धनुषाका सबैला र नगराईन बाहेक सबै पालिकाका प्रमुख/उपप्रमुखले दिए राजीनामा
जनकपुरधाम, वैशाख ९ गते । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न धनुषाका पालिकाहरुको पनि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुले राजीनामा दिएका छन ।
जनकपुरधाम उपमहानगरपालिका सहित जिल्लाका १८ वटै स्थानीय तह मध्ये दुई वटा नगरपालिकाका प्रमुखले राजीनामा दिएको छ ।
जिल्लाको नगराईन नगरपालिका र सबैला नगरपालिकाका प्रमुखले राजीनामा दिएका छैनन् । उनीहरुले पार्टीबाट टिकट फाइनल नभएको कारण राजीनामा नदिएको बताएका छ । दुवै प्रमुख नेपाली कांग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका हुन ।
इकागजसँग कुरा गर्दै सबैला नगरपालिकाका नगर प्रमुख विजयशंकर साहले भने, 'गठबन्धनका कारण पार्टीबाट टिकट फाइनल हुन नसकेको कारण राजीनामा दिएको छैन ।' गठबन्धनको तालमेलका कारण पार्टीले निर्णय गर्न नसकेको टिकट फाइनल हुन नसक्दा राजीनामा नदिएको उनले बताए ।
त्यस्तै नगराई नगरपालिकाका मेयर परमेश्वर साहले पनि पुनः नगरप्रमुखमा निर्वाचनमा भाग लिने इच्छा हुँदाहुँदै गठबन्धनको तालमेल अहिलेसम्म हुन नसकेको कारण टिकट पाउने आश नदेखिएपछि राजीनामा नदिएको बताए ।
उनले भने, 'गठबन्धनले स्थानीयस्तरमा कुन पार्टीले टिकट दिने हो, निर्णय गरेको छैन, पार्टीले पनि कुनै निर्देशन दिएको छैन, टिकट फाइनल भए मनोयन दर्ता अवधिसम्म राजीनामा दिन तयार छु । तर पार्टीको निर्णय नआउञ्जेलसम्म राजीनामा दिनुको कुनै औचित्य छैन ।'
यता जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख सहित अधिकांश वडाध्यक्ष र सदस्यले राजीनामा दिएका छन । आगामी निर्वाचनमा भाग लिन नगरप्रमुख लालकिशोर साहले उपप्रमुख रीता मिश्र र उपप्रमुख मिश्रले प्रमुख साहलाई राजीनामा पत्र बुझाएका छन भने वडाध्यक्ष र सदस्यहरुले प्रशासन शाखामा आ-आफ्ना राजीनामा बुझाएका छन ।
त्यस्तै हंसपुर नगरपालिकाका नगरप्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाले पनि राजीनामा दिएका छन । नगरप्रमुख मण्डलले ११ गतेदेखि लागू हुने गरी प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद दाहाल समक्ष राजीनामा पत्र बुझाएका छन भने उपप्रमुख सहित वडाध्यक्ष र सदस्यहरुले नगरपमुख मण्डललाई राजीनामा पत्र बुझाएका छन ।
यस बाहेक शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया, क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगी पजियार, मिथिला नगरपालिकाका प्रमुख हरिनारायण मण्डल, गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादव, मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल यादव लगायतका अन्य गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुले पनि आ-आफ्ना राजीनामा दिएका छन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया