राजनीति

'विप्लव' भर्सेस 'विक्रम'

नखुलेका उनी र नखुलाइएका विषय

आकाश क्षेत्री | विनोद देवकोटा |
फागुन २१, २०७७ शुक्रबार १९:४७ बजे

२५ वर्षअघि फागुन संक्रान्तिकै साइतमा सशस्त्र क्रान्ति सुरु भएको थियो । क्रान्तिको त्यही महिना पारेर २५ वर्षपछि विप्लवले विद्रोह बिसाएका छन् । जसरी शुक्रबार मौसम धुम्म थियो, उसरी नै विप्लव कार्यक्रम अवधिभर धुम्म देखिए । उनको अनुहारको कान्ति हराएको थियो । हुनत, प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरिरहँदा नहास्ने कोे होला ? यसबाट विप्लव पनि अछुतो रहने कुरा भएन । बेलाबेलामा उनको अनुहारमा पनि त्यस्तो झल्को देखियो । तर जुन जोस र उर्जा उनीसँग अपेक्षा थियोे त्यो अनुहारमा मात्रै होइन उनको भाषणमा समेत कम देख्न पाइयो । 

मौसमी समाचार ख्याल नै नगरी नेता, कार्यकर्ता र सञ्चारकर्मीहरू पातलो पहिरनमा राष्ट्रिय सभागृह पुगे । दिनभर चिसोले उनीहरूको जिउँमा काँडा उमारिरह्यो । तर, एकाध विषयमा खरो बोले पनि विप्लवको भाषणले समग्रमा सहभागीहरूलाई तताउन सकेन ।  खरो भाषणका पर्याय थिए, विप्लव । अनुहारको भाव र भाषणको ओजले उनका कार्यकर्तालाई सिरिङ पाथ्र्यो । तर, राष्ट्रिय सभागृहमा विप्लवको त्यो पूरै रूप देख्न पाइएन् वा उनले देखाएनन् । उनको अनुहारमा पहिले जस्तो चमक पनि देखिएन ।


विप्लव अन्तिम पटक तीन वर्षअघि सार्वजनिक कार्यक्रममा देखिएका थिए । ०७४ कात्तिक ८ गते खुलामञ्चमा उनको ओज भरिएको भाषणा सुनियो । अक्टोबर क्रान्तिको शतवार्षिकीको सन्दर्भमा आयोजित उक्त सभामा विप्लवले करिव तीन घण्टा लामो भाषण गरेका थिए । भाषणका क्रममा विप्लवले तीन प्रमुख पार्टीहरूलाई हेर्ने दृष्टिकोण सार्वजनिक गरेका थिए । 

उनले एमालेलाई मुटु नभएको पार्टीको संज्ञा दिएका थिए । ‘अलिकति केही गर्न लागेपछि लौरो देखाएपछि थपक्क बस्छ । एमालेको मुटु छैन भन्दा पनि हुन्छ’, उनले भनेका थिए,‘एमालेभित्र कहिले दलाल हावी हुन्छन्, कहिले तिनीहरुले अलिअलि उभिन खोज्ने मान्छेहरुलाई घेरा हालिहाल्छन् ।’ 
त्यो अन्तिम सम्बोधनमा विप्लवले कांग्रेस संग्रहालयमा राख्नुपर्ने पार्टीको रुपमा ब्याख्या गरेका थिए । विप्लवले कांग्रेसलाई संग्रहालयमा राख्नुपर्ने पार्टी भएको बताए । 

‘कांग्रेसले जतिबेला प्रजातन्त्रको कुरा गथ्र्यो नि, यस्तै केही–केही भिडाएर ध्वस्त पारे, कांग्रेसको लोकतन्त्रको कुरा कसले विश्वास गर्छ? उसलाई आफै विश्वास छैन,’ उनले भनेका थिए,‘लोकतन्त्रका कुरा गर्ने लोकतन्त्र ल्याउँछु भन्ने शेरबहादुरलाई पनि विश्वास छैन । कांग्रेस काम नलाग्ने पार्टी भएको छ । यसलाई संग्रहालयमा राख्नुपर्ने भइसकेको छ ।’  

त्यस्तै त्यो बेला विप्लवले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नकटो भनेका थिए । ‘बिना वर्कतको मान्छेलाई गाउँमा नकटो भन्छन्,’ उनले भनेका थिए, ‘सडकमा हिँड्दा हिँड्दै कुनै राम्रो बैनाले भेट्टाए उतै हिँड्ने र अर्कोले मसँग जाउँ भने यसैसँग जान्छ ।’   

तत्कालीन वाम गठबन्धनलाई विप्लवले अवसरवादको संज्ञा दिएका थिए । ‘माओवादी केन्द्र र एमाले मिले वाम गठबन्धन गरेर चमत्कार भो भन्दै हिँडेका छन्, मान्छेहरु त्यसैमा आँखा मिच्दै हिँडेका छन्, प्रचण्ड कुनै समय माओवादका प्रवक्ता तर, एमाले माओ विचारधारा पनि भन्नुहुन्न वर्ग संघर्षपनि भन्नै हुन्न भनेर हिँडिसक्यो ।’

यी भाषणका केही अंश मात्र हुन् । तीन वर्षअघि जतिबेला विप्लव विद्रोहको बाटोमा भूमिगत हुँदै थिए त्यो बेला उनी अचम्मै खुलेका थिए । तर, त्यो बाटो त्यागेर अहिले शान्तिपूर्ण राजनीतिमा आउँदा उनी त्यति खुलेको देखिएन । विप्लव मात्र होइन, केही यस्ता विषय देखिए जुन सहमतिपछि पनि खुलेनन् । दुुई वर्षपछि सार्वजनिक हुन लागेका विप्लवलाई हेर्न शुक्रबार कार्यकर्ताहरू उत्सुक थिए । २ बजे कार्यक्रम सुरु हुने भनिए पनि१ बजे नै मन्च तयार गरिएको थियो । बिचमा प्रधानमन्त्रीका लागि छुट्टै कुर्सी राखिएको थियो । अरु छेउमा समान प्रकारका कुर्सी राखिएको थियो । 

साढे दुई बजेपछि प्रधानमन्त्री ओली राष्ट्रिय सभा हलमा प्रवेश गरे । उनीसँगै भित्रिए विप्लव र प्रकाण्ड । बालुवाटारमा ओलीसँग केही बेर छलफल गरेपछि भित्रिएका ओलीको अनुहारमा चमक थियो । हलमा छिर्ने वित्तिकै ओलीले विप्लवको हात समातेर उचाले । दुवैले सहभागीलाई अभिवादन गरे । विप्लवको अनुहारमा कान्ति हराएको देखिन्थ्यो । प्रधानमन्त्री ओली मन्चको बिचमा बिराजमान हुँदा बायाँतिर क्रमशः उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सुवाश नेम्वाङ बसे । दाँयातिर विप्लव, प्रकाण्ड, धमेन्द्र बास्तोला र वार्ता टोलीका सदस्य दिपक बसे । 

विप्लव किन संसदीय व्यवस्थामा आए ? के विप्लव संसदीय व्यवस्था मान्न तयार भएका हुन् ? भाषणमा उनले संसदीय व्यवस्थाबारे जनमत संग्रह गर्न सकिने संकेत त गरे तर त्यो कसरी ? कसले गर्ने ? के सरकारसँग कुनै सहमति भएको छ ? यस बारे विप्लव पूर्ण रूपमा खुलेनन् । सहमति भएकै भए पनि संकटउन्मुख रहेको सरकार आज हो कि भोलि ? केही टुंगो छैन । सहमति कायान्वयन कसरी हुन्छ ? 

दुबै पक्षबीच भएको तीन बुँदे सहमतिमा विप्लवले भन्दा सरकारले पालना गर्ने विषय बढी छन् । हिरासतमा रहेका कार्यकर्ता रिहाइ गर्ने काम सरकारले गर्छ । उनीहरूमाथि लगाइएका मुद्दा पनि सरकारले फिर्ता गर्छ । जुन कुरा प्रधानमन्त्री ओलीले ‘प्रक्रिया पुर्या‍एर’ छोडिने बताए । अब विप्लवले पालना गर्ने भनेकै शान्तिपूर्ण राजनीतिमा आउने कुरा हो । 

विप्लवले जनताको अवस्था र परिवर्तनको चाहनाको प्रतिनिधित्व गरे । ‘नेपालमा आज कसैले पनि सुरक्षित अनुभुति गर्ने स्थिति छैन,’ उनले भने, ‘हरेक घटनाक्रममा एउटा ठूलो तरंग नेपाली जनताको बीचमा छ । झुपडीमा पनि त्यो छ । महलमा पनि छ । शहरमा पनि छ । गाउँमा पनि छ ।’  

उनले सहिदको सपना र बलिदानी खेर जान नदिने प्रतिबद्धता पनि जनाए । ‘सहिद परिवारलाई विश्वास दिलाउँ हामीले जे सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौँ । हाम्रो जीवन बलिदान गर्छौ तर सहिदको सपना मर्न दिदैँनौँ । हाम्रो एउटा प्रतिबद्धता छ । हामी पूरा गर्ने प्रतिबद्धता गर्नुपर्छ ।’ उनले मलुक विरुद्ध धावा बोल्नेलाई जमिनमा मुन्टो गड्दासम्म पनि लड्न आफूहरू तयार रहेको सन्देश दिएर जनताको लागि नै यो प्रक्रियामा आएको पुष्टि गर्न खोजे ।  

