राजनीति

ओलीलाई सत्तामा बस्‍ने नैतिकता छैन : सिंह

इकागज |
चैत १२, २०७७ बिहीबार १७:३९ बजे

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बस्‍ने नैतिकता नभएको बताएका छन् । बिहिबार बिराटनगरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा नेता सिंहले ओलीले असंवैधानिक कदम उठाएर नैतिकता गुमाइसकेको बताए । 

उनले नेपाली जनताको लामो समयको संघर्षबाट प्राप्त भएका उपलब्धिमाथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेको भन्दै  प्राप्त उपलब्धीहरु गुम्‍ने खतरा बढेको बताए । देश विकासको एजेण्डा देखाएर कम्युनिष्टहरूले बहुमत प्राप्त गरे पनि जनअपेक्षा अनुसार सरकारले काम नगरेको उनको भनाइ छ ।


‘कम्युनिष्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन् तर कम्युनिष्ट पार्टी जनताका काम गर्न भन्दा पनि प्रधानमन्त्रीलाई मजबुत बनाउन तर्फ लाग्यो’ सिंहले भने । आन्तरिक भागभण्डा नमिलेपछि कम्युनिष्टहरूले देशलाई दुर्घटनातर्फ धकेल्न प्रयास गरेको नेता सिंहको आरोप छ ।  

कांग्रेस अहिले पनि परिस्थितिलाई समालेर अगाडि बढ्न तयार रहेको सिंहले बताए । नैतिकता नभएको सरकारलाई माओवादीले समर्थन दिइराख्‍ने जनता समाजवादी पार्टीले प्रस्ट निर्णय नलिने अनि सरकारको विकल्प दिन कांग्रेसले ध्यान दिएन भन्‍नु कत्तिको जायज छ भन्‍ने प्रश्न सिंहले गरे ।  

सिंह तत्कालिन मोरङ सभापति अशोक कोइरालाप्रति समवेदना  दिन बिहीबार विराटनगर पुगेका हुन् । 


Author

थप समाचार
x