राजनीति

पोखरा महानगर : पहिले सहकर्मी, अहिले प्रतिस्पर्धी

थापा र आचार्यमा कसले मार्ला बाजी ?

कमल विष्ट |
बैशाख १५, २०७९ बिहीबार १६:३६ बजे

काठमाडौं– २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयरमा एमालेबाट उठेका आफ्ना सहकर्मी कृष्णबहादुर थापालाई निर्वाचित गराउन धनराज आचार्यको ठूलो भूमिका रह्यो । 

उक्त निर्वाचनमा सहकर्मी थापालाई मेयरमा जिताउन सहयोग गरेका आचार्य यसपालिको चुनावमा भने थापालाई सकेसम्म धेरै मतान्तरले हराउने दाउमा छन् । 
आसन्न स्थानीय तहको निर्वाचनमा पोखरा महानगरको मेयरका लागि थापा र आचार्यबीच प्रतिष्पर्धा हुनेछ । आचार्य नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट पोखरा महानगरको मेयरको उम्मेदवार बनेका छन् भने थापा एमाले पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् । 


पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गत भदौमा नेकपा एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी निर्माण नगर्दासम्म सहकर्मी रहेका यी दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । 

कसलाई कति गाह्रो ?

पाँच दलीय गठबन्धनमा पोखरा महानगरको मेयरको टिकट पाउन जति गाह्रो भयो, जित्न त्योभन्दा गाह्रो देखिन्छ । यसका प्रमुख दुई कारण छन् । पहिलो गत निर्वाचनमा एमालेले एक्लै ल्याएको मत अहिलेको पाँच दलीय गठबन्धनभन्दा बढी हुनु र दोस्रो गठबन्धनले गरेको निर्णयप्रति नेपाली कांग्रेस पोखरा रुष्ट हुनु । 

गत निर्वाचनमा एमालेले ल्याएको मतपरिणाम हेरौं । २०७४ सालको निर्वाचनमा पोखरा महानगरको मेयरमा अहिले सत्तारुढ गठबन्धनमा सम्मिलित नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चा चारै दलले प्राप्त गरेको मतलाई जोड्दा पनि एमाले अझै बलियो देखिन्छ ।

गएको निर्वाचनमा तत्कालीन एमालेबाट मेयरमा निर्वाचित मानबहादुर जीसीले ६० हजार एक सय १८ मत प्राप्त गरेका थिए भने दोस्रो धेरै मत ल्याउने नेपाली कांग्रेसका रामजी कुँवरले ४३ हजार ४ सय १६ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सहयोग गरेको थियो । 

त्यस्तै, तेस्रो हुने तत्कालीन संघीय समाजवादी फोरमले ३ हजार १ सय ७० मत ल्याएको थियो भने राष्ट्रिय जनमोर्चाले २ सय ६ मत ल्याएको थियो । 

त्यतिबेला नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर ल्याएको मत, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले ल्याएको मत जोडेर एमालेले एक्लै ल्याएको मतसँग तुलना गर्दा पनि एमाले अझै १० हजार ३ सय २६ मतले अगाडि देखिन्छ । 

पोखरामा गठबन्धनबाट मेयर पाएको एसलाई आसन्न निर्वाचनमा गाह्रो हुन सक्ने दोस्रो कारण यस्तो हुन सक्छः गठबन्धनले पोखराको मेयर एसलाई दिने भएपछि नेपाली कांग्रेस कास्की रुष्ट मात्र छैन, विरोधस्वरुप कांग्रेस नेता विमलकुमार कार्की बागी उम्मेदवार नै बनेका छन् । गत बुधबार गठबन्धनको निर्णयमा असहमति जनाउँदै पोखरा महानगर समितिका पदाधिकारीले कांग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेका थिए । 

काठमाडौंबाट कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको निर्णयविपरीत नजान र बागी उम्मेदवार फिर्ता लिन चेतावनी दिए पनि स्थानीय तहमा कांग्रेसले एसका आचार्यलाई सहयोग नगर्ने सम्भावना उत्तिकै छ । आचार्यले कांग्रेसको समर्थन नपाएको खण्डमा उनलाई चुनाव जित्न मुश्किल हुने देखिन्छ ।

गत निर्वाचनको आँकडाअनुसार एमाले सत्ता गठबन्धनमाथि एक्लै हाबी देखिए पनि यसपालि उसलाई जुनाव जित्न सहज देखिँदैन । यसको सबैभन्दा महत्वपूर्ण कारण हो– एमाले एक ढिक्का नहुनु । अहिले एमालेको एक हिस्सा छुट्टिएर एस बनेकाले उसलाई यो निर्वाचनमा गाह्रो हुने देखिन्छ । 

त्यसो त नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गरेको छ । यी दुई दलको समर्थन एमालेले पाउँदा उसलाई धेरथोर सहयोग पक्कै हुनेछ । तर, दुईटाको मत उसका लागि निर्णायक मत भने हुने छैन । 

के भन्छन् आचार्य र थापा?

सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रुपमा चयन भएका एसका धनराज आचार्यले आफू कम्तीमा पनि १५ देखि १८ हजार मतान्तरले जित्ने दाबी गरे । उनले महानगरका ३३ वटै वडामा एसको संगठन बलियो भएकाले र गठबन्धनमा सम्मिलित अन्य दलको पनि संगठन राम्रो भएकाले आफू जित्नेमा ढुक्क भएको बताए । आयार्चले आफूलाई नेपाली कांग्रेसको समर्थन नरहेको भन्ने कुरा सरासर झूटो भएको जिकीर गरे । 

‘हामीले मेयरको टिकट पाउँदा कांग्रेसका सबै नेता तथा कार्यकर्ताले उत्साहका साथ समर्थन गरेका छन्,’ आचार्यले इकागजसँग भने, ‘बागी उठेका उम्मेदवारले पनि भोलिसम्ममा आफ्नो उम्मेदवारी फिर्ता लिनेछन् ।’

आचार्यले कास्कीमा तटस्थ मतदाताको संख्या ठूलो रहेको बताए । उक्त समूहसँग आफूले पार्टीभन्दा माथि उठेर काम गरेकाले त्यो सबै मत आफूले पाउने विश्वास लिएका छन् । 

आचार्यले एसको संगठन ठूलो भएको भन्दै दाबी गरको कुरा पूर्ण रुपमा झुटो भएको दाबी एमालेको तर्फबाट मेयर उम्मेदवार कृष्णबहादुर थापाले गरेका छन् । उनले गत निर्वाचनबाट निर्वाचित १ सय ७९ जनप्रतिनिधि सबै एमालेमै भएका बताए । थापाले कास्कीमा एसको संगठन कमजोर मात्र नभएर हुँदै नभएको दाबी गरे । 
‘नागरिकले पार्टीको संगठन, काम तथा जवाफदेहिता हेरेर मात्र भोट हाल्छन्, यसै हाल्छन् । एमाले सबै हिसाबमा बलियो र जिम्मेवार छ,’ थापाले भने, ‘सबै नागरिकले बुझिसकेका छन् यो गठबन्धन लोकतन्त्रको विरुद्धमा छ, यो परमादेशबाट आएको गठबन्धन हो भनेर ।’

एमाले परमादेशबाट आएको सरकारलाई विस्थापित गरेर जनादेशलाई स्थापित गर्न खोजिरहेकाले सबै नागरिकले आफूलाई भोट हाल्ने बताए । उनले आफूले एसका उम्मेदवार आचार्यलाई उल्टै १५ देखि २० प्रतिशत मतान्तरले हाराउने बताए । 

आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगरको उपमेयरमा सत्ता गठबन्धनबाट कांग्रेसकी कोपिला रानाभाट र एमालेबाट मञ्जुदेवी गरुङले उम्मेदवारी दिएका छन् । गुरुङ यसअघिको निर्वाचनमा पोखरा महानगरको उपमेयरमा निर्वाचित भइसकेकी छन् । 

मेयरमा ११ र उपमेयरमा ४ जनाको उम्मेदवारी दर्ता

वैशाख ३० गते हुने निर्वाचनका लागि पोखरा महानगरको मेयरमा समग्रमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ६ स्वतन्त्र र ५ दलका उम्मेदवार हुन् । 

अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उम्मेदवार तथा लेखक गणेश पौडेलले पनि मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन् । पौडेलले निर्वाचनमा राम्रो मत ल्याउने चर्चा छ । पौडेललाई निकै महत्वका साथ हेरिएको छ । 

उपप्रमुखमा भने तीन दल र एक स्वतन्त्रसहित ४ जनाले मनोनय दर्ता गराएका छन् । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x