राजनीति

गठबन्धनलाई भोट हाल्नुभएन भने देश दुर्घटनामा जान्छ : अध्यक्ष प्रचण्ड

इकागज |
बैशाख २२, २०७९ बिहीबार १६:३० बजे

काठमाडौं–  चितवनको सभामा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले चितवन बासीले गठबन्धनलाई भोट नहाले देश दुर्घटनामा जाने बताएका छन् । उनले गठबन्धन अहिलेको राष्ट्रको आवश्यकता भएको बताएका छन् । चितवनमा असन्तुष्ट कांग्रेसका कार्यकर्तालाई इंगित गर्दै उनले अहिलेको आवश्यकता बुझ्न आग्रह गरे  । 


‘अलि बढि शुद्धता मा हिड्न रुचाउने, साथीहरूलाई म भन्न चाहान्छु,’ उनले भने, ‘चितवनवासी सबै तपाईहरूले आन्दोलनका अग्रणी भूमिका हुनुहुन्छ । केही साथीहरूले गठबन्धनको विरोध गरेको पनि सुने  । तर उहाँहरुको विचारलाई अपमान गर्न चाहन्छ । ४६ सालको आन्दोलनबाट रुख र हँसिया हथौडाको सम्झौताहरु हुँदै आएको थियो । गिरिजाले मृत्यु शय्यामा पुग्दा पनि उठाएको सहमति र समझदारी के गलत थियो ?’



उनले अघिल्लो निर्वाचनमा एमालेसँग गरेको गठबन्धनबाट आफूले पाठ सिकेकाले त्यसमा शंका नगर्न पनि अनुरोध गरे । ‘अघिल्लो निर्वाचनमा शेरबहादुर देउवालाई भनेर भोट हाल्न चितवनको जनताले गाह्रो मानेर बामपन्थीसँग मिलेर हुन्छ कि भनेर गएको थिएँ,’ उनले भने, ‘तर अब म दायाँबायाँ गर्दिन । मैले त्यसबाट पाठ सिकेको छु । ममाथि शंका नगर्नुहोस् ।’

उनले कांग्रेसका विद्रोही कार्यकर्तालाई लक्षित गर्दै भने, ‘टेकबहादुरहरुलाई म भन्छु गठबन्धन राष्ट्रको आवश्यकता हो, लोकतन्त्रको आवश्यकता हो भन्ने नबुझेर सकिदैन हँसिया हथौडामा भोट हाल्न भन्नुभयो भने देश दुर्घटनामा जानसक्छ । होइन तर यो जनताको आवश्यकता हो । भनेर रेणु दाहालको टिमलाई जिताउनुभयो भने म निकै उत्साही हुनेछु । यो गठबन्धनलाई १० /२० वर्ष लैजाने छु ।’


प्रचण्डले रेणु दाहालले आफ्नो कार्यकालमा राम्रो काम गरेको बताए । उनले प्रचण्डको छोरी भएकैले काम गरेको हाेइन भन्दै उनी आफ्नै बलले गरेको उनको भनाइ छ  । उनले रेणुलाई फेरि एकपटक जिताउन पनि आग्रह गरे ।

भरतपुरको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा,  माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सहभागी छन् ।


Author

थप समाचार
x