नेपाली कांग्रेस सप्तरीको आज जिल्ला अधिवेशन हुँदै
नेपाली-कांग्रेस-सप्तरीको
राजविराज- नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदैछ ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा छन्।
सभापति पदमा उम्मेदवारी दिनुभएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहनुभएका केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उम्मेदवार रहेका रामदेवलाई सङ्घीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको बुझिएको छ ।
शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मण्डल र फत्तेमहम्मद, सचिवमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल तथा सहसचिवमा घनश्याम साह घन्सी र मनोज खड्गाले उम्मेदवारी दिएका छन् । त्यस्तै रामदेवको प्यानलबाट उपसभापतिमा रामकुमार यादव र ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादव तथा सहसचिवमा मो मुश्लिम र रामसुन्दर मण्डलको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृत डा रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् । यसैबीच दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकाले एक दिनपछि सारिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया