राजनीति

कांग्रेस २१ केन्द्रीय सदस्यलाई कोभिड-१९, ११ जनाले जितिसके

इकागज |
कात्तिक २२, २०७७ शनिबार १६:२३ बजे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासहित २१ केन्द्रीय सदस्यलाई कोभिड–१९ को संक्रमणमा परे । तीमध्ये ११ जना संक्रमण मुक्त भइसकेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले १० केन्द्रीय सदस्यमा कोभिड–१९ को संक्रमण रहेको र ११ जना संक्रमण मुक्त भइसकेको जानकारी दिए । 

सोमबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक अगाडी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्यहरू र उनीहरूका सहयोगीहरूको पीसीआर परीक्षण गरेको थियो । २० कात्तिकमा गरिएको परीक्षणको रिपोर्ट आउँदा दीलेन्द्रप्रसाद बडू, श्याम घिमिरे, मो नसिर सिद्दिकी, किरण यादव, सुरेन्द्र पाण्डे, सुजाता परियार र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई गरी ७ जनालाई संक्रमण देखिएको सचिव केसीले बताए । 


त्यो भन्दा अगाडी गराएको परीक्षणमा केन्द्रीय सदस्यहरू फरमुल्लाह मन्सुर, शिवप्रसाद हुमागाई र मीन विश्‍वकर्मामा संक्रमण देखिएको हो । कात्तिक १ गते संक्रमण देखिएका विश्वकर्मालाई निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि ग्राण्डी इन्टरनेशनल अस्पतालमा भेन्टीलेटरमा उपचार गराइरहेका छन् । 

कांग्रेसले गत असोज १९ मा केन्द्रीय कार्यासमिति बैठक बोलाउदा बैठकमा सहभागी हुने नेताहरु र उनीहरूका सहयोगीको केन्द्रीय कार्यालयमा असोज १५ गते पीसीआर परीक्षण गरेको थियो । त्यो बेला पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य गगन थापा, गीता चौधरी, कल्पना चौधरी, जंगीलाल राय र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठमा संक्रमण देखिएको थियो । उनीहरू सबै संक्रमण मुक्त भएका छन् । केन्द्रीय सदस्य र उनीहरुका सहयोगी दुई दर्जन बढिमा संक्रमण देखिएपछि १९ गतेको बैठक २४ असोजसम्म सारिएको थियो । 

त्यही बेला बाहिर परीक्षण गराएका महामन्त्री डा. कोइराला, केन्द्रीय सदस्यहरु महालक्ष्मी उपाध्याय ‘डिना’, जीवनबहादुर शाही, रमेश रिजाल, अजयकुमार चौरसियामा पनि कोभिडको संक्रमण देखिएको थियो । उनीहरूपनि संक्रमण मुक्त भइसकेका छन् । 

असोज २४ गते बोलाइएको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरियो । फेरी सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि बोलाएका थिए । पदाधिकारी र शीर्ष नेताहरूबीच पार्टीको १४ औं महाधिवेशनको मिति कति समय सार्ने भन्ने विषयमा मतैक्यता नभएपछि पुनः सोमबारसम्मका लागि सारिएको छ । केही नेताहरूलाई कोभिड संक्रमण देखिएपनि यो पटक भने बैठकको मिति नसर्ने केन्द्रीय कार्यालयका सचिव केसीले जानकारी दिए ।
 


Author

थप समाचार
x