राजनीति

तमलोपाको घोषणा पत्र : दलीय अन्धभक्ति निरुत्साहितदेखि युवा शक्तिको विकास

सुभाष कर्ण |
बैशाख १८, २०७९ आइतबार २१:३४ बजे

जनकपुरधाम – तराई मधेश लोकतान्त्रिक पार्टीले आसन्न स्थानीय तह निर्वाचनको लागि आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

जनकपुरधाम स्थित पार्टीको केन्द्रियमा आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी सो घोषणा पत्र सार्वजनिक गरिएको छ । स्थानीय तह निर्वाचनको दृष्टिगत गर्दै सार्वजनिक गरिएको सो घोषणा पत्रमा तमलोपाले सुशासन, आधारभूत सेवा एवं सुविधा, शिक्षा, स्वास्थ्य, कृषि उद्योग एवं वाणिज्य, पर्यावरण र युवा शक्तिलाई प्राथमिकता दिइएको छ ।


तमलोपाको सो घोषणा पत्रमा सुशासन कायम गर्न जनताद्वारा गरिएका गुनासोको अभिलेखिकरण र २१ दिनभित्र लिखित जवाफ सहित निराकरण, स्थानीय तहमा व्याप्त रहेका दलीय अन्धभक्ति निरुत्साहित गरी निष्पक्ष कार्य सम्पादन, कर्मचारीहरुको वृद्धि विकास, कर्तव्यपरायणतालाई पुरस्कार तथा अनियमितताको तादरुकताका साथ नियन्त्रण लगायतका कुरामा जोड दिइने उल्लेख छ ।

स्थानीय जनताको आधारभूत सेवा एवं सुविधा उपलब्ध गराउन घरवारविहिन गरिब, दलित आदिलाई आधारभूत आवास व्यवस्थापन, ग्रामीण बजार, बैंक, एटीएम, सहकारीको व्यवस्था, स्ट्रीट लाईटको व्यवस्था, शुद्ध पेयजलको व्यवस्था, पालिका बसोवास भित्र बाह्रै महिने सडक सञ्जाल विस्तार गरिने घोषणा पत्रमा भनिएको छ ।

युवा शक्तिको विकासका लागि प्रत्येक वडामा खेल मैदान, ई पुस्तकालय, इनडोर खेल सुविधा, योग ध्यान केन्द्र, रोजगारमूलक सीप प्रशिक्षणको व्यवस्था, विदेशिने प्रवृतिलाई निरुत्साहित गर्दै लुघ उद्यम, स्वरोजगार र सामाजिक स्वयंसेवकको प्रवद्र्धन र आयमूलक वृतिलाई अनुदान, ऋण आदिको व्यवस्था र पालिका स्तरीय सीपमूलक तालिम केन्द्रको स्थापना, बेरोजगार युवहरुलाई न्यूनमत श्रम रोजगारी र आज आर्जन लगायतका व्यवस्था गरिने घोषणा पत्रमा उल्लेख छ ।  

घोषणा पत्र सार्वजनिक गर्दै तमलोपाका केन्द्रिय अध्यक्ष वृषेशचन्द्र लालले भने हाम्रो पार्टीको गठन सत्ताको लागि नभई मधेश आन्दोलनको मुद्दालाई स्थापित गर्नका लागि भएको हो । उनले भने मधेश आन्दोलन सहितका विभिन्न अधिकारको आन्दोलनले देशमा संघीयता आएपनि कार्यप्रणालीमा मात्र परिवर्तन आएको तर व्यवस्था उही पंचायतीशैलीको कायम रहेको छ त्यसलाई तोड्न तमलोपा स्थानीय तहको निर्वाचनमा अघि बढेको हो ।

'स्थानीय स्तरमा बढदै गएको आर्थिक अनियमितता, भ्रष्टाचार र योजना खरीद बिक्रीको बढदै गएको विकृतिलाई निरुत्साहित गर्न स्थानीय तहमा तमलोपाले निर्वाचनमा भाग लिदैं विभिन्न स्थानमा उम्मेदवारी दिएको हाे', कार्यक्रममा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले भने ।

पत्रकार सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार विभा ठाकुरले भनिन्, 'मधेश आन्दोलनको अधिकार स्थापित संगै जनकपुरधामको पर्यटकीय रुपमा विकास तथा प्रवद्र्धन, भाषा संस्कृतिको संरक्षण, नगरको सरसफाई तथा डम्पिङ्ग साइटको व्यवस्था, शिक्षा, स्वास्थ्य, हरेक निकायमा महिलाको पहुँच, युवा शक्तिको विकास एवं विदेशिने युवाहरुलाई स्थानीयस्तरमै रोजगार तथा सहुलियत ऋणको व्यवस्था लगायतका उद्देश्य सहित आफूले मेयर पदमा उम्मेदवारी दिएकी हुँ।'
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x