‘शान्तियुद्ध’को सकसमा माओवादी
माओवादी विभाजनका तीन आयाम
काठमाडौँ : ‘आफ्नै साथीहरू छुट्दा, आफ्नै धरातल कमजोर हुँदा, हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै हो, नयाँ मान्छे खोज्छु भन्दा पुराना साथीरू छुटेको पक्कै हो,’ पुष्पकमल दाहाल, अध्यक्ष, माओवादी केन्द्र ।
दाहाल बिहीबार पेरिसडाँडामा थिए, उनको अनुहारमा देखिने चमक पहिलेको जस्तो थिएन । प्रायः भाषण गर्दा उनी उर्जावान देखिने गर्छन् । भावुक ‘टोन’मा कडा शब्दहरू प्रयोग गर्छन् । तर, उनको उर्जा हराएको देखिन्थ्यो ।
‘नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपाल’को राष्ट्रिय भेलालाई सम्बोधन गर्र्दै दाहालले नयाँ सारथी खोजीको कुरा गरे । अनि, नयाँ क्रान्तिको सोच पनि सार्वजनिक गरे । दाहालले भने, ‘म ६६ वर्षको भए, उमेरले कति दिन्छ ? एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु, लड्नेवाला छु, छाड्नेवाला छैन ।’
माओवादीले पछिल्लो चार वर्षमा अप्रत्यासित घटनाक्रम व्यहोर्न परेको छ । त्यसको सुरुवात २०७४ असोज १७ गतेबाट हुन्छ । जतिबेला माओवादीले नेकपा एमालेसँग ६ बुँदे सहमति गर्छ । यो समहमतिलाई वाम एकता भनियो ।
माओवादीका अधिकांश नेताहरू यो सहमतिसँग सहमत भए । तर, केही नेताहरू यसमा सहमत भएनन् । माओवादी-एमाले सहकार्यविरुद्ध उभिए । तिनैमध्येका एक थिए, मणि थापा । तिनै थापा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्का नयाँ सारथी बनेका छन् । अर्कोतर्फ दाहाल ओलीका दुश्मन बनेका छन् । दाहालले बिहीबार ‘फेरि क्रान्तिमा जाने’, ‘नछाड्ने’ र ‘लड्ने’ जस्ता शब्द तिनै ओलीविरुद्ध प्रयोग गरे । किनकि दाहाललाई एक्लो बनाउन ओलीले उनका सहयात्रीलाई उनीबाट छुट्ट्याइदिएका छन् ।
सन्दर्भ ०७७ कात्तिकको हो । तत्कालीन नेकपामा ओली समूह र दाहाल समूहबीच मतमतान्तरसहितको गडबडी शुरु भइसकेको थियो । त्यो बेला प्रधानमन्त्री ओली माओवादी खेमाका नेताहरूलाई दाहालबाट छुट्याउने कसरतमा थिए । यसका लागि उनले माओवादी गठन हुनुअघिको समीकरणलाई हतियार बनाए ।
वि.सं. २०४० मा नेपाल कम्युनिस्ट पार्टीभित्र टुट-फुटको नियति भन्दैथियो । त्यतिबेला नेकपाबाट अलग्गिएर एउटा खेमा मशाल बन्यो । तर, एकीकृत भएको त्यो मशालले पनि विभाजन व्यहोर्यो । मशाल दुईवटा बनेपछि ‘मोटो मशाल’को नेतृत्व मोहन वैद्य र ‘पातलो मसाल’को नेतृत्व मोहनविक्रम सिंहले गरेका थिए । यहीँबाट ०४७ मा नेकपा (एकता केन्द्र) गठन गरियो । जसमा पातलो मसाल पनि सहभागी भयो ।
तत्कालीन पातलो मसालबाट राजनीतिमा जग बसालेका युवा नेताहरूको एउटा लहरो अहिलेको राजनीतिमा पनि सक्रिय छ । यो लहरोको नेतृत्व दाहालले नै गरिरहेका छन् । यही लहरोलाई प्रधानमन्त्री ओलीले समाते र दाहालबाट यो लहरोलाई छुट्याउने खेलमा लागे ।
