पुरुषहरुले धेरै राज गर्दा खासै लछारपाटो लागेन, एकपटक महिलालाई दिएर हेरौँ ः अध्यक्ष प्रचण्ड
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुरुषले केही लछार पाटो लगाउन नसकेकाले एकपटक महिलालाई कार्यकारी अधिकार दिएर हेर्नुपर्ने बताएका छन् । उनले काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी पुरुषहरूले धेरै राज गर्यौँ,’ उनले भने, ‘खासै लछार पाटो लगाउन सकेनौँ । एकपटक महिलाहरूलाई कार्यकारी भूमिका दिएर हेरौँ । यस अर्थमा हाम्रो संविधान कार्यन्वयन गर्ने दृष्टिले हामीले यो पक्षलाई हामीले विशेष रुपले ध्यान दियौँ ।’
गठबन्धनले महानगरमा महिला उम्मेदवार उठाएको अध्यक्ष दाहालले आफू खुसी भएको बताए । ‘म आज खुसी छु,’ उनले भने, ‘ हिजो पनि चितवनमा एकजना महिला नेतृत्वको लागि मत माग्यौँ । आज काठमाडौंको मेयरमा महिला उठ्नु भएको छ । उहाँहरुलाई विजयी गराउनु साच्चै यो परिवर्तनलाई विजयी गराउनु हो ।’
उनले महिला मेयरका उम्मेदवारका बारेमा नाताको कुरा जोडेर गतल प्रचार पनि गरेको आरोप लगाए ।
‘हुन त यी दुइटा मेयरका बारेमा एकथरि ले नकारात्मक प्रचार गरे,’ उनले भने, ‘कसैको छोरी कसैको श्रीमती भनेर महिलाहरुलाई अपमानित गरे । महिला भित्रको क्षमतालाई अवमूल्यन गर्ने एकाथरि मानिसको कोसिस छ । म त्यसको विरोध गर्छु ।’ उनले महिला कार्यकारी पदमा भएको ठाउँमा राम्रो काम भएकाले महिला नेतृत्वलाई विश्वास गर्न समेत आग्रह गरे । ‘अहिले घटनाक्रमले के देखाएको छ भने महिला जहाँ जहाँ कार्यकारी नेतृत्वमा नेतृत्वमा त्यहाँ त्यहाँ राम्रो काम भएको छ,’ उनले भने, ‘त्यसैले महिलाहरुलाई विश्वास गर्ने उनीहरुको योग्यतालाई सम्मान गर्ने देशकै आवश्यकता हो भन्छु ।’
देशको पहिचान राजधानीले दिने भएकाले नेपाल कस्तो बन्छ भन्ने काठमाडौं कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने उनको भनाइ छ । सम्पदाका दृष्टिले काठमाडौं सुन्दर भएपछि शासन र सुशासन भ्रष्टाचारको दृटिले गर्व गर्न नसक्ने स्थिति भएको उनले बताए । तर राजधानीलाई गर्व गर्न लायक बनाउन अहिलेका गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु पर्ने उनको भनाइ छ ।
‘हरेक दृष्टिले राजधानीलाई हराभरा बनाउनु छ,’ उनले भने, ‘यसलाई स्वस्थ्य र स्वच्छ बनाउन सकेमा संसारकै राम्रो राजधानी बनाउन सक्छौँ । हाम्रा उम्मेदवारले यिनै कुरालाई जोड दिनुभएको छ । उहाँहरुलाई जिताउँ । आउने दिनमा सिंगै काठमाडौंलाई परिवर्तन गर्न सकिन्छ ।’
चुनावी आम सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया