राजनीति

जनकपुरधामको मेयरका लागि २१ र उपमेयरमा १० जनाको उम्मेदवारी दर्ता

सुभाष कर्ण |
बैशाख १२, २०७९ सोमबार २०:३ बजे

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि दुई दिने मनोयन दर्ताको क्रममा मेयरमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी दिएका छन । 

राजनीतिक दलको तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ भने १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने ४ जना स्वतन्त्र उम्मेदवार छन् । 


मनोयन दर्ताको पहिलो मेयर पदमा स्वतन्त्र सहित ८ जना र उपमेयरमा तीन जनाले उम्मेदवारी दिएका थिए भने दोश्रो दिन सोमवार मेयर पदमा स्वतन्त्र र राजनीतिक दल सहित १३ जना तथा उपमेयरमा ७ जनाले उम्मेदवारी दिएका छन । 

मनोयन दर्ताको दोश्रो दिन सोमवार राजनीतिक दलबाट सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह, नेकपा एमालेबाट शिवशंकर साह हिरा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मनोज चौधरी, तराई मधेश लोकतान्त्रिक पार्टीबाट विभा ठाकुर र नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्रले उम्मेदवारी दिएका छन । 

त्यस्तै स्वतन्त्रतर्फ कांग्रेसका बागी उम्मेदवार मनोज साह, एमालेका बागी उम्मेदवार जानकीराम साह, बलराम महतो, वैद्यनाथ साह लगायतकाले उम्मेदवारी दिएका छन । 

उपमेयरतर्फ राजनीतिक दलतर्फ एमालेबाट रुना झा, कांग्रेसबाट किशोरी साह, लोकतान्त्रिक समाजवादी पार्टीबाट निवर्तमान उपमेयर रीता मिश्र, तमलोपाबाट ईश्वर पण्डित, नेपाल जनता पार्टीबाट वन्दना पाण्डे र स्वतन्त्रबाट सरोज मिश्र, कांग्रेसका बागी उम्मेदवार निर्मल चौधरी लगायतकाले उम्मेदवारी दिएका छन । 

त्यस्तै पहिलो दिन राजनीतिक पार्टीतर्फ मेयरमा जनमत पार्टीबाट अनिता देवी साह, नेकपा मालेबाट गीताकुमारी मण्डलले उम्मेदवारी दिएकी थिइन भने स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोले उम्मेदवारी दिएका थिए ।  उपमेयरमा एमालेका बागी उमेश चौधरी, कुमारी बनिता यादव र जनमत पार्टीबाट सन्तोष साहले उम्मेदवारी दिएका थिए । 

निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । समाचार लेख्दासम्म पुर्ण विवरण आउन नसकेको कारण यकिन विवरण भन्न नसक्ने निर्वाचत अधिकृत ब्रजेश प्याकुरेलले बताए। 

धनुषा जिल्लामा राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलहरू दर्ता गराएका थिए । 

यो पटक धनुषामा मतदानस्थल घटेका छन् भने मतदान केन्द्र बढेका छन् । यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३२७ मतदानस्थल र ५४८ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल घटेर ३२३ पुगेको छ भने मतदान केन्द्र बढेर ५९६ पुगेको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिए । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३२८ जना मतदाता रहेका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x