राजनीति

नवौं राष्ट्रिय खेलकुदकाे तयारीमा जुट्यो प्रदेश सरकार

इकागज |
बैशाख २०, २०७९ मंगलबार २०:३७ बजे

पोखरा – गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् । 

प्रतियोगिता सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री पोखरेलले प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि मंगलबार उच्चस्तरीय बैठक बोलाए । प्रतियोगितालाई व्यवस्थापन गर्न अनि दोस्रो प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुने खेलाडीको छनोटबारे छलफल गर्न उनले बैठक डाकेका हुन् । 


मुख्यमन्त्री पोखरेलले संघ सरकारको कार्यक्रम भए पनि पोखरामा हुन लागेको यस प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवाला जिम्मेवार भएर लाग्न निर्देशन दिए । प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि प्रदेशका तर्फबाट खेलाडी छनोटका लागि भने प्रदेशले नै बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसका लागि आवश्यक बजेटको प्रवन्ध गर्न सरकार तयार रहेको प्रतिबद्धता उनले जनाए । 

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिता सञ्चालनका लागि हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराए । उनले प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापन लगायत कामका लागि ५ करोड २० लाख रुपैयाँ आवश्यक पर्ने बताए । उनका अनुसार प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् ।

गण्डकीमा खेल गतिविधि अत्यधिक हुने भए पनि राष्ट्रियस्तरका प्रतियोगितामा गण्डकीको नतिजा भने अत्यन्तै कमजोर हुने गरेको छ । नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गण्डकी छैटौं नम्बरमा थियो । उक्त प्रतियोगितामा ७ वटा प्रदेशका अतिरिक्त ३ वटा विभागीय टोली सहभागी थिए । अहिले भने एनआरएनको टोली समेत थपिएर ११ वटा टोलीबीच प्रतियोगिता हुने भएको छ । प्रदेशका सबै जिल्लामा कम्तीमा पनि एक खेलको प्रतियोगिता हुने गरी व्यवस्थापन मिलाउन लागिएको छ । 

गण्डकी प्रदेशमा ३९ वर्ष पछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ हजार खेलाडी, २ हजार व्यवस्थापक र १ हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष संलग्न हुनेछन् । यसले खेल गतिविधि मात्र नभए पोखराको पर्यटनमा समेत राम्रैसँग प्रर्वद्धन हुनेछ । 

बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयराज आचार्य, प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी दिवेश लोहनी, सशस्त्र प्रहरी बलका बाहिनीपति बाबुराम पाण्डे, नेपाली सेनाका प्रतिनिधि, खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद्का अधिकारीहरु सहभागी थिए ।
 


Author

थप समाचार
x