राजनीति

मकै गोड्दै, भोट माग्दै उम्मेदवार

सामाजिक सञ्जालकाे प्रयाेग बढ्याे

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १४:२२ बजे

तनहुँ– तनहुँको १० स्थानीय तहको ८५ वडामा एक हजार ६३५ उम्मेद्वारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् । सबैजसो उम्मेद्वार यतिबेला मत माग्दै घरदैलो गरिरहेका छन् ।  हरेक घरमा पुगेर आश्वासन बाड्दै छन् उम्मेद्वारहरू । घरमा नभेटेका मतदातालाई खेतबारीमा पुगेर भेट्दै छन् । खेतबारीमा काम पनि सघाएजस्तो गर्छन् उम्मेद्वारहरूले केहीबेर । 

मतदाता खेतबारीमै व्यस्त छन् । अहिले मतदाताहरु खेतबारीमा मकै गोड्ने काममा छन् । घर दैलो गरिरहेका उम्मेदवारहरु भोट माग्न खेतमै पुग्ने गरेको पाइएको छ । उम्मेदवारहरु मतदातासँगै मकै गोड्दै भोट समेत मागिरहेका छन् ।


मतदाता रिझाउन ठाउँ ठाउँमा चुनावी सभा पनि भइरहेका छन् । उम्मेद्वारलाई भोट मागेको जिंगल र राजनीतिक दलको चुनावी गीत घन्काउँदै चुनावी प्रचारप्रसार भइरहेको छ । यसपालि उम्मेद्वारले प्रचारप्रसारका लागि सामाजिक सञ्जालको पनि अधिकतम प्रयोग गरिरहेका छन् । विशेष त फेसबुक र टिकटकमा बढी प्रचार गरेको देखिन्छ । चुनावी घोषणापत्रको सार्वजनिकसँगै घरदैलो अभियानको प्रचारप्रसार फेसबुकमार्फत भइरहेका छन् । फेसबुक र टिकटकमा भिडियो बनाएर भोट अपिल भइरहेका छन् । सामाजिक सञ्जालको दुनियाँमा प्रवेश नै नगरेका उम्मेद्वारको पनि प्रचारप्रसार समूहले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् ।

व्यास नगरपालिकाको मेयरमा दोहोरिनलाई नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका बैकुण्ठ न्यौपाने उम्मेद्वारी दर्तासँगै फेसबुकमा जोडिएका छन् । उनको प्रचारप्रसार समूहले फेसबुक पेज खोलेर अपडेट गरिरहेका छन् । बैकुण्ठको घोषणापत्रसँगै घरदैलो अभियानमा गरेको सम्बोधनको भिडियो पेजमा अपडेट गरिन्छ । फेसबुकले प्रचारप्रसारसँगै जनतासँग जोडिन सहज बनाएको मेयरका उम्मेद्वार न्यौपाने बताउँछन् । उनी भन्छन्,  ‘घरदैलो गरिरहेको छु । सबै घरमा पुग्नलाई पनि सम्भव हुदैन । तसर्थ सामाजिक सञ्जालबाट पनि टिमले प्रचारप्रसार गरिरहेको छ ।’ फेसबुकको पोस्टमा आएका प्रतिक्रियाको अध्ययन गर्ने र सुझावको रूपमा ग्रहण गर्ने गरेको उनले बताए । 

शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएर चुनावी मैदानमा होमिएका एमालेका मुक्तिनाथ तिमिल्सिनाको पनि घरदैलोसँगै फेसबुक र टिकटकमा प्रचारप्रसार भइरहेको छ । उनी घरदैलोमा व्यस्त छन् । उनको प्रचारप्रसारमा खटिएको युवाको टिमले भोट आह्वान गरेको तस्बिर र भिडियो अपडेट गरिरहेका छन् । सामाजिक सञ्जालको प्रयोगले प्रचारप्रसारमा निकै सहज बनाएको तिमिल्सिनाले बताए । ‘सबै ठाउँमा घरदैलो गर्नलाई पनि समय छोटो हुँदा सम्भव नहुने रहेछ ।

यसपालि प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग भइरहेको छ । सामाजिक सञ्जालको पहुँच राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पनि हुने भएकाले हाम्रो एजेन्डाहरू राख्न पाएका छौँ । त्यहाँबाट धेरै सुझावहरु पनि लिएका छौँ । उम्मेद्वारहरुलाई प्रविधिमैत्री बन्न पनि सिकाएको छ’, उनले भने । आफ्ना घोषणापत्रमा उल्लेख नभएका तर देशविदेशमा रहेका शुक्लावासीले सामाजिक सञ्जालबाट दिएको सुझावलाई घोषणा पत्रमा समेट्ने गरेको तिमिल्सिनाको भनाइ छ । सामाजिक सञ्जालमा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दा वैदेशिक रोजगारीमा भएकाहरूले आफ्ना परिवारका सदस्यलाई भोट हाल्न लगाउने उनको विश्वास छ ।

अहिले हर घरमा सामाजिक सञ्जाल प्रयोगकर्ता भएकाले चुनावी प्रचारप्रसारका लागि सामाजिक सञ्जाल प्रयोग गरिरहेको शुक्लागण्डकी नगरपालिकामा गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेद्वारी दिएका खुमबहादुर विक राजुले बताए । ‘गाउँ गाउँमा सबैसँग मोबाइल छन् । सामाजिक सञ्जालमा प्रतिबद्धतापत्र, भिडियो र फोटोहरू पोस्ट गर्न पाउँदा सहज भएको छ । उम्मेद्वारहरूलाई चिनाउन पनि सघाएको छ’, उनले भने । आफ्नो घोषणापत्रमा प्रविधिलाई पनि जोड दिएको उनले बताए ।

उम्मेद्वारहरुले फेसबुक पेजमा प्रतिबद्धताको फोटो भिडियो बुस्ट गरिरहेका छन् । जस्ले गर्दा लाखौँ रुपैयाँ प्रचारप्रसारमा विदेशीँदै छ । अर्कोतर्फ स्थानीय सञ्चार माध्यमको आम्दानी पनि घटाएको छ ।  सामाजिक सञ्जालकै कारण सञ्चार माध्यमसँग उम्मेद्वार टाढिएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जवल पौडेल बताउँछन् ।

‘उम्मेद्वारको एजेन्डादेखी चुनावी कार्यक्रम र घरदैलोको तस्बिर सामाजिक सञ्जालमै राख्ने तर सञ्चार माध्यमसँग नआइपुगेको हो कि जस्तो देखिन्छ । विगतको निर्वाचनको तुलनामा विस्तारै सामाजिक सञ्जालले सञ्चार माध्यमलाई उछिनेको महसुस गराएको छ’, पौडेलले भने । एकातिर निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेको कारण उम्मेद्वारको प्रचारप्रसार गर्न सञ्चार माध्यमलाई रोक लगाएको छ । अर्कोतर्फ उम्मेद्वार सामाजिक सञ्जालमा केन्द्रित हुदा आचारसंहिताले तोकअनुसार प्रचारप्रसार सामाग्रीको विज्ञापन निकै कम आएको पौडेलको भनाइ छ ।


Author

थप समाचार
x