राजनीति

प्रतिनिधि सभा पुनःस्थापनापछिका तीन बैठकमा प्रधानमन्त्री

सुरुका दुई बैठकमा बस्दै बसेनन्, आज सकिएपछि आए

इकागज |
चैत ३, २०७७ मंगलबार १५:२३ बजे

फाइल तस्बिर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली, उप-प्रधानमन्त्री ईश्‍वर पोखरेल, सत्तारुढ दल नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ प्रतिनिधि सभा बैठक सकिएपछि संसद् भवन नयाँ वानेश्‍वर पुगेका छन् । 

यसअघि सभामुख अग्‍निप्रसाद सापकोटालाई समयमा बैठक सञ्‍चालन नगरेको भन्दै सदनमै प्रवेश नगरी फर्कने प्रधानमन्त्री ओली आज भने बैठक सकिएपछि संसद् भवनमा झुल्किन पुगेका हुन् । 


५ पुसमा प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय ११ फागुनमा  सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरिदिएको थियो । त्यसपछि बसेका तीन बैठकमा प्रधानमन्त्री ओली सहभागी भएका छैनन् । दुई बैठकमा सुरु हुनु अगावै आएर बस्दै नबसी फर्किए । आज भने सकिएपछि आए र भित्र नपसी कम्पाउन्डबाट फर्किए ।  

आजको बैठक एक बजेका लागि बोलाइएको थियो । सभामुख सापकोटाले दुई मिनेट ढिलो गरी बैठक सुरुवात गरेका थिए । ७ मिनेट बसेर बैठक सकिएको थियो । त्यो गर्दा एक बजेर ९ मिनेट गएको थियो । 

सांसदहरू बैठक सकेर बाहिर निस्किदा प्रधानमन्त्रीको गाडी संसद् भवन भित्र छिरेको देखिएको कांग्रेस सांसद प्रकाश स्‍नेही रसाइलीले जानकारी दिए । ‘हामी बैठक सकेर बाहिर निस्कदै थियौं, प्रधानमन्त्री गाडी अगाडि पछाडि सुरक्षा कारगेटसहित आउँदै थियो,’ सांसद स्‍नेहीले इकागजसँग भने । 

उपप्रधानमन्त्री पोखरेल र एमाले संसदीय दलका उपनेता नेम्वाङले त आफूहरू आइनपुग्दै बैठक सकेको भनेर ठट्टा गरेका थिए । 

आजको बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरेको थियो । त्यस्तै संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पनि पारित गरेको थियो । 

मन्त्रीहरूले बैठक सकिएपछि किन आउनु भयो भन्‍ने पत्रकारहरूको प्रश्‍नमा प्रधानमन्त्रीको चियापानमा पुगेर आउँदा ढिला भएको प्रतिक्रिया दिएका थिए । 

यसअघिका दुई बैठकमा अगाडि आएर बैठक हलसम्म नपुगी समयमा बैठक नबसालेको भनेर सभामुख सापकोटाको आलोचना गर्ने प्रधानमन्त्री आज भने सकिएपछि आएर भवनको कम्पाउन्डबाट फर्किएका थिए । 
 


Author

थप समाचार
x