राजनीति

अन्ततः एमालेले बनायो उम्मेदवार छनौट कमिटी

इकागज |
चैत ३०, २०७८ बुधबार १९:४५ बजे

मकवानपुर – आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनौटको लागि दलहरुलाई निकै हम्मेहम्मे परेको छ । स्थानीय तहको नेतृत्वको जिम्मेवारी लिन इच्छुकहरु धेरै हुँदा नेतृत्वलाई सहमतिको लागि समस्या भएको हो ।

नेकपा एमालेले विशेष गरी हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको टुङ्गो आज बुधबार पनि लगाउन सकेन । मेयरको आका‌ंक्षी ९ जना र उपमेयरको आकांक्षी ७ जना भए पनि पार्टी नगर कमिटीले २ चरणको बैठकबाट उक्त संङ्ख्यालाई ३/३ जनामा झारेको थियो ।


उक्त मेयरको आकांक्षी ३ र उपमेयरको आकांक्षी ३ जनालाई जिल्ला कमिटिमा सिफारीस गरेको थियो । जिल्ला कमिटीले आज सहमतिमा ल्याउन सकेन । त्यसपछि बुधबार बसेको पूर्ण कमिटी बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले स्थानीय निर्वाचन २०७९ का लागि जिल्लाका सबै पालिकाबाट आएको उम्मेदवारहरुको सिफारिस संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदवारहरुको सर्वसम्मत उम्मेदवारहरुलाई स्वीकृत गर्ने तथा सिफारिस भएकाहरुलाई छनोट गर्ने जिम्मावारी पार्टीको जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरुलाई जिम्मा दिइएको छ ।

छनोट गरिएको उम्मेदवारहरुको नामावली जिल्ला सचिवालयमा पेस गरेर सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय भएको छ । जिल्लाबाट नगर र गाउँपालिकाहरुको वडाका उम्मेदवारहरुको छनोट गरि अनुमोदन गर्ने काम ५ दिनभित्रमा सम्पन्न गर्ने गरी जिम्मेवारी दिइएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए।

बैठकले अध्यक्ष एकलाल श्रेष्ठको संयोजकत्वमा जिल्लाभर २ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा लाल बहादुर थापा, सचिवमा नवीन सिग्देल तथा उपसचिवमा हिदम लामा र सीता बिष्ट छन् । निर्वाचन परिचालन कमिटीमा एमाले मकवानपुर जिल्ला सचिवालय सदस्यहरु, पालिका इन्चार्जहरु तथा २२ वटा जनबर्गीय संगठनबाट गरि ५५ सदस्यीय सचिवालय गठन गरिएको छ ।

बैठकले स्थानीय निर्वाचन २०७९ को आचारसंहिता पुर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएको छ । निर्वाचनलाई विश्वसनीय र धाधलीरहित बनाउनका लागि निर्वाचनमा सहभागी हुने जिल्लाका सबै पार्टीहरुलाई ध्यानाकर्षण गराउने तथा निर्वाचनमा सरकारी शक्ति, स्रोत र साधनको प्रयोगमा प्रतिबाद गर्ने निर्णय भएको छ ।
मकवानपुरमा रहेका एमालेका ९ हजार ५०० संगठित सदस्यलाई निर्वाचन अवधिसम्म सक्रिय भई एमालेका उम्मेदवारहरुलाई जिताउन घरदैलो कार्यक्रम गर्न निर्देशन दिने निर्णय भएको छ ।

जिल्ला सदस्य रहेका उत्तम शर्मा न्यौपानेलाई संगठन र पार्टीको हितविपरीत कार्य गरेको भन्दै साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने निर्णय भएको छ । बाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग गरि अन्त सार्ने नियतले ल्याइएको अध्यादेश बिरुद्ध खेद प्रकट गर्ने तथा उक्त कार्यप्रति भत्सना जनाउने, सिंगो मकवानपुर जिल्लाबासीहरुको हितविपरीत गरिएको कुटनीतिक चालको भण्डाफोर गर्ने, तथा प्रतिष्ठान जुन उद्देश्यले मकवानपुरमा स्थापना गरिएको छ सो को परिपुर्ति गर्न पार्टीको तर्फबाट जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने निर्णय भएको पार्टीले जनाएको छ ।
 


Author

थप समाचार
x