पातलो मसालको जगबाट दाहालसँग आएका टोपबहादुर रायमाझी र मणि थापा ओलीको पक्षमा लागे । पछिल्लो समय रायमाझी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री छन् भने थापा खानेपानी मन्त्री छन् । यतिमात्र होइन, जनयुद्धकालदेखि दाहालका सच्चा सारथीको रुपमा उदाएका नेताहरू पनि पछिल्लो समय ओलीतिर लागेका मात्र छैनन् कि खाँटी रुपमा दाहालकाविरुद्धमा उभिएका छन् ।
रायमाझी र थापासँगै गहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाहले दाहाल नेतृत्वको माओवादी केन्द्रमा नफर्किने घोषणा गरिरहेका छन् । जसमध्ये दाहालविरुद्ध भट्टको अभिव्यक्ति भने नेकपा विभाजन हुनुअघि नै आउन थालेको हो ।
घर छाडेका माओवादी नेताहरू स्वार्थ पूरा भएपछि फेरि घर फर्किने राजनीतिक विश्लेषक हरि रोका बताउँछन् । उनका अनुसार, ओली पक्षमा रहेका नेताहरू घर छाड्ने सर्तमा मात्रै त्यहाँ बसेका हुन् ।
‘ओलीतिर गएका नेताहरू घर छाड्ने सर्तमा मात्रै त्यहाँ बसेका छन्, जब ओलीको सत्ता सकिन्छ उनीहरू फेरि फिर्ता हुन्छन्, खान गएको मान्छे खान पाउन्जेलसम्म मात्र त्यहाँ बस्ने हो, जब उनीहरूले खान पाउन छाड्छन् फेरि फर्किन्छन्’, रोका भन्छन् ।
दाहालले आफू पक्षका नेताहरूलाई आफूतिर रोक्न नयाँ उर्जा सिर्जना गर्न नसकेकोसमेत रोका बताउँछन् । उनी भन्छन्, ‘सिद्धान्त र वैचारिक रुपमा सबै पार्टीले आफूलाई प्रष्ट पार्न सकेका छैनन्, पार्टीलाई जुझारु बनाउने भनेको सिद्धान्त र विचारले हो । जब त्यो सिद्धान्त र विचार स्खलन हुन्छ तब नेताहरू उर्जा पनि सकिन्छ ।’
माओवादी विभाजनका तीन आयाम
माओवादीले तीनवटा आयामहरू पार गर्यो जसले यो दललाई विभाजनतिर घकेल्यो । ०६३ सालमा माओवादीले पहिलो आयाम देख्यो । जतिबेला माओवादी बिस्तृत शान्ति सम्झौतामा आयो । दश वर्षभन्दा लामो सशस्त्र विद्रोहलाई अन्त्य गरेको घोषणा गर्दै ०६३ मंसिर ५ गत माओवादी अध्यक्ष दाहालले नेपाल सरकारसँग सम्झौता गरे । यो सम्झौताले माओवादी विभाजनको बाटो खोलिदियो ।
२०६८ मा पहिलो आयाम उत्कर्षमा पुग्यो । धोबीघाट गठबन्धनका रुपमा । साउन महिनामा तत्कालीन एकीकृत माओवादीका अध्यक्ष दाहालविरुद्ध तीन उपाध्यक्ष मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको गठबन्धन बनेको थियो ।
तीन उपाध्यक्ष राजधानीको धोबीघाटमा जम्मा भएर दाहाललाई अध्यक्षबाट राजीनामा गराउनेसमेत योजना बन्यो । तर, यो गठबन्धनले दाहाललाई अध्यक्षबाट हटाउन सकेन । उपाध्यक्ष भट्टराईलाई भने प्रधानमन्त्री बनायो । धोबीघाट गठबन्धनबाट सुरु भएको विभाजित मनस्थितिले अन्ततः माओवादीलाई नै विभाजन गरायो । त्यसपछि सबैभन्दा पहिले मोहन वैद्य, नेत्रविक्रम चन्द, सीपी गजुरेल लगायतका नेता र त्यसपछि बाबुराम भट्टराई, लोकेन्द्र विष्ट लगायतका नेताले माओवादी छाडेर हिँडे ।
माओवादीले ‘जनयुद्ध’पछि ‘शान्तियुद्ध’को धराप छिचोल्न नसकेको वामपन्थी लेखक नरेन्द्रजंग पिटरको बुझाइ छ । उनी भन्छन्, ‘माओवादीले जनयुद्धको एम्बुसलाई छिचोल्यो, तर शान्तियुद्धको धराप छिचोल्न सकेन । माओवादीले जनयुद्धका बेला पैदा गरेका महत्वकांक्षालाई व्यवस्थापन गर्न सकेन । त्यहीकारण पनि नेताहरूले दाहालको साथ छोड्न थाले ।’
विचार र सिद्धान्त हराएपछि पनि माओवादी विभाजनको अवस्थामा आइपुगेको पिटर बताउँछन् । उनका अनुसार, जनयुद्धमा सबैलाई विचार र सिद्धान्तले जोडेको थियो । ‘जनयुद्धका बेला प्रचण्ड र बाबुरामलाई माक्र्स र एंगेल्स भनिन्थ्यो, यिनीहरूको दोस्ती यति गाढा थियो । तर, शान्तियुद्धमा त्यस्तो अवस्था रहन । एकातिर दाहाल र अर्कोतिर उनीविरोधी काम हुन थाले,’ उनी भन्छन्, ‘जनयुद्धको बेला सबैलाई विचारले जोडेको थियो, तर सिद्धान्त र विचार सकिएपछि सबै छुट्टिन थाले, यही कारण माओवादीले जनयुद्ध त झेल्न सक्यो तर शान्तियुद्ध झेल्न सकेन ।’
०७५ सालमा माओवादीसमक्ष दोस्रो आयाम आइपुग्यो । त्यो आयामले नेकपा गठन गरिदियो । पानी बाराबारको सम्बन्ध थियो एमाले र माओवादीबीचको । तर, चुनावी गठबन्धन र त्यसपछिको अवस्थाले ०७५ जेठ ३ एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो । र, माओवादीले आफ्नो नामसँगै चुनाव चिन्ह पनि गुमाउनु पर्यो । यतिमात्र होइन, गोपाल किराती लगायतका नेताहरूलाई त्यतिबेलै गुमाउनुपर्यो ।
०७७ मा माओवादीले तेस्रो आयाम देख्यो । किनकि मरिसकेको दल फेरि व्युँताइएको थियो । नेकपा गठन भएको तीन वर्ष नपुग्दै यो दल विभाजन भयो । नेकपा एमाले र माओवादी दुबै व्युँतिए । पार्टी व्युँतिएपछि त्यतिखेरका माओवादी नेताहरू अहिले माओवादीमा छैनन् ।
तेस्रो आयामबारे पिटर भन्छन्, ‘शान्तियुद्धमा विरोधीहरूलाई जित्न एकता चाहिएको थियो, त्यसैकारण दुश्मन भनिएकाहरूसँग पनि एकता गर्नुपर्यो । यस्ता कारणले पनि कही अविश्वासहरू जागृत हुँदै गए ।’
माओवादीले यो विभाजनलाई आफूलाई सच्च्याउने तिखार्ने अवसरको रूपमा हेर्नुपर्ने राजनीतिक विष्लेषक श्याम श्रेष्ठ बताउँछन् । उनका अनुसार, दाहालको नेतृत्वमा माओवादीले कुनै गौरवयोग्य काम गर्न नसकेका कारण यो समस्या देखिएको हो ।
‘पहिलो प्रचण्डलाई छोडेर जाने नेतारू लोभी देखिए । दोस्रो, प्रचण्डको नेतृत्वमा माओवादीले कुनै गौरवयोग्य काम गर्न नसक्नु’, उनी भन्छन्, ‘माओवादीले आफैले भनेका कुराहरूको रिजल्ट निकाल्न सकेन । जनयुद्धका एजेण्डाहरूलाई शान्ति प्रक्रियामा आएपछि सेट गर्न सकेन, त्यसैले माओवादी घट्दै गरेको देखिन्छ, माओवादीले आफूलाई सच्च्याउने तिखार्ने अवसरको रूपमा यसलाई लिँदा हुन्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया