चाैताराका स्वतन्त्र मेयरका उम्मेदवारले गरे प्रमुख पाँच दलविरुद्ध कारबाहीको माग
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले प्रमुख पाँच दलविरुद्ध उजुरी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार कुमार श्रेष्ठले प्रमुख पाँच दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
उनले कानुनबमोजिम कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीविरुद्ध उनले कार्यालयमा उजुरी दिएका हुन् । यी पाँच दलले
सार्वजनिकस्थलमा ठूला ठूला तुल, ब्यानर र झण्डा राख्दै आचारसंहिता उल्लघंन गरेको आरोप लगाएका छन् ।
यो नगरमा कुमार एक्ला स्वतन्त्र उम्मेदवार हुन् । उनले खानेपानीको धारा चुनाव चिन्ह पाएका छन् ।
आचारसंहिता उल्लंघन गरेको उजुरी यहाँ पहिलो उजुरी हो । मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले उजुरी परेको पुष्टि गरे । स्वतन्त्र उम्मेदवार कुमारले दर्ता गरेको उजुरीको दर्ता नं. ८ रहेको छ । यसअघि कार्यालयमा उम्मेदवारको दाबी विरोध सम्बन्धी उजुरी परेको थियो ।
‘आचारसंहिता उल्लघंन गरेवापत दलले कानुन बमोजिम कारबाही भोग्नुपर्छ’ उम्मेदवार श्रेष्ठले भनेका छन्, ‘प्रचार सामग्री हटाएर मात्रै हुँदैन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया