एमालेले जोगाउन सक्ला दाङका दुवै उपमहानगरमा बनाएको साख ?
घोराही र तुलसीपुर उपमहानगरपालिकासहित १० मध्ये ६ स्थानीय तह एमालेले जितेको थियो
काठमाडौं– स्थानीय तहको निर्वाचन आउन १४ दिन मात्रै बाँकी रहँदा मुलुकका अन्य जिल्लामा जस्तै दाङमा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विभिन्न दलका र स्वतन्त्र उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् ।
क्षेत्रफलका हिसाबले देशका ११ उपमहानगरपालिकामध्ये सबैभन्दा ठूलो र दोस्रो ठूलो घोराही र तुलसीपुर उपमहानगरसहित १० मध्ये ६ स्थानीय तह एमालेले जितेको थियो ।
उक्त निर्वाचनमा एमालेका नरुलाल चौधरी २२ हजार ३० ल्याएर घोराही उपमहानगरको मेयर बनेका थिए भने सीता सिग्देल न्यौपाने २० हजार ९ सय ९२ मत ल्याएर उपमेयर बनेकी थिइन् ।
त्यस्तै, एमालेका घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गरेर तुलसीपुरको मेयरमा निर्वाचित भएका थिए भने माया शर्मा २१ हजार ३७ मत प्राप्त गरेर उपमेयरमा निर्वाचित भएकी थिइन् ।
घोराही उपमहानगरको निर्वाचनमा प्रथम भएर चौधरी र सिग्देल मेयर र उपमेयर जित्दै गर्दा नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेका थिए । तुलसीपुरको उपमहानगरको निर्वाचनको हकमा पनि यही भयो । अर्थात, सबैभन्दा धेरै भोट ल्याएर पाण्डे र शर्मा विजय हुँदै गर्दा नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको थियो ।
तर, आसन्न स्थानीय निकायको चुनावमा भने एमालेलाई यी दुवै उपमहानगर आफ्नो पोल्टामा पार्न सहज देखिँदैन । कारण, यसपालि सत्ता गठबन्धनमा आबद्ध पाँच दलहरु एक भएर चुनाव लड्दैछन् । कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले चुनाव लड्न ‘मजबुद’ रणनीति बनाएर अघि बढेको छ ।
घोराही र तुलसीपुर दुवै उपमहानगरको मेयर र उपमेयरमा नेपाली कांग्रेस र माओवादी केन्द्रको भोटलाई मात्र जोड्दा पनि एमालेलाई पराजित गर्न काफी देखिन्छ ।
घोराही उपमहानगरको मेयरका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको भोट जोड्दा २९ हजार ५ सय ६६ हुन्छ । जुन एमालेले ल्याएको भन्दा ७ हजार ५ सय २६ ले बढी हुन्छ । त्यस्तै, तुलसीपुर उपमहानगरको मेयरका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको भोट जोड्दा २७ हजार ५ सय ९६ हुन्छ । जुन एमालेकोभन्दा ४ हजार ७ सय ३९ ले बढी हुन्छ ।
दुवै उपमहानगरका दुवै उपप्रमुखको तुलनाान पनि गठबन्धन अगाडि देखिन्छ । त्यसमाथि एमाले फुटिसकेपछि ऊ पहिलेको जस्तो बलियो छैन । त्यसो त एमालेले पनि कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग गठबन्धन गरेको छ । तर, गठबन्धन गरिएका यी दलको मतले एमालेलाई जित्न पर्याप्त देखिँदैन । तर, एमाले दाङका इन्चार्ज तथा घोराही उपमहानगरका बहालवाला मेयर नरुलाल चौधरी अहिलेको अवस्था पूर्ण रुपमा फरक भइसकेको दाबी गर्छन् । चौधरीले वैशाख ३० को निर्वाचनमा पनि एमालेबाट घोराही उपमहानगरको मेयरको टिकट पाएका छन् ।
चौधरीले यसपालि पनि दुवै उपमहानगरमा बहुमतसहित दाङका १० मध्ये ६ स्थानीय तह नेकपा एमालेले नै जित्ने दाबी गरे । ‘अहिलेको गठबन्धनको कुनै अर्थ छैन । नागरिकहरुले यो गठबन्धनको नियत के हो भन्ने राम्रोसँग बुझिसकेका छन्,’ उनले भने, ‘त्यो बेलाका धेरै कांग्रेसी र माओवादीले अहिले एमाले प्रवेश गरिसकेका छन् । हामी जित्नेमा कुनै सन्देह छैन ।’
यता गठबन्धनको ठूला दल कांग्रेसका दाङ जिल्ला सभापति शंकर डाँगीले एमालेलाई परास्त गर्न कांग्रेस एक्लै काफी भएको जिकिर गरे । आसन्न निर्वाचनमा गठबन्धनले एमालेलाई कम्तीमा ८ हजार मतान्तरले पराजित गर्ने डाँगीको दाबी छ ।
‘एमालेलाई जित्न कांग्रेस एक्लै काफी छ । दाङका सबै तहमा हाम्रो संगठन बलियो छ,’ दाङ कांग्रेस जिल्ला सभापति डाँगीले इकाजसँग भने, ‘यसपालि हामी संगठित रुपमा भएकाले चुनाव जित्न हामीलाई कुनै समस्या छैन ।’
एमालेले घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी र तुलसीपुर उपमहानगरको मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई उम्मेदवार बताएको छ ।
त्यस्तै, गठबन्धनको तर्फबाट घोराही उपमहानगरको मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा र उपमेयरमा नेपाली कांग्रेसका भुपबहादुर डाँगी र तुलसीपुर उपमहानगरमा मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा जोगबहादुर राना चुनाव लड्ने छन् । डाँगी गएको निर्वाचनमा पनि कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका थिए ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि घोराहीको प्रमुख पदमा १५ र उपमेयरको लागि ८ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, तुलसीपुरको प्रमुख पदमा १२ जना र उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया