राजनीति

सरकार-जसपाको वार्तामा बाबुराम भट्टराई किन गएनन् ?

एकलौटी रुपमा बनाइएको कार्यदल मान्य हुँदैन : उपेन्द्र यादव

सन्तोष अधिकारी |
फागुन २८, २०७७ शुक्रबार १२:१९ बजे

काठमाडौँ  : अदालती आदेशसँगै पार्टी अलग भएपछि माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएको छैन । तर, उसले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न प्रमुख विपक्षी नेपाली कांग्रेस र विपक्षी दल जनता समाजवादी पार्टीसँग साथ खोजिरहेको छ । उता सत्तारुढ एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सरकार बचाउन जनता समाजवादी पार्टीसँग गुहार मागिरहेका छन् ।  

जनता समाजवादी पार्टी र नेकपा एमालेका शीर्ष नेताबीच बिहीबार औपचारिक रुपमै सत्ता सहकार्यका विषयमा छलफल भयो । जसपाका नेताहरुले उक्त छलफल सरकारमा जान भन्दा पनि पार्टीको एजेण्डा सम्बोधन गर्ने विषयमा भएको भन्दै सरकारमा जाने तयारी भएको स्वीकार गर्न चाहेका छैनन् ।  


जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा जानकारी नै नदिई प्रधानमन्त्री ओलीसँग पटक-पटक छलफल गरेपछि जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाउँदै आएका छन् ।  यतिसम्म कि बिहीबार नेकपा एमालेसँग बालुवाटारमा भएको छलफलमा डा.बाबुराम भट्टराई सहभागी नै भएनन् ।

‘भौतिक हिसाबमा कोही नेता छुटेपनि पार्टीको एजेण्डामा छलफल गर्ने भन्ने छ त्यसले केही असर गर्दैन,’ भट्टराईका स्वकीय सचिवसमेत रहेका केन्द्रीय सदस्य रोशन पोखरेलले भने, ‘हिजोको बैठकमा उहाँ (बाबुराम) नजानु भएको चाहिँ सत्य हो । केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपाले अहिले केही नसोचेको र उहाँले भन्दै आएको कुरा पनि यही हो ।’

भट्टराईले शुक्रबार राती ट्वीटरमा आफ्नो धारणा राखेका छन्, ‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ! जसपा त्यो मुसा दौडमा छैन है ।’  सरकारमा जान आफ्नै पार्टीका अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोलगायतले मरिहत्ते गरिरहेको बेला भट्टराईको यस्तो भनाइ आएको हो । 

जसपाको कार्यदलप्रति सहमति छैन : उपेन्द्र यादव 

जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष ठाकुरले एकलौटी ढंगले सरकारसँग वार्ता गर्न भन्दै बनाएको कार्यदलमा आफ्नो सहमति नरहेको बताए । ‘कार्यदलप्रति त सहमति छैन यो स्पष्ट छ । पार्टीमा एकलौटी निर्णय त चल्दैन,’ इकागजसँग कुरा गर्दै यादवले भने, ‘यो अवस्थामा ओली नेतृत्वको सरकारमा जसपा जाँदैन, त्यो सम्भव पनि छैन । हिजोको छलफल पार्टीका माग र एजेण्डा जुन सरकारी तबरबाट मात्र सम्बोधन हुन सक्छ त्यसको लागि थियो । सरकारमा जान थिएन ।’ 

बिहीबार साँझ पाँच बजेपछि बालुवाटारमा भएको छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई, राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण सहभागी थिए । जसपाले उठाएका मुद्दाबारे छलफल गर्न प्रधानमन्त्रीले दलका उपनेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई तथा ठाकुुरले लक्ष्मणलाल कर्ण र शर्वेन्द्र शुक्ललाई जिम्मेवारी दिएका छन् । 

ओली नेतृत्वको सरकारमा जाने या नजाने भन्ने विषयमा सरकारी टोली र जसपाको टोलीबीच आज शुक्रबार पनि छलफल हुँदैछ । दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता टोलीबीच छलफल हुनेछ । आज बैठकले जसपा सरकारमा जाने या नजाने भन्ने विषयमा ठोस निर्णय निकाल्ने नेताहरुले बताएका छन् । आजको बैठकमा भने प्रधानमन्त्री ओली सहभागी हुने छैनन् । 

जसपाले सरकारमा जान रेशम चौधरीको रिहा, मधेश आन्दोलनका आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता गर्नुपर्ने, संविधान संसोधन गर्नुपर्नेलगायतको माग राख्दै आएको छ । प्रधानमन्त्री जसपाको मागप्रति सकरात्मक रहेको पनि बताइएको छ । प्रधानमन्त्री ओलीलाई आफ्नै नेतृत्वको सरकार टिकाउन थप १८ सांसद आवश्यक पर्छ । निलम्बनमा परेका बाहेक ३२ सांसद रहेको जसपामा महन्थ ठाकुर र राजेन्द्र महतोको समूह बलियो देखिएको छ ।

ठाकुर समूहमा २० भन्दा बढी सांसद रहेको भन्दै प्रधानमन्त्री ओलीले उक्त समूहलाई मात्रै भएपनि सरकारमा ल्याउने रणनीति बनाइरहेका छन् ।   जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि नयाँ सरकार गठनको विषयमा छलफल गरेको थियो । जसपाका शीर्ष नेताहरु ठाकुर, महतोलगायतको समूहले दाहालसँग छलफल गरेपनि उक्त छलफल सकरात्मक नभएको बताइएको छ ।   


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x