राजनीति

जसपाको घोषणापत्र : महिला र दलितलाई एक करोडसम्म ऋण

सुभाष कर्ण |
बैशाख ८, २०७९ बिहीबार १३:३२ बजे

जनकपुरधाम– समृद्ध र विकसित नगर नारासहित आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणा पत्रमा आर्थिक रुपान्तरणका लागि महिला र दलितलाई एक करोडसम्मको ऋणदेखि विभिन्न विकासे प्रतिबद्धता रहेका छन् ।


जसपाले आफ्नो घोषणा पत्रमा संघीय र प्रादेशिक सरकारसँग सहयोग र समन्वय गरेर स्थानीय स्रोत साधनको प्रयोग गरी समृद्धि र विकसित नगर बनाउने प्रतिबद्धता जनाएको छ । दुई खण्ड र दुई÷दुई भागमा जारी घोषणा पत्रमा मुख्यतः आर्थिक तथा सामाजिक रुपान्तरण, स्थानीय तहको चुनौति, सम्भावना र योजनासहितको प्रतिबद्धता व्यक्त गरिएको छ ।

घोषणा पत्रको खण्ड (क) को भाग १ मा पार्टीको विचार, राजनीति र कार्यदिशा उल्लेख गरेको छ भने भाग २ मा आर्थिक तथा सामाजिक रुपान्तरण बारे आफ्ना प्रतिबद्धता जनाएका छन, जसमा मधेश प्रदेश सरकारको उपलब्धीलाई प्राथमिकता दिएका छन । स्थानीय तहभन्दा पनि बढी मधेश सरकार उपलब्धी तथा नीतिमा जोड दिएको छ ।

खण्ड ख को भाग एकमा पनि स्थानीय सेवा सञ्चालनमा पार्टीको नीतिमा केन्द्रित छ । सो भागमा स्थानीय तहका चुनौति, सम्भावना र जसपाको प्रतिबद्धता, स्थानीय तह सञ्चालनमा पार्टीको निती, सुशासन काम गर्ने नीति, लगानीका स्रोत सम्बन्धी नीति, भौतिक पुर्वाधार निर्माण नीति, स्थानीय अर्थतन्त्र निर्माण नीति, स्थानीय लोकतन्त्र सुदृढिकरण र वातावरण तथा सामाजिक जागरण सम्बन्धी सहितको नीति उल्लेख गरेको छ ।

सो खण्डको भाग दुईमा स्थानीय तहका योजना तथा कार्यक्रम बारे चर्चा गरिएको छ । जसमा भौतिक पुर्वाधार विकास, सिँचाई, सहरीकरण, आर्थिक करिडोर र भू उपयोग, शिक्षा, स्वास्थ्य र खेलकुद, कृषि र पशुपालन, पर्यटन, औद्योगिक विकास, बाल अधिकार संरक्षण, समावेशी विकास, महिला उत्थान, दलित, अल्पसंख्यक, शारिरीक अपांगता भएकाको उत्थान गर्ने लगायतका प्रतिबद्धता जनाइएको छ ।

स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा सम्पूर्ण नागरिक, विशेष गरेर निम्न र मध्यम स्तरीय आय भएका जनताको जीवनस्तरलाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपले समृद्ध बनाउने प्रक्रियामा स्थानीय तहले योगदान गर्ने उल्लेख गरेको छ ।

स्थानीय जनतालाई सरल तथा सहज रूपमा प्रशासनिक सेवा प्रदान गर्ने मात्र नभएर उनीहरूको आय स्रोत बढाउने र लगानी मैत्री वातावरण तयार पार्ने काम गर्ने दावी जसपाको छ । वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने उल्लेख गर्दै जसपाले कार्यालयमा सेवा लिन आउँने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने र यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिने जसपाले जनाएको छ ।

चालु खर्च कम र मितव्ययी गर्ने, पुँजीगत लगानी अभिबृद्धि गर्ने नीति जसपाले लिएको छ । स्रोतसाधन परिचालन गर्दा करका दरहरू कम गर्ने र दायरा बृद्धि गर्ने नीति लिनुको साथै केन्द्रीय तथा प्रादेशिक सरकारबाट प्राप्त गर्ने नियमित बजेट तथा अनुदानको प्रभावकारी कार्यसम्पादन गरी बिशेष अनुदान प्राप्त गरिने जसपाले जनाएको छ ।

जसपाले घोषणापत्रमा पालिकाहरूको स्थानीय विशिष्टताअनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गरिने उल्लेख गर्दै जसपाले पालिकाको केन्द्र र वडा केन्द्रहरू जोड्ने सडकहरू बनाउने, लिंक रोड बनाइनुको साथै पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरूलाई सडकसँग जोड्ने उल्लेख गरेको छ ।

यसका साथै स्थानीय जनताको समृद्धि तजा विकासका लागि सबै पालिकाहरुमा एक बसपार्क बनाइने उल्लेख गर्दै जसपाले महानगरहरूमा नगर रेल सेवा विकासको संभावनाबारे अध्ययन गरिनुको साथै शुद्ध पिउने पानीको सुविधा नपुगेका घरवस्तीमा खानेपानी सुविधा पुर्याइने तथा सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको दुई सय रुपैया खानेपानी बिल निशुल्क गरिने जसपाले प्रतिबद्धता जनाएको छ ।

आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपियाँको अनुदान दिइने जसपाले प्रतिवद्धता जनाउँदै खानेपानीका मुहान र पोखरी संरक्षण गरिने बताइएको छ । दलित, अल्पसंख्यक, शारिरीक अपांगता भएका व्यक्तिहरुको रोजगारी तथा महिला उत्थानका लागि ५ प्रतिशत अनुदानसहित सहुलियत ब्याज दरमा एक करोड रुपैया सम्म ऋण उपलब्ध गराइने घोषणा पत्रमा प्रतिबद्धता जनाइएको छ ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x