संकल्पपत्रमा कांग्रेसले गरेका यस्ता छन् १२ गर्ने र ७ नगर्ने प्रतिज्ञा
काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले संकल्पपत्र सार्वजनिक गरेको छ। आइतबार केन्द्रीय पार्टी कार्यालय सानेपामा पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा कांग्रेसले संकल्पपत्र सार्वजनिक गरेको हो।
पत्र सार्वजनिक गर्नुअघि कांग्रेसका महामन्त्रीसमेत रहेका नेता गगन थापाले उक्त पत्रलाई घोषणापत्र नभएर संकल्पपत्र भएको बताए। ‘यसलाई हामीले घोषणापत्र होइन, संकल्पपत्र भनेका छौँ,’ थापाले भने, ‘हामीले यसमा आफूले गर्न सक्ने कुरामात्र लेखेका छौँ।’
८४ पृष्ठ लामो उक्त पत्रमा विविध मुद्धा र तिनका समाधानका उपाय समावेश छन्। ‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको पत्रको ८३ औं पृष्ठमा कांग्रेसले ‘हाम्रो प्रतिज्ञा’ शीर्षकमा आफूले गर्ने नगर्ने प्रतिज्ञा लेखेको छ।
‘हामी के गर्छौँ’ उपशीर्षकमा उसले १२ र ‘हामी के गर्दैनौँ’ उपशीर्षकमा ७ बुँदे प्रतिज्ञा व्यक्त गरेको छ।
कांग्रेसले आफूले गर्ने भनेका प्रतिज्ञा–
१. संविधानप्रदत्त सम्पूर्ण अधिकार कार्यान्वयनका लागि बन्न बाँकी रहेका कानून सब्घ र प्रदेशले एक वर्ष भित्र निर्माण र परिमार्जन गर्ने
२. एक वर्ष भित्र सब्घीय प्रणालीलाई कार्यमूलक र प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई क्षमता अभिवृद्धि गर्ने
३. एक वर्ष भित्र स्थानीय सरकारलाई थप स्रोत–साधन सम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपूर्ति गर्ने व्यवस्था गर्ने तथा क्षमता अभिवृद्धिका लागि आवश्यक संरचना बनाउने
४. स्थानीय सरकारको माग, क्षमता र आवश्यकताकाआधारमा बजेट बिनियोजन, समानिकरण अनुदान वृद्धि, पूर्वाधार लगायत विकास आयोजनाका लागि सहुलियत ऋण, अनुदान, प्राविधिक सहयोग उपलब्ध गराउने
५. विभिन्न तहका वीचमा रहेको कार्यगत अष्पष्टता तथा नीतिगत अन्योलतालाई स्पष्ट पार्ने
६. जिल्ला समन्वय समिति लगायत जिल्लाका संरचनाहरूको क्षेत्राधिकार र भूमिकाको स्पष्ट व्याख्या गर्ने
७. स्रोतसाधनको परिचालन, नीति, योजना र कानून तर्जुमा गर्दा तीन तहबीच दोहोरो पन हटाउन समन्वय
८. संविधानको भावना र मर्म अनुसार स्थानीय सरकारलाई स्वायत्त रुपमा सञ्चालन गर्न सङ्घीय र प्रदेश सरकारले उत्प्रेरणको भूमिका निर्वाह गर्ने
९. सुशासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुशरण गरी भ्रष्टाचारमुक्त र मितव्ययी शासन प्रणाली अबलम्वन र संस्थागत गर्ने
१०. स्थानीय सरकारको कार्य सम्पादनको समीक्षा गर्ने उद्देश्यले पार्टीले हरेक बर्ष अनुभव साटासाट गर्ने
११. स्थानीय सरकारको अनुगमन र मूल्याड्ढन संयन्त्र बनाई प्रभावकारी अनुगमन गर्न हरेक आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र स्थानीय तहको अपडेट गर्ने
१२. स्थानीय सरकार र नेतृत्वको मूल्यांकन गर्दा राष्ट्रिय र स्थानीय तहले निर्धारण गरेको लक्ष्यका साथै घोषणापत्रमा उल्लेखित सूचकांकको आधारमा मूल्याङ्कन गर्ने ।
कांग्रेसले आफूले नगर्ने भनेका प्रतिज्ञा–
१. जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं,
२. सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन गर्दैनौ, गर्न दिने छैनौं,
३. कानूनको सीमा भन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्दैनौं,
४. नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं,
५. निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा वाहिर गइ अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौं, गर्न दिने छैनौं,
६. कानून, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लंघन गर्दैनौं,
७. महिला माथी हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रुपमा समेत कुनैपनि अवस्थामा संलग्न हुने छैनौं
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया