राजनीति

बागमतीबाट २ वर्षमा चन्द समूहका १८१ जना पक्राउ, ४३६ जनाद्वारा पार्टी परित्याग

इकागज |
चैत ३, २०७७ मंगलबार ९:४० बजे

हेटौँडा : बागमती प्रदेशमा तत्कालिन नेत्रविक्रम चन्द समूहका १८१ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । सरकारले चन्‍द समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला बाहेकका दश जिल्लाबाट २ वर्षको अवधिमा १ सय ८१ जना पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

उनीहरुमध्ये १ सय ७३ जनामाथि प्रहरीले सङ्गठीत अपराध, चन्दा असुली लगायतमा मुद्धा चलाएको थियो । ८ जना भने मुद्धा नचली छुटेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले बताइन् । दश जिल्लाबाट चन्‍द समूहका चार सय ३६ जनाले पार्टी परित्याग गरेका थिए । पार्टी परित्याग गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ नगरेको हो ।


सरकार र चन्‍द समूहबीच तीन बुँदे सहमति भएसँगै बागमती प्रदेशबाट २ जना कारागारबाट छुटेका छन् । हाल बागमती प्रदेशको सिन्धुली जिल्लाको कारागारमा एक जना कार्यकर्ता छुट्न बाँकी छन् ।  यसअघि चन्‍द समूहको अपराधिक गतिविधि बढेसँगै बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेता तथा कार्यकर्ताहरुको हिटलिस्ट नै तयार पारेको थियो ।


Author

थप समाचार
x