दुई वर्षको अघोषित संघर्षमा विप्लवका एक दर्जनले ज्यानको आहुती दिए । केही अंगभंग भए । यस बारे उनी खुलेर बोलेनन् । आगामी कार्यदिशा के हो ? अब विप्लव कसरी अघि बढ्छन् ? यस बारे पनि उनी खुलेर बोलेनन् । ओलीसँगै सहकार्य गर्न लागेको भन्ने आरोप लागिरहेको बेला यस बारे दुवै पक्षले केही खुलाएनन् । उनीसँग सेना र हतियार समेत रहेको दाबी गृहमन्त्री रामबहादुर थापाले संसद्मै प्रस्तुत गरेका थिए । वार्ता र सहमतिमा यस विषयमा केही खुलाइएन । भाषणमा पनि दुवै पक्षले यस बारे बोलेनन् । 

संघर्षमा राजनीतिक विषय नै मूल विषय हुन् । विप्लवको संघर्ष पनि अहिलेको व्यवस्थाको विरुद्धमा थियो । तीन बुँदे सहमतिमा त्यसलाई खुम्च्याएर संवादका आधारमा गरिने भनेर प्रष्ट्याइयो । यसबारे विप्लवले पनि खुलेर बोलेनन् । धुमाउरो पारामा उनले जनमत संग्रहको विषय ल्याए । त्यसलाई थप व्याख्या गरेनन् । 
‘के नेपाली जनताले कहिल्यै पनि स्वतन्त्रतापूर्वक स्टेप चाल्न नपाउने ? नेपाली जनतालाई एकचोटी त्यो अधिकार प्रयोग गर्न दिनुपर्छ । हाम्रो अहिले पनि यो दृष्टिकोण छ । नेपाली जनताले त्यो पाउनुपर्छ । आवश्यक पर्दाखेरी प्रत्यक्ष ढंगले नेपालको भविष्यको बारेमा जनमत दिने फैसला दिने अधिकार जनताले पाउनुपर्छ । हामी हृदयपूर्वक सबैलाई आग्रह गर्न चाहान्छौँ । हामी तयार छौँ’ उनले भने । 

यो विषय नौलो भने होइन । उनी सम्मिलित चार दलीय मोर्चाले नै संसदीय व्यवस्थाका विषयमा जनमत संग्रह गर्न सकिने विकल्प अघि सारिसकेको थियो । यस विषयमा सरकारसँग केही सहमति भयो ? विप्लवले केही खुलाएनन् । प्रधानमन्त्री ओलीले पनि यस विषयमा केही बोलेनन् । संसदीय व्यवस्थाकै विषयमा जनमत संग्रह गर्नुपर्छ उनले यो पनि भनेनन् । 

बरु विप्लवले संसदीय व्यवस्थाका विषयमा जनमत संग्रह गर्नुपर्ने संकेत गरिरहदा प्रधानन्त्री ओलीले भने विप्लवले संसदीय व्यवस्थामा पौडी खेल्न सक्ने विश्वास व्यक्त गरे । विप्लवको प्रशंसामा समेत थोरै समय खर्चिएका ओलीले विप्लवको पछिल्लो कदमलाई साहसिक कदमको संज्ञा दिए ।

‘यही कदमबाट नेपाली जनताको मन जित्नु भएको छ । उहाँ फेल हुनु भएन । सफलता पूर्वक आउनु भएको छ । सेफ ल्याण्डिङ भएको छ । कुनै फोर्स वा क्रयास ल्याण्डिङ होइन । यो संसदीय राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ ।’ उहाँसँगैकाहरू अर्को समूह बनाएर मेरा विरुद्ध लागि रहेका छन् । त्यो जालझेलमा नअटेर विद्रोहमा लागेका विप्लव अव संसदीय प्रणालीमा आएकाले अव समस्या नरहेको र मुलुक पूर्ण शान्तिमा प्रवेश गरेको ओलीले बताए । ओलीले यसो भनिरहँदा विप्लव सुनिरहेका थिए । 

०००

प्रधानमन्त्री ओलीले विप्लवलाई बाहिर पौडिसकेका उनी संसद्कामा पनि पौडन सफल हुने भन्दै संसदीय राजनीतिमा  पौडीवाजको रूपमा उदाउन सक्ने बताए । प्रधानमन्त्रीले यसो भनिरहँदा विप्लवको मनमा के खेलिरहेको थियो होला ? के विप्लव ओलीले भनेझैं संसदीय राजनीतिमा पौडी खेल्न आएका हुन् ? त्यसो हो भने विप्लवकै शब्दमा त्यो ‘महापतन’ हुनेछ । जेहोस् शान्तिपूर्ण संघर्ष गर्ने विप्लवको प्रतिवद्धता मुलुक र नागरिकको लागि स्वागत योग्य छ । 


Author

आकाश क्षेत्री

संसदीय मामिलाको रिपोर्टिङ गर्ने क्षेत्री राजनीतिक संवाददाता हुन्।

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x