राजनीति

कर्णाली सरकारको समर्थन फिर्ता प्रकरण

प्रवक्‍ता भन्छिन्, अविश्‍वासकै प्रस्ताव ल्याए सोचौंला

लक्ष्मी भण्डारी |
चैत ४, २०७७ बुधबार १८:२ बजे

सुर्खेत : कर्णाली सरकारका प्रवक्‍ता तथा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकलाई गुट बैठकको संज्ञा दिएकी छन् । साथै उनले उक्‍त बैठक अवैधानिक रहेको समेत दाबी गरिन् । 

बुधबार कँडेलको नेतृत्वमा बसेको एमाले संसदीय दलको बैठकले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । बैठकमा एमालेकै माधवकुमार नेपाल पक्षका सांसद भने उपस्थित थिएनन् । 


‘यो एमाले पार्टीको बैठक होइन, त्यो भित्रको गुटको बैठक हो’ केसीले भनिन्, ‘यो वैधानिक पनि होइन । एमालेका २० जना सांसदमध्ये बहुमत पुग्न ११ जना सदस्य चाहिन्छ तर, १० जना मात्र उपस्थित थिए । यसमा उहाँहरूले २१ जना सांसदकै निर्णय लेखेर ल्याउनुभयो, अविश्वासकै प्रस्ताव ल्याउनुभयो भने त्यतिबेला के गर्ने भनेर सोचौला’।

एमालेकै माधवकुमार नेपाल समूहले पनि समर्थन फिर्ता लिने पार्टीको निर्णयबारे कुनै जानकारी नरहेको बताएको छ । एमाले नेता तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले समर्थन फिर्ता लिएकोबारे आफूहरूलाई कुनै जानकारी नरहेको बताएका हुन् । दलको बैठकमा आफूहरू अनुपस्थित रहेकाले निर्णयमा समर्थन नरहेको र सरकारलाई दिएको समर्थन कायमै रहेको उनले बताए ।

बुधबार एमाले संसदीय दलका नेता कँडेलको अध्यक्षतामा बसेको दलको बैठकमा केपी ओली समूहका १० जना सांसदको सहभागिता थियो । प्रदेशसभामा ४० जना सांसदमध्ये २० जना सांसद छन् । बुधबार बसेको बैठकले एमालेको तर्फबाट सरकारमा गएका तीनजना मन्त्री प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढालाई पनि फिर्ता बोलाउने निर्णय गरेको  छ । 


Author

थप समाचार
x