १९:३३ बजे

विराटनगर : ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले बिहीबार राहत सामाग्री वितरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पीडीतलाई राहत वितरण गर्दै प्रदेश सरकारले प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने पनि बताए ।  उनले डेराभाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिए । 

दोभान पुगेका मुख्यमन्त्री राईले पीडितहरूका माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकरसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पिडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताए । प्रदेश सरकारकातर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय किलो चामल, २५० केजी दाल, नुन, तेललगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री उपलब्ध गराएको छ । 


आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौँ पठाएको छ ।मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सभा सभा सदस्य टंक आङबुहाङ, प्रतापप्रकाश हाङगामलगायत आगलागी बस्ती पुगेका थिए । दुइ दिनअघि भएको आगलागीमा परी दोभान बजारका ४९ घर जलेर नष्ट भएका थिए भने ४० करोड बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ ।   


Author

थप समाचार
x