स्थानीय तह निर्वाचन
मनोनयन दर्ता गराउनेको संख्या ६० हजार नाघ्छ : आयाेग प्रवक्ता पाैडेल
देशभर ५ बजेसम्म ४७ हजार ६ सय १७ मनोनयन दर्ता
काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा मनोनयन दर्ता गराउनेको संख्या ६० हजार नाघ्ने अनुमान निर्वाचन आयोगले गरेको छ । उम्मेदवारी दर्ता गराउन आएकहरुमध्ये धेरै आकांक्षीहरु अझै पनि आफ्नो पालो पर्खँदै लाइनमा बसिरहेकाले संख्या बढ्ने आयोगले अनुमान गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयनको दर्ता गर्ने समय सोमबार ५ बजे सकिए पनि पालो पर्खँदै लाइनमा बसिरहेकाहरुलाई आयोगले सकेसम्म समेट्नुपर्ने बताए।
‘मतदानका दिन समय सकिए पनि भोट हाल्न पर्खिरहेकाहरुलाई सकेसम्म निर्वाचन आयोगले समेटे जसरी मनोनयन दर्ताको दिन मनोनयन दर्ता गराउन आउनेलाई पनि आयोगले सकेसम्म समेट्ने प्रयास गर्छ,’ प्रवक्ता पाैडेलले इकागजसँग भने, ‘त्यसैले हामीले सार्वजनिक गरेका पाँच बजेसम्मको तथ्यांकलाई अन्तिम मान्न सकिँदैन ।’
२०७४ सालको स्थानीय तहको निर्वाचनमा देशभरमा करिब डेढ लाख मनोनयन दर्ता भएको उनले स्मरण गरे । उनले यसपालिको निर्वाचनमा ६० हजार बढी मनोनयन दर्ता हुने अनुमान गरे ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि देशभरमा सोमबार साँझ ५ बजेसम्म भएका मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वसजिक गरेको छ ।आयोगले सार्वजनिक गरेको विवरण अनुसार देशका सातैवटा प्रदेशमा ४७ हजार ६ सय १७ जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
आयोगले साँझसम्मको विवरण प्रदेशगत र जिल्लागत रूपमा सार्वजनिक गरेको छ ।
जसमा सबैभन्दा बढी मधेस प्रदेशमा १२ हजार २१६ जनाले मनोनयन दर्ता भएको छ । जसमा मेयरमा ५४८, उपमेयरमा २९२, अध्यक्षमा ३५४ र उपाध्यक्षमा २०९ जनाले उम्मेदवारी दिएका छन् ।
सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा तीन हजार १२० जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि मनोनयन दर्ता खुलाएको थियो । दुईका खुलाइएका मनोनयन दर्ताको समयसीमा सोमबार साँझ पाँच बजे सकिएको छ ।
याे पनि
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया