वीर अस्पताल पुगेका प्रचण्डकाे आँखामा भक्तको छटपटी
देशभर १५ सय घाइतेहरू अस्पताल धाउँदै
तस्बिरहरू: रमेश मल्ल
काठमाडौँ- छेउमै रहेका टयाक्सी चालकहरू सीसा पुछ्दै थिए । एम्बुलेन्सकाे निरन्तर ओहाेरदाेहाेरसँगै साइरनकाे आवाज कानमा ठोकिइरहेकाे थियाे । कोही एम्बुलेन्स चालकलाई बाेलाउँदै गरेकाे सुनिन्थ्याे । गेटबाट बिरामीहरू भित्रिइरहेका थिए । कसैका हातमा औषधीका बिल बोकेर बाहिरिदैं थिए ।
वीर अस्पताल परिसरमा नर्स तथा चिकित्सकहरू ओहोरदोहोर गरिरहेका थिए । रात्रीकालीन ड्युटी सकेर जाने र दिवा ड्युटी गर्नेहरूका आँखा जुध्थे । व्हील चेयरमा बसेका बिरामीहरू आफन्तको सहारामा देखिन्थे ।
अस्पतालको दृश्य सदाको भन्दा आज बिहानीको केही फरक रह्यो । सुरक्षाकर्मीसहित गेटबाट एक्कासी शिरमा कालो ढाका टोपी शरीरमा नीलो रङ्गको हाफ कोट लगाएका व्यक्ति प्रवेश गरे । उनको पाइला अस्पतालको तेस्रो तलामा रोकियो, जहाँ माओवादी जनयुद्धमा गम्भीर घाइते भएका भक्त रानामगर उपचाररत छन् ।
उपचाररत घाइते कार्यकर्तालाई भेट्न आफ्ना कार्यकर्तासहित माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) बिहानै अस्पताल पुगे । प्रचण्डले रानासहित गोरखा फुजेलका सहिद परिवार तिलराम देवकोटा लगायत वार्डमा रहेका अन्य बिरामीलाई भेटे । उनी पुग्दा घाइते कार्यकर्ताहरू कोही सुतेका, केही भने बेडमै बसिरहेका थिए ।
उपचार गराइरहेका सबैको स्वास्थ्य अवस्था सोध्न उनले भ्याए । बिरामीहरूको अनुहार र आँखा हेर्दा लाग्थ्यो उनीहरू सबै जुरुक्क उठेर आफ्नो घर गैहाल्न पाए हुन्थ्याे भन्ने मुद्रामा देखिन्थे । बिरामी परेर अस्पतालकाे बेडमा सुतिरहनु पर्दा उनीहरूलाई पक्कै झिझो लागेकाे थियो, तर उठेर जाने ल्याकत उनीहरूमा थिएन ।
घाइते रानाका परिवारले प्रचण्डसँग उपचारमा समस्या भइरहेका कुराहरू राख्दा कोठामा सन्नाटा छाएको थियो । जनयुद्धमा लाग्दाको सपना पुरा गर्न नेतृत्त्वले दह्रो खुट्टा टेक्नुपर्ने भन्दै घाइतेका परिवारले अध्यक्ष प्रचण्डलाई अपेक्षा मिश्रित ढाडस दिए । सबैको ध्यान प्रचण्डले के भन्न यहाँ आए भन्नेमा थियो ।
'उहाँको अध्यक्षज्यूसँग भेट्ने ठूलो चाहना थियो,' बेडमा सुतिरहेका घाइते रानालाई हेर्दै उनको श्रीमतीले भनिन्, 'घाइते सबैले उपचार पाउन् । जनयुद्धमा होमिँदाको सपनाहरूलाई त्यसै खेर नफालिदिनु होला भनेर अध्यक्षलाई भन्नुभयो । '
घाइते राना बोल्न नसके पनि उपचाररत कक्षमा रहेका मनले बोलिरहेका थिए । वातावरण एकाएक सुनसान बन्यो । भक्तको छटपटी र हाउभाउले जनयुद्धले कोरेकाे कथा उनी भित्र गुम्सीरहेको थियो । उनी चाहेर पनि बोल्न सक्दैनन् । उनको हाउभाउ हेर्न सबै जना बेड छेउमा पुगे । राना परिवारका अन्य सदस्यहरूको आँखामा आँसु टिल्लपिलायो । जहाँ निराशा भन्दा आशाको कुराहरू गुन्जिएको थियो ।
रानाकै छेउमै उभिएका परिवारले भनिन,' हामीलाई अध्यक्ष भेटन आउनु भयो हाम्रो लागि ठूलो कुरा भयो । हामी पीडामा छौ तर, नेतृत्व र पार्टीप्रति अहिले पनि आशावादी छौ । उपचार गर्नका लागि कुनै कसुर बाँकी नहोस । '
राना जनयुद्धमा लाग्दा देखेका सपनाहरू पूरा भएनन् । तर, उनका आँखा आज अस्पतालको भित्ताहरू हेर्न विवश छन् । आन्दोलनमा लाग्दा जुन परिवर्तन गर्ने आशासहित लागे । त्यो आशा र भरोसा बेडमा रहे पनि अझै मारेका छैनन् ।
शारीरिक रुपमा अशक्त भएपनि मुलुकको व्यवस्था परिवर्तन भएकोमा गर्व मान्छन् । माओवादी जनयुद्धले मुलुकमा गणतन्त्र ल्यायो । संसद नदेखेका र नटेकेकाहरूले दूरदराजबाट आएर सांसदको बिल्ला भिर्न सफल भए ।
समयमा उपचार गर्न चिकित्सकहरू आउँदैनन् । घाइते लगायतका अन्य बिरामीहरू निजी अस्पतालमा रेफर हुन्छन् । उपचाररत बिरामी तथा आफन्तले अस्पतालको फार्मेसीले निशुःल्क उपलब्ध गराउने औषधि समेत नपाउने प्रचण्डसँग गुनासो राखे ।
रानालाई भेटे लगत्तै प्रचण्डले बालुवाटार पुगेर घाइतेको उपचार र अन्य विषयमा प्रधानमन्त्री शेरबहादुरको ध्यानाकर्षण गराएका थिए । उनले घाइतेहरूको उपचार गर्न कुनै कसी बाँकी नराख्ने घाइते तथा तिनका परिवारलाई बताएका थिए ।
देशभर हाल माओवादीका सामान्य अवस्थाका घाइतेहरू करिब १५ सयको हाराहारीमा रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार घरबाट उपचार गर्न अस्पताल जाँदै आउँदै गर्छन् । गम्भीर अवस्थाका सय भन्दा कम घाइते छन् । अस्पतालमा बसेर उपचार गराइरहेका गम्भीर प्रकृतिका बिरामीमा राना मात्र रहेका छन् ।
केही समयअघि मात्र अध्यक्ष प्रचण्डकै पहलमा हुम्लाका ज्ञान बहादुर रोकायालाई भारत उपचार गर्न पठाएको उनले बताए । 'घाइतेहरूको उपचार गर्न सरकारलाई पहिलो प्राथमिकतामा राख्नका लागि अध्यक्षले पहल गरिरहनु भएको छ,' उनले भने,' घाइते कार्यकर्ताहरू शान्ति प्रक्रियाको एउटा अंग भएकाले उहाँहरूलाई राज्यले तिरस्कार गरेर जान मिल्दैन ।'
घाइतेहरूको उपचार गर्न पहिले देखि सरकार र पार्टी लागेको मल्लले बताए । घाइतेहरूका लागि सरकारको तर्फबाट थप सहयोग गर्न थप बुँदासहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको उनको भनाइ छ ।
'पार्टी पङ्तिको हिसाबले घाइतेहरूको उपचारमा हाम्रो पनि जिम्मेवार रहन्छ,' उनले थपे,' मुलुकमा व्यवस्था परिवर्तनमा उहाँहरूको पनि योगदान छ । राज्यले पनि घाइतेहरूको उपचार गर्न जिम्मा लिनुपर्छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया