राजनीति

धनुषामा स्थानीय तह निर्वाचनका लागि सबै तयारी पुरा

सुभाष कर्ण |
बैशाख २८, २०७९ बुधबार २०:२९ बजे

जनकपुरधाम  – यही वैशाख ३० हुने आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषामा सबै तयारी पुरा भइसकेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार जिल्लाका १८ वटै स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका, मतपत्र लगायतका सामाग्री पुगिसकेको छ ।


स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदान स्थलमा म्यादी सहितको सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । सशस्त्र प्रहरी र नेपाली सेना पनि छुट्टै रुपमा खटने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार जिल्लाका मतदान स्थलहरुको सुरक्षाका दुई हजारको संख्यामा नेपाल प्रहरी र ३ हजार १ सय २१ गरी पांच हजारभन्दा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा सुरक्षाकर्मीको आभाव भएपछि प्रहरी प्रधानमन्त्री कार्यालय र क्षेत्रीय कार्यालयबाट थप प्रहरी निर्वाचनका लागि मगाइएको उनले जानकारी दिए ।

प्रवक्ता क्षेत्रीले भने, 'भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदान स्थलसहित प्रत्येक पालिकामा सिभिल ड्रेसमा प्रहरी र मानवअधिकार सहितको अनुगमन टोली तथा स्वयंसेवकहरु परिचालन गरिसकिएको छ ।'

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था बनाइएको छ भने निजी तथा सार्वजनिक सवारी पुर्ण रुपमा बन्द गरिएको छ त्यस दिन पास लिएका सवारी साधन मात्र स‍ञ्चालन हुने उनले बताए ।

जिल्ला निर्वाचन आयोगका कार्यालयका अनुसार जिल्लामा स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ३२ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार सहितसहित ६ हजारभन्दा बढी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

वैशाख २८ र २९ गते सबै मतदान स्थलमा मतदान केन्द्रका लागि खटिएका मतदान टोलीबाट मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिका सम्बन्धी जानकारी दिने कार्यक्रम जारी रहेको निर्वाचन आयोगको जिल्ला स्थित कार्यालय मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन् । निर्वाचनका लागि जिल्लामा ३ सय २३ मतदान स्थल र ५ सय ९६ मतदान केन्द्र कायम गरिएको जनाइएको छ ।

उनका अनुसार पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ गते सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिने छ भने यस अवधिमा छुटेकाहरुलाई मतदान स्थलमै उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।

निर्वाचन आचारसंहिता उलङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता विपरीत भएका कार्य हटाउने आदेश दिने, स्पष्टीकरण सोध्ने, सचेत गराउने जस्ता कार्य पनि जारी रहेको उनले बताए ।

यसका साथै उनले आजदेखि जारी भएको मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभतेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भए गरेको पाइएमा तत्काल आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए ।

त्यस्तै मतदानको दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्नुपर्ने भएकोले मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन जिल्लाका सबै निर्वाचन अधिकृतलाई तथा स्थानीय प्रशासनलाई निर्देशन दिइ सकिएको उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x