राजनीति

‘बालुवाटार नेकपाको पार्टी कार्यालय हो र ?’

कार्यकारी अध्यक्षले बैठकमा बोलाउँदा प्रधानमन्त्री नआउने ?

चन्द्रशेखर अधिकारी |
कात्तिक २२, २०७७ शनिबार १९:४० बजे


काठमाडौं :  ‘यति धेरै किन घेराबन्दी ? गर्न खोजेको के हो ?’ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सचिवालयका पाँच नेताको धारणा सुनेपछि तेर्साएको प्रश्‍न हो यो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालय सदस्यहरू दुई पन्‍ने पत्रसहित शनिबार बालुवाटार पुगेका थिए । दाहालले शुक्रबार राखेको सचिवालयको अनौपचारिक बैठकको निर्णयको ‘सार’ त्यही दुई पन्‍ने पत्रमा छ ।

ओलीलाई दाहालले अनौपचारिक बैठकको धारणा सुनाए । नेताहरूले पनि वरियताअनुरुप बोले । सबैले बोलेपछि लिखित वक्तव्य हेर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पार्टी भित्रैबाट किन लगातार अप्ठेरो पारेको ?’ ओलीको धारणा सुनाउँदै एक सहभागीले भने, ‘प्रधानमन्त्रीले बैठक बाहिर वा पार्टी कार्यालयमा गरेको विषयमा पनि प्रश्‍न गर्नुभयो । यो आश्‍यर्यजनक छ ।’


ओलीले बालुवाटारमा सचिवालय बैठक बोलाउँदा सबै जानुपर्ने तर अर्का अध्यक्षले पार्टी कार्यालयमा बोलाउँदा किन आउन नहुने भन्दै नेताहरूले ओलीप्रति कटाक्ष गरे । ‘के बालुवाटार पार्टी कार्यालय हो ? कार्यकारी अध्यक्षले पार्टी कार्यालयमा बैठक बोलाउँदा पनि नआउनुको अर्थ के ?’ नेताहरूको प्रश्‍न थियो । 

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको भनाइ उध्दृत गर्र्दै सहभागी एक नेताले सुनाए, ‘मलाई त ओलीजीले कार्यकारी अध्यक्षको अनुभव समेत गर्न नदिने हुनुभयो । पार्टीको जिम्मा र सरकारको जिम्मा स्पष्ट भएपछि पनि किन यस्तो ?’ सरकारले पार्टीको निर्णय र निर्देशन मान्‍नै नपर्ने अभ्यास भएको भन्दै दाहालले प्रधानमन्त्रीले एकलौटी ढंगले मन्त्रिपरिषद् बिस्तार र अन्य नियुक्तिबारे चासो राखेका थिए ।

सहभागी नेताका अनुसार, ओली र दाहाल पक्षबीच बैठकमा भनाभन भएको थियो । पाँचै जनाले ओलीलाई दोषारोपण गरेका थिए । उता ओली एक्लै पाँचै जनालाई प्रतिप्रश्‍न गरिरहेका थिए । पौने दुई घण्टाको त्यो बैठक रोचक थियो । ‘ओली एक्लैको बलमा सरकार बनेको होइन । दलको कारण तपाईं यो स्थानमा पुगेको भुल्न भएन’ दाहालले ओलीप्रति आक्रामक शैलीमा भने, ‘यहाँले सरकारको नेतृत्व गर्ने अवसर प्रत्यक्ष मतदानबाट पाउनु भएको होइन । पार्टीको जोडबलबाट पाउनु भएको हो । पार्टी बैठकको निर्णय नमान्‍ने, संसद बन्द गरेर त्यसलाई समेत छलेर एकलौटी अघि बढ्नु जनता र दलका लागि घातकसिध्द छ ।’ दाहालले ‘यस्तो कार्यले मुलुकलाई कता लैजान खोज्‍नु भएको हो ?’ भन्दै निकै खरो टिप्पणी गरेका थिए । बढीमा दुई दिनसम्म पर्खने र त्यो समयमा कुनै प्रक्रिया अघि नबढे खराब भन्दा खराब परिस्थितिमा अघि बढ्ने टिप्पणीसहित दाहालले ओलीलाई सचेत गराएका थिए । 

त्यसपछि उपाध्यक्ष वामदेव गौतमले ओलीको निकै आलोचना गर्दै भनेका थिए, ‘सकेसम्म बैठक नै नराख्‍ने, राखेपनि नबोल्ने पार्टीको निर्णयमा नपुग्‍ने सुन्‍ने र हेर्ने अनि आफ्नो निर्णय गर्ने यो पनि कुनै तरिका हो ?’

गौतमपछि बोलेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि ओलीको शैलीबारे प्रश्‍न उठाएका थिए । अन्तिममा बोलेका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले दिएको लिखित सुझावलाई समेत बेवास्ता गरेको, सरकार आफ्नो तरिकाले चलाएको, पार्टीको बदनाम हुँदा कानमा तेल हालेर बसेको भन्दै पार्टी अध्यक्ष र सरकारले गर्नुपर्ने कामको बारेमा स्पष्ट भएर सरकार अघि बढ्नुपर्नेमा बेलगाम बनेको बताएका थिए ।

श्रेष्ठले धारणा राखेपछि प्रधानमन्त्री ओली तत्काल प्रतिउत्तरमा उत्रदै भने, ‘तपाई पार्टीको घेराभन्दा बाहिर जानुभएको छ । यसमा सचेत रहनु होला । सबैको आ-आफ्नो जिम्मेवारी र दायरा हुन्छ । दायरा नाघ्ने काम नगर्नु । सांसद बन्‍न के गर्नुभयो त्यो ख्याल गर्नु ।’

दाहालको नेतृत्वमा बालुवाटार पुगेका नेपाल, खनाल, गौतम र श्रेष्ठले दिएको ‘दुई पन्‍ने’ सुझावलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘अनुरोध पत्र’ भएको बताए । नेकपा सचिवालय र स्थायी समितिको बैठक डाक्न माग गरिएको पत्रमा सरकार सञ्‍चालन र पार्टी निर्णयको बर्खिलाप भएका अन्य सबै विषय समेटिएको छ । ‘प्रधानमन्त्रीले आवश्यकता अनुसार बैठक राख्‍ने जानकारी दिइसक्नु भएको छ,’ थापाले भने, ‘प्रधानमन्त्रीले भन्‍नु भएको छ, बैठक बस्छ । बैठकको आफ्नै भाव हुन्छ । त्यसको एजेण्डा तय हुनुपर्छ । आवश्यकता देखिनुपर्छ । अनि बस्छ, अन्यथा बैठक बस्दैन ।’

पौने दुई घण्टे भनाभनको आवस्थाले कुन रूप लिन्छ त्यो हेर्न बाँकी नै छ । यसमा पनि अध्यक्ष दाहालसँग वरिष्ठ नेताद्वय नेपाल र खनाल ढुक्क हुन सकेका छैनन् भने गौतमको कुरा झन् फरक रहेकाले पनि समस्या कुन ढंगले अघि बढ्छ भन्‍नेमा नै छ ।

पछिल्लो घटनाक्रम र शनिबारको बालुवाटार बैठक सामान्य पक्कै होइन । यसले एउटा अर्कै कोर्ष तय गर्नेछ । किनकि प्रधानमन्त्री यतिबेला मध्यावधि निर्वाचन वा दल फुटाएर अर्कै तरिकाले सरकार सञ्‍चालनको तयारीमा छन् । पार्टी कार्यकर्ताको अथक मेहनत र जोडबलमा आएको झण्डै दुई तिहाइ मतको अपमान गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यसमा ध्यान दिन र त्यस्तो कोर्समा नलाग्न समेत उनीहरूले ओलीलाई सुझाएका छन् ।

ओलीले पार्टीभित्रको विवादलाई प्रधानमन्त्रीको अख्तियार र पहुँचको दुरुपयोग गर्न खोजेकाले त्यसको जवाफ संसदीय दलमा दिने तयारी दाहाल-नेपाल समूहको छ । अब संसदीय दलमा दाहाल-नेपाल-खनाल-गौतम-श्रेष्ठ गठबन्धनले आफ्नो बहुमत साबित गर्नै पर्नेहुन्छ ।
अन्यथा एक सय ७४ सदस्यीय दलभित्र आफ्नो संख्या धेरै छ भनी गफ दिने कार्यमात्र ठहरिनेछ । संसदीय दलमा आफू बलियो रहेको सन्देश ओलीले दिइरहेका छन् । तर आफूलाई सरकार स्वतन्त्र रूपमा संचालन गर्न दलभित्रैबाट नदिएर सोचेको ढंगले काम गर्न नसकेको ओलीले बताउन थालेका छन् ।

बालुवाटार बैठकमा पनि ओलीले नेताहरूलाई भने, ‘जसको जति दम छ, उसले त्यति नै काम गर्ने हो । म आफ्नो काम गरिरहेको छु । यहाँहरु आफ्नो काम गर्नुस् । आफ्नो जिम्मेवारी अनुसारको काम गर्नुपर्छ । मसँग लामो सवाल-जवाफको आवश्यकता छैन ।’
ओलीले यसरी धम्की दिएपछि अन्य नेताहरू पनि डराए । ‘फुटाऊ र शासन गर’ सिध्दान्तमा माहिर ओलीले फेरि वामदेव गौतम कार्ड खेल्न सक्ने अड्कल उनीहरूमा छ । यो शृखला पछिल्ला घटनाक्रममा निरन्तर देखिँदै आएको छ । गत असार १० गतेको स्थायी समिति बैठकको चौथो दिन प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै भारतले आफ्नो सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरूले पनि भूमिका खेलेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए । 

त्यसको तीन दिनपछि बसेको पार्टी बैठकमा नेताहरूले ओलीको त्यही अभिव्यक्तिमाथि प्रश्‍न उठाएर प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न पर्ने माग गरे । जसले स्थायी समिति बैठक पूर्ण प्रभावित भयो । त्यसैमाथि लामो छलफल भएर महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन भयो । कार्यदलले अधिकारदेखि सरकारले गर्ने कार्यसमेतको टुंगो लगाएको थियो ।

भदौ अन्तिम साता स्थायी समितिको बैठक सकियो । तर, बैठकपछि पुनः ओली सहमति विपरित चल्न थाले । प्रतिवेदनप्रति इमानदारीता नदेखाएको भन्दै ओलीप्रति खरो आलोचना शनिबारको बैठकमा नेताहरूले गरे । दाहालले लगातार भन्दै आएको कुरा एउटै हो, ‘तपाई सम्पूर्ण कार्यकारी अध्यक्ष होइन । म पनि कार्यकारी अध्यक्ष हो । सरकार पार्टीले चलाउने हो । सरकारले पार्टी चलाउने होइन ।’

ओलीले पनि दाहालसहित पाँचै जनालाई जालझेल र गुटबन्दी गरेको आरोप लगाए । उल्टै उनीहरूलाई ओलीले आफूहरु पार्टीको बैठकमा आउन नचाहने आफूखुसी गुटबन्दी गर्ने कताकता बैठक गरेर हिंड्ने भन्दै प्रतिप्रश्‍न गरे । 

भेटपछि प्रवक्ता श्रेष्ठले बैठकको मिति नतोकिएको बताए । उनले भने, ‘हामीले सकभर भोलि नै, नभए पर्सीसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गरौं भनेका छौं । प्रधानमन्त्री एवं अध्यक्ष कमरेडले बैठकबारे आज निष्कर्ष दिनु भएको छैन ।’

यसरी पौने दुई घण्टे भनाभनको आवस्थाले कुन रूप लिन्छ त्यो हेर्न बाँकी नै छ । यसमा पनि अध्यक्ष दाहालसँग वरिष्ठ नेताद्वय नेपाल र खनाल ढुक्क हुन सकेका छैनन् भने गौतमको कुरा झन् फरक रहेकाले पनि समस्या कुन ढंगले अघि बढ्छ भन्‍नेमा नै छ ।

ओलीसँग सबैखाले कार्डहरु साथमा रहेको तर यता निरिहता मात्र रहेकाले संसदीय दलमा अविश्‍वास ल्याउन सक्नेबाहेक अन्य उपाय छैन । त्यसतर्फ जान यी पाँचै नेता एक ढिक्का भएर ओली समर्थक देखिएका र गृह मन्त्रालयको मोहमा रहेका रामबहादुर थापालाई पनि ल्याउन सकेमा मात्र ओली थप कमजोर हुनेछन् ।
 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x