राजनीति

अब जनता कांग्रेसको बहुमतिय सरकार खोजिरहेको छ : नेता निधि

सुभाष कर्ण |
चैत ९, २०७८ बुधबार १९:२३ बजे

जनकपुरधाम - नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले जनता अब कांग्रेसको बहुमतिय सरकार खोजिरहेकोले सक्रिय भएर अभियानमा लाग्न आग्रह गरेका छन् ।

बुधवार धनुषा जिल्लाको नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले जनताले त कम्युष्टिहरुलाई झण्डै दुई तिहाई बहुमत दिएर जिताए, तर तिनीहरु सरकार चलाउन नसकेकाे बताए ।


पुनः ती कम्युनिष्टहरु नै हामी सरकार चलाउन सकेनौ सरकारको जिम्मेवारी कांग्रेसकै काँधमा हालिदिएकाे उनले बताए । एमाले बाहेक सबै दल मात्र होइन जनता समेत कांग्रेसमय भएकोले यस अवसरलाई सदुपयोग गर्न पार्टीका नारा घर घरमा जाऊँ, कांग्रेसलाई जिताऊ अभियानलाई सफल पार्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

अर्को प्रसंगमा नेता निधिले भने आगामी स्थानीय तह निर्वाचनको टिकटका लागि आफू वा पार्टीका शीर्षस्थ नेता कहाँ सिफरिसका लागि नगई वडा कमिटीमा जान आग्रह गरे ।

उनले भने, पहिलाको परिस्थिति अब रहेन टिकटका लागि विधानको पालना गर्दै नेता कहाँ गएर हार गुहार गर्नुभन्दा वडा वडामा गएर आफूले गरेको कार्यको मूल्यांकन निर्वाचन जित्न सक्ने दक्षताको आधारमा टिकट माग्नुस।'  

कार्यक्रममा प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले सक्रिय भएर पार्टीको मूल नारा घर घरमा जाउँ, कांग्रेसलाई जिताऊ सफल पारियो भने स्थानीय तहको निर्वाचनमा हामी बढीभन्दा बढी सिट जित्न सक्ने बताए ।

त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले पार्टीको सम्पन्न अधिवेशनबाट आएका परिणामलाई आन्तरिक कलह नबनाई एकजुट भएर निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

धनुषाका नवनिर्वाचित सभापति योगेन्द्र पजियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निर्वाचन अधिकृत अरुण ज्ञवाली, केन्द्रीय सदस्यद्वय मिनाक्षी झा र चन्द्रमोहन यादव लगायतका वक्ताहरुले निर्वाचनमा केन्द्रित भएर आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरु, निर्वाचन समिति र निर्वाचनमा सहयोग पुर्‍याउनेहरुलाई नेता निधिद्वारा प्रमाणपत्र वितरण तथा सम्मान गरिएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x