राजनीति

गठबन्धनको घोषणा : बनेपामा २०० शैय्याको अस्पताल, एम्बुलेन्स र शववाहन सेवा निःशुल्क

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १३:४३ बजे

काभ्रे– नेपाली कांग्रेससहितका गठबन्धनसम्बद्ध दलले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धतापत्रमा बनेपामा २०० शैय्याको अस्पताल निर्माणदेखि शववाहन र एम्बुलेन्स निशुल्क सेवा दिने घोषणा गरिएको छ ।
गठबन्धनले बनेपामा खानेपानीको समस्या, फोहोरमैलाको व्यवस्थापन, गर्नेसमेत जनाएको छ । ।

गठबन्धनले तत्काल १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याउने भन्दै २०० शय्याका लागि पहल गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो । युवा उद्यम सिर्जना गर्नका लागि सहुलियतपूर्ण वित्तीय कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको गठबन्धनले लगानीको २५ प्रतिशत युवालाई बेहोर्न लगाएर २५ प्रतिशत अनुदान दिने र ५० प्रतिशत ऋण उपलब्ध गराउने नगरप्रमुखका उम्मेदवार शान्तिरत्न शाक्यले जानकारी दिए।


बनेपा–नाला–भक्तपुर सडकलाई वैकल्पिक राजमार्ग बनाउने योजना अघि सारेको गठबन्धनले सडक विस्तार गर्दा अपांगमैत्री फुटपाथ, खानेपानी र ढल निकास एकैपटक व्यवस्थित गर्ने जनाएको छ । विपन्न परिवारलाई निःशुल्क धारा, विद्यालयमा मासिक रुपमा निःशुल्क परीक्षणसहित विद्यालय नर्सको व्यवस्था, विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा, सबै वडामा योग केन्द्र निर्माण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

घरघरमै वृद्धभत्ता, फुस र खरको छाना हुने परिवारलाई निःशुल्क जस्तापाता, मानिसको चहलपहल हुने स्थानमा खानेपानी स्टेसन, सुविधासम्पन्न बसपार्क, नगर चक्रपथसहित बसको व्यवस्था गर्ने उल्लेख छ ।
 


Author

थप समाचार
x