राजनीति

विराटनगरमा ‘ट्रेड एक्स्पो’ सुरु

लोभ लालचमा पर्दिन, र्‍याल नचुहाई काम गर्छु : मन्त्री आले

बाबुराम भण्डारी |
चैत १८, २०७८ शुक्रबार १५:५३ बजे

विराटनगर - विराटनगरमा शुक्रबारदेखि नौ दिने बृहत व्यापार मेला (विराट ट्रेड एक्स्पो) २०२२ सुरु भएको छ । मोरङ व्यापार संघले आयोजना गरेको एक्स्पोको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गरेका छन् । 

संघका नविन रिजालले कोभिड १९ को महामारीका कारण थलिएको औधोगिक उत्पादनलाई प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिएको जानकारी दिए । एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान र बंगलादेशमा उत्पादित औधोगिक तथा कृषिजन्य उत्पादनहरु प्रदर्शन र विक्री वितरणका लागि राखिएका छन् ।


साथै एयर कन्डिसनजडित ८० वटा, कुलर जडित ६० वटा र साधारण १०६ गटा गरी कुल २७० वटा स्टलमा ती वस्तु तथा सेवाहरु प्रदर्शनका लागि राखिएका हुन् । एक्स्पोमा पहाडी क्षेत्रको उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले ४० वटा स्टल छुट्याइएको जनाइएको छ ।

एक्स्पोले मुलुकको प्रमुख आर्थिक मेरुदण्ड रहेको उद्योग÷व्यवसायको हक हितको संरक्षण तथा यस क्षेत्रका गतिविधिहरुलाई प्रवद्र्धन गर्ने जनाइएको छ । साथै प्रदेश १ को स्वदेशी उत्पादनसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवद्र्धन एवं विकासमा जोड दिइने बताइएको छ । 

करीव तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको एक्स्पोमा आकर्षण दिन लण्डन ब्रिज, बुर्ज खालिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता मुख्य आकर्षण राखिएका छन् । साथै जिपलाइन, रिभर्स बन्जी जम्प, जिप साईक्लिङ लगायतका साहसिक खेलकुदका गतिविधि पनि समावेश गरिएका छन् । 

विराटनगर–२ शंकरपुरस्थित मैदानमा आयोजना गरिएको एक्स्पोमा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागीता हुने संघले जनाएको छ ।

एक्स्पोको उद्घाटन गर्दै मन्त्री आलेले आफुले मन्त्रीको जिम्मेवारी पाएयता कुनैपनि लोभलाचनमा नपरीकन काम गरेको दाबी गरे । उनले विराटनगर विमानस्थल विस्तारका लागि मुआब्जा वापतको १६ अर्ब रुपैयाँ सरकारले तिर्न नसक्ने भन्दै नयाँ स्थानमा विमानस्थल बनाउनेबारे आफुले उद्योगी व्यवसायीहरुसँग परामर्श गरिरहेको बताए । 

आफुले वाइड बडी विमान खरिद प्रकरण र बैज्ञानिक वन व्यवस्थापन लगायतका बिषयमा पहिलेदेखि नै चासोका साथ सरोकार राख्दै आएको भन्दै कुनैपनि लोभ लालचमा नपरी काम गर्ने बताए ।

‘बन्दुकबाट निस्केको गोली र प्रेम आलेको बोली एक इन्चपनि फरक पर्दैन’ मन्त्री आलेले भने, ‘म कतैबाट पनि जिब्रोबाट ¥याल नचुहाई काम गर्छु ।’ विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माणका लागि यसअघि लागेको टेण्डर अर्थ मन्त्रालयले बजेट सुनिश्चित नगरेकोले रद्द गरेको बताए । उनले वर्तमान अर्थमन्त्रीलाई भेटेर विराटनगर र नेपालगञ्ज विमानस्थलको टर्मिनल भवनको ठेक्का लगाउने सुनिश्चितता माग गरेको बताए । तर अहिलेसम्म बजेट सुनिश्चित नभएको बताए ।

आगामी बजेटमा विराटनगर विमानस्थलको पूर्वाधार निर्माणका लागि आफुले सहयोग गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किएपछि डेलिगेशन आउन समेत आग्रह गरे । उनले बजेट सुनिश्चित भए आफु त्यसको ठेक्का निकाल्नका लागि एक मिनेटपनि ढिला नगर्ने आश्वासन दिए ।

कम्यूनिष्ट पार्टीहरु काँच फुटेझैं फुटेको भन्दै आागामी निर्वाचनमा गठबन्धन अघि बढ्ने दाबी पनि गरे । एमालेलाई लक्षित गर्दै मन्त्री आलेले बैशाख ३० को स्थानीय तहको निर्वाचनमा जनताले राजनीतिक दलहरुको हिसाव किताव गर्ने बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x