राजनीति

पटक पटक स्थगित सिन्धुलीको चुनाव एन्फामै हुने

इकागज |
बैशाख १९, २०७९ सोमबार १५:१३ बजे

काठमाडौं – पटक पटक विवादका कारण स्थगित जिल्ला फुटबल संघ सिन्धुलीको चुनाव अखिल नेपाल फुटबल संघ ( एन्फा)ले सातदोबाटो स्थित आफ्नै परिसरमा गर्न निर्देशन दिएको छ । स्थानीय विवादका कारण तोकिएको समयमा हुन नसकेपछि २२ वैशाखमा हुने भएको हो । 

यसअघि एन्फाले १० गतेसम्म सम्पूर्ण जिल्ला निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, उक्त समय सीमामा चुनाव हुन नसकेपछि चुनाव १८ गतेका लागि सरेको थियो । 


तर, त्यो समयमा समेत नभएपछि एन्फाले पुनः मिति तोकेको हो । एन्फा महासविच इन्द्रमान तुलाधरले पत्र काट्दै २२ गते बिहान १० बजे चुनाब गर्न निर्देशन दिएका हुन् ।

यस्तै, निर्वाचनमा सहभागी हुन आउने–जाने क्रममा लाग्ने सम्पूर्ण खर्च सहभागी स्वयंमले व्यहोर्नु पर्नेसमेत बताइएको छ ।

यसअघि एन्फाको ४८ सदस्य जिल्लामध्ये ४५ मा चुनाब भएको छ भने विवादकै कारण तीन जिल्लाको हुन सकेको छैन । एन्फा चुनावमा ४५ जिल्लाले मताधिकार पाउनेछन् । एन्फाको आगामी  चुनाव ६ असारमा हुँदै छ ।


Author

थप समाचार
x