गोरखामा गठबन्धन दुईतिर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ?
गोरखा- २०७४ सालको निर्वाचनको मत परिणाम नियाल्दा गोरखा नगरपालिकामा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो, नेकपा एमाले तेस्रो र तत्कालीन नयाँ शक्ति (हालको जसपा) चाँैथो शक्तिको रुपमा देखिन्छन् ।
तत्कालीन निर्वाचनमा यहाँ कांग्रेसबाट राजनराज पन्त, माओवादी केन्द्रबाट कृष्ण राना मगर, नेकपा एमालेबाट विशेश्वर कट्टेल र नयाँ शक्ति पार्टीबाट ज्ञानेन्द्र कुमाल चुनावी मैदानमा थिए ।
पन्त ६ हजार पाँच ६० मत प्राप्त गर्दै निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रानाले पाँच हजार २६ मत, कट्टेलले चार हजार दुई सय ८३ र कुमालले दुई हजार ८३ प्राप्त गरेका थिए ।
उममेयरमा कांग्रेसकी बिनुकुमारी श्रेष्ठ ६ हजार दुई सय ६० मतका साथ विजयी भएकी थिइन् । यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी सम्झना देवकोटाले चार हजार ६ सय पाँच मत, माओवादीकी कञ्चन कुमालले चार हजार दुई सय ५० र नयाँ शक्तिकी पूर्णमाया वन्तले दुई हजार ७५ मत ल्याएकी थिइन् ।
सत्तारुण गठबन्धन दुई तीर, एमाले एक्लै
२०७४ सालको निर्वाचनको मत परिणामभन्दा यसपपटक यहाँ फरक खालको परिणाम आउने निश्चित छ । किनकी, तत्कालीन समयमा सबै राजनीतिक दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा थिए ।
तर, आसन्न निर्वाचनमा कांग्रेस र नेकपा एसबीच चुनावी तालमेल भएको छ । नेकपा एसले आफ्नो उम्मेदवारी स्थगन गरेर कांग्रेसको मेयर उपमेयर दुबैलाई समर्थन गर्ने निर्णय गरेको छ ।
माओवादीले मेयर र जसपाले उपमेयर लिने गरी दुई दलबीच गठबन्धन भएको छ । एमाले एक्लै चुनाव लड्दै छ।
जिल्लामा सत्तारुढ दल कांग्रेस, माओवादी, जसपा, नेकपा एस चार दलीय गठबन्धनका लागि मनोनयन दर्ताको अघिल्लो दिनसम्म कसरत गरिरहेका थिए । तर, अन्तिम समयसम्म भागबण्डामा कुरा नमिलेपछि चारदलीय गठबन्धन फुटेर गोरखामा सत्तारुण चार दल दुई तिर भएका छन् ।
यसपटक गोरखा नगरपालिकामा कांग्रेस र नेकपा एसको तर्फबाट राजनराज पन्त नगरप्रमुख, उपप्रमुखमा मसलीमाया थोकर उम्मेदवार बनेका छन् ।
माओवादी र जसपाको तर्फबाट कृष्णबहादुर राना नगरप्रमुख, उपप्रमुखमा नारायण खत्री छन् । नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा सम्झना देवकोटा, उपप्रमुुखमा देवीबहादुर बस्नेत उम्मेदवार छन् ।
यस्तै, राप्रपाको तर्फबाट नगरप्रमुखमा रुद्रराज पाण्डे, मंगोल नेशनल अर्गनाईजेसनको तर्फबाट कृष्णबहादुर तामाङ, नेकपा माक्र्सवादी, लेनिनवादीको तर्फबाट नारायणबाबु आचार्य, स्वतन्त्र योगेन्द्र कुमालको उम्मेदवारी छ ।
नगर उपप्रमुखमा भने राप्रपाको तर्फबाट सम्झना लामिछाने, मंगोल नेशनल अर्गनाईजेसनको तर्फबाट मन्सु गुरुङको उम्मेदवारी छ ।उम्मेदवारी परेका मध्ये कांग्रेस, नेकपा एस, माओवादी केन्द्र, जसपाको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
मेयरमा कसले मार्ला बाजी ?
कांग्रेस र नेकपा एसका साझा उमेम्दारका राजनराज पन्त गोनपाका पूर्वमेयर हुन् । उनी राजीनामा दिएर पुन उम्मेदवार बनेका हुन् । संगठन बलियो भएको कांग्रेसको उनी बलिया उम्मेदवार हुन् ।
नेकपा एसको समर्थन पाएपछि पन्त थप बलियो बनेका छन् । नेकपा एसको समर्थन पाउनु भनेको नेकपा एमालेको भोट काटिनु हो ।
बलियो उम्मेदवारको रुपमा चिनिए पनि टिकट पाउने विषयमा पन्त विवादित बने । आफूले टिकट नपाउने भएपछि आफ्नै कार्यकर्ता लगाएर पार्टीले पठाएको अर्का उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात गर्न लगाएको उनीमाथि आरोप छ । श्रेष्ठले पाएको टिकट हातपात गर्नेदेखि पार्टी कार्यालयमा ताला लगाउनेसम्मको काम गरेर खोसेको भन्दै कांग्रेसका केही नेता कार्यकर्ता पन्तसँग रुष्ट छन् । त्यसैले नेकपा एसको समर्थन पाए पनि उनले कांग्रेसकै केही असन्तुष्ट समूहको भोट पाउँदैनन् कि भन्ने आशंका छ ।
माओवादी र जसपाको तर्फबाट उम्मेदवार बनेका राना २०७४ सालको निर्वाचनमा पन्तसँगै पराजित भएका थिए । तत्कालीन निर्वाचनमा जोसँग निकटतम प्रतिद्धन्द्धी भएर हार ब्यहोरे उनैसँग फेरि रानाले टक्कर लिदैछन् ।
२०७४ सालको मत परिणाम नियाल्दा माओवादी र जसपाको गठबन्धनले जित्ने सम्भावना पनि कम आँक्न सकिदैन । तर, माओवादी र जसपाभित्रको आन्तरिक गुटका कारण रानाको भोट काटिने संकेत छ । पार्टी संगठन भित्रको गुटको असर मतदातासम्म देखिए त्यसको फाइदा अन्य उम्मेदवारले लिने छन् ।
नेकपा एमालेकी नगरप्रमुखको उम्मेदवार सम्झना देवकोटा पनि त्यत्तिकै बलियो उम्मेदवारका रुपमा चिनिन्छिन् । उनी २०७४ सालको निर्वाचनमा कांग्रेसको उम्मेदवारसँग उपप्रमुख पदमा पराजित भएकी थिइन् ।
व्यक्तिगत छवि र भूगोलमा भिजेकै कारण उनले अघिल्लो निर्वाचनमा पार्टीको मेयरलेभन्दा बढी मत प्राप्त गरेकी थिइन् । देवकोटालाई अहिले एमालेबाहेक अन्य कुनै दलको समर्थन छैन । पार्टी फुटको कारण पनि यसपालि उनलाई एमालेकै केही मत काटिने पक्का छ ।
राप्रपाका उम्मेदवार पाण्डे पनि गोरखा नगरपालिका (तत्कालीन पृथ्वीनारायण नगरपालिका)का पूर्व प्रधानपन्च हुन् । पार्टीको सांगठनिक अवस्था कमजोर भए पनि व्यक्तिगत उनको मत बलियो छ ।
यहाँ हाल ३५ हजार ३१ मतदाता छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया