राजनीति

धनुषामा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

सुभाष कर्ण |
बैशाख २९, २०७९ बिहीबार २१:२९ बजे

जनकपुरधाम – भोलि (शुक्रबार) हुने आसन्न स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।

बिहान ७ बजेदेखि हुने मतदानका लागि धनुषाका अधिकांश मतदान स्थलमा मतदान केन्द्र निर्माणको काम सम्पन्न भइसकेकाे छ भने केही स्थानहरूमा मतदान केन्द्र निर्माणको काम जारी रहेको छ जनाइएकाे छ ।


मतदान केन्द्रमा महिला र पुरुषका लागि अलग अलग व्यवस्थापन गरिएकाे छ भने मौसम खराब हुने सम्भावनालाई दृष्टिगत गर्दै अधिकांश स्थानमा टेन्टसमेत निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पनि पूरा भइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

जिल्लाका १८ वटै स्थानीय तहका मतदान केन्द्रहरूमा मतपेटिका, मतपत्र लगायतका सामग्रीहरू पुगिसकेको उनले बताए । धनुषा जिल्लामा ३२७ मतदान स्थलमा ५९६ मतदान केन्द्र कायम गरिएकाे छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदानस्थलमा गरि ५ हजारभन्दा बढी म्यादी प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए। उनले सशस्त्र प्रहरी र नेपाली सेना पनि छुट्टै परिचालन गरिएको बताए ।

जिल्लाका मतदानस्थलहरूको सुरक्षाका लागि २ हजारको संख्यामा नेपाल प्रहरी र ३ हजार १२१ म्यादी गरी कूल ५ हजार १२१ सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । जिल्लामा सुरक्षाकर्मीको अभाव भएपछि थप सुरक्षाकर्मी प्रहरी केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयबाट मगाइएको उनले जानकारी दिए ।

प्रवक्ता क्षेत्रीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदानस्थलसहित प्रत्येक पालिकामा सिभिल ड्रेसमा प्रहरी र मानवअधिकारसहितको अनुगमन टोली तथा स्वयंसेवकहरू परिचालन गरिसकिएको बताए ।

राति ९ बजेदेखि मतगणना गरिने तयारी
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मतदान सम्पन्न भएलगत्तै राति ९ बजेदेखि मतगणना गर्ने तयारी रहेको जानकारी दिए ।

प्याकुरेलले सांझ ५ बजे मतदान सकिएपछि राति ९ बजेबाट मतगणना सुरू गर्ने तयारी भएको जानकारी दिए । उनले छिटोमा राति ९ बजेदेखि र ढिलोमा राति १२ बजेदेखि मतगणना सुरू हुने बताए ।

भोलि हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले मदिरा निषेध गर्नुका साथै भारतसँग जोडिएका सीमानाका बन्द गरेको छ ।

मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभए सम्मका लागि धनुषा जिल्ला भरी सबै प्रकारका मादक पदार्थ (मदिरा) को बिक्रीवितरण र सेवन कार्य निषेध गर्नुका साथै मंगलबार राति १२ बजेदेखि ३० वैशाखसम्मलाई जिल्लाका भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।


 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x