राजनीति

पेरिसडाँडा : केही परिदृष्य र तिनका संकेतहरू

आकाश क्षेत्री |
फागुन २४, २०७७ सोमबार २१:२३ बजे

काठमाडौँ : पेरिसडाँडाका लागि आजको दिन विशेष रह्यो । किनकि ३ वर्षअघि राष्ट्रिय सभागृहबाट सुरु भएको नेकपा (एमाले) र माओवादी केन्द्रको सहयात्रा यहीँबाट अन्त्य भएको छ । नेकपा (दाहाल-नेपाल)को स्थायी कमिटी बैठकले अब छुट्टिएर अगाडि बढ्ने निर्णय गरेको हो । बैठकले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्दै अगाडि बढ्ने र फेरि एकताका लागि पहल गर्ने निर्णय गर्‍यो । यो निर्णय हुँदै गर्दा पेरिसडाँडामा केही दृष्यहरू देखिए । जुन दृष्यहरू रोचक थिए र तिनले केही संकेत गरिरहेका थिए । प्रस्तुत छ- ती दृष्यहरूको शब्द व्याख्या :  

चार घण्टाका सकस


सोमबारको बैठक दिउँसो ३ बजे नै तय भएको थियो । तर, बैठक समयमै सुरु हुन सकेन । प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका स्थायी समिति सदस्य समयमै आएर पर्खिरहेका थिए । त्यतिकैमा साढे ३ बजे माधवकुमार नेपाल र पुष्पकमल दाहाल पेरिसडाँडाका आइपुगे । त्यसपछि ३ बजेर ४७ मिनेटमा बैठक सुरु भयो । यो बैठक कम त सकसपूर्ण भएन ।

किनकि बैठकको निर्णयपछि दाहालले शक्तिशाली नेताहरू गुमाउनुपर्ने थियो भने नेपालका अगाडि धेरै ठूलो अफ्ट्यारो थियो । एकातिर उनलाई अदालतको फैसला कार्यन्वयन गर्नु थियो । अर्कोतिर केपी शर्मा ओलीको सामना गर्नु थियो । यही सकसपूर्ण छलफलको निष्कर्ष चार घण्टापछि निस्कियो । ७ बजेर ३० मिनेट छलफलले सहमति जुटायो र बैठक सकियो ।
 
पेरिसडाँडा : फर्किएको चमक 

०७५ जेठ ३ गतेदेखि हो पेरिसडाँडाले चमक हराएको । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि यहाँ हुने चहलपहल ह्वात्तै घटेको थियो । छलफलका लागि नेताहरूको रोजाइमा कि धुम्बाराहीस्थित तत्कालीन एमालेको कार्यालय कि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नै पर्थ्यो । तर, सोमबार पेरिसडाँडाको चमक फिर्ता भयो । आज दिउँसैबाट यहाँ भीडभाड देखिन थाल्यो । जब-जब नेताहरू आउन थाले ।

त्यो चहलपहल बढ्दै गयो । र, त्यो चहलपहल राति करिब ८ बजेसम्म जारी रह्यो । यसअघि ६ बजेपछि पेरिसडाँडा सुनसान हुने गरेको कार्यालयको सुरक्षामा खटिएका एक सशस्त्र जवान बताउँछन् । उनका अनुसार ६ बजेपछि कार्यालयमा ठुला नेताको चहलपहल बढी भएको यो पहिलोपटक हो । यसबाट के प्रष्ट हुन्छ भने नेकपा गठनपछि पेरिसडाँडाले गुमाएको चमक आजदेखि फर्किएको छ ।    

नखुलाइएका पाटा 

दाहाल र नेपालले छुट्टिएर संघर्ष गर्ने निर्णय गरेका छन् । तर, केही प्रश्‍नको उत्तर उनीहरूसँग पनि देखिएन । यी पाटाहरू दुवैले ढाकछोप गर्ने प्रयास पनि गरिरहेका छन् । जस्तो अब ओली नेतृत्वको एमाले र दाहाल नेतृत्वको माओवादी केन्द्रबीच फेरि एकताको पहल होला ? एमाले र माओवादी ब्युतिएपछि प्रधानमन्त्री ओलीविरुद्ध संघर्षको ढाँचा कस्तो हुन्छ ? आदि । निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामक पार्टीहरू दर्ता भइसकेका छन् । यो अवस्थामा आफूहरू कसरी अगाडि बढ्लान भन्‍ने प्रश्‍नको उत्तर दुवै दाहाल-नेपालसँग रहेको देखिएन । 

एमाले नेताहरूको संकेत 

एमाले नेताहरू आश्‍चर्यजनक रूपमा प्रस्तुत भए । एउटा दुई वटा होइन धेरै । दुवै अध्यक्ष उपस्थित बैठकमा पालैपालो निस्किएर जान थाले । यसरी सबैभन्दा पहिले बैठक छाड्ने नेता थिए, योगश भट्टराई । उनले बैठक सुरु भएको केही समयमै बैठक कक्ष छाडिदिए । त्यसपछि बाहिरिए घनश्याम भुसाल । ५:३५ बजे रघुजी पन्त र अष्टलक्ष्मी शाक्य बैठकबाट बाहिरिए । त्यस्तै ६:१४ बजे सुरेन्द्र पाण्डे बैठकबाट हिडिदिए । पूर्वप्रधानमन्त्री झलनाथ खनाल ६:४१ बजे बैठक हलबाट बाहिरिए । एमाले नेताहरू यसरी बाहिरिदै गर्दा उनीहरूले एउटा संकेत गरिरहेका थिए । त्यो संकेत थियो, अब माओवादी र एमाले छुट्टाछुट्टै हिँड्छ । 

तर्किएका माओवादी नेता

पेरिसडाँडामा माओवादी नेताहरू अचम्मै तर्किए । संवाददाताहरू आफूतिर आइरहेको देख्‍ने बित्तिकै उनीहरू त्यहाँबाट अर्कैतिर मोडिएको देखिन्थ्यो । बैठक चलिरहेकै बेला बीचमै निस्किएका थिए, जनार्दन शर्मा । उनी बैठक भइरहेको हलबाट अनुहारमा गम्छा बेरेर बाहिर निस्किए । केही संवाददाताले उनलाई चिनेर पछि-पछि दौडिन थाले। त्यसपछि उनी झन बेसरी हिड्न थाले ।

प्रष्ट थियो, उनी प्रतिक्रिया दिन चाहिरहेका थिएनन् । माओवादी नेताहरू वर्षमान पुन, शक्ति बस्‍नेत, पम्फा भुसाल पनि यसैगरी तर्किर पेरिसडाँडाबाट बाहिरिए । अर्कोतर्फ एमालेका नेताहरू भने संवाददातालाई बैठकमा भइरहेको सूचना दिइरहेका थिए । जसका केही उदाहरण हुन्, झलनाथ खनाल, घनश्याम भुसाल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्यलगायत ।       

नेताहरूको गुमेको उर्जा

स्थायी कमिटीमा पुग्‍न सफल भएका सबै नेताहरू उर्जावान लाग्छन् । तर, आज पेरिसडाँडामा उनीहरू उर्जा धमिलो भएको देखियो । बैठकमा उपस्थित सबैजसो नेताको अनुहार अध्यारो देखिन्थ्यो । सधैँ हसिला देखिने अध्यक्षद्वय दाहाल र नेपालको अनुहारबाट चमक हराएको थियो । किनकि उनीहरूले आफ्नो राजनीतिक यात्रामा आइपर्ने एउटा कठिन उकालोमा चढ्ने निर्णय गर्दै थियो । पछिल्लो समय राजनीतिक वृत्तमा देखिएको उथलपुथलमा यो दुवै शक्ति छुट्टिएर यात्रा गर्नु निकै कठिन नै हो । 


Author

आकाश क्षेत्री

संसदीय मामिलाको रिपोर्टिङ गर्ने क्षेत्री राजनीतिक संवाददाता हुन्।


थप समाचार
x