राजनीति

मधेश प्रदेशमा ७० प्रतिशत मत खस्याे, ८ केन्द्रमा मतदान स्थगित

सुभाष कर्ण |
बैशाख ३०, २०७९ शुक्रबार २०:६ बजे

जनकपुरधाम – मधेश प्रदेशमा करिब ७० प्रतिशत मतदान भएकाे छ भने ८ मतदान केन्द्रकाे मतदान प्रक्रिया स्थगित भएकाे छ ।

मधेश प्रदेशका जिल्लाहरुमा अनुमानित ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् ।


मधेश प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन आयाेगकाे कार्यालयले जनाएकाे छ । त्यस्तै महोत्तरी, बारा र पर्सामा ७०/७० प्रतिशत, धनुषामा ६६ र रौतहत र सिरहामा ६५/६५ प्रतिशत मतदान भएको बताइएकाे छ । 

मधेश प्रदेशको कयौँ मतदान स्थलमा विवाद हुँदा मतदान नै स्थगित समेत गर्नु परेको छ । बारामा ४ वटा मतदान स्थलमा विवादका कारण मतदान स्थगित गर्नु परेको मतदान अधिकृत सरोज कुमार चौधरीले जानकारी दिए । 

पचरौता नगरपालिका वडा नम्बर २ र ४ को चारवटा मतदान केन्द्रको बुथ कब्जा गरेपछि मतदान रद्द गरी स्थगित गरिएकाे जनाएकाे छ ।  पचरौता नगरपालिकाका निर्वाचन अधिकृत नीरबहादुर दाहालले केही उच्चश्रृंखल व्यक्तिहरूले बुथ कब्जा गरेपछि  वडा नम्बर २ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्रको मतदान रद्द भएको जानकारी दिए ।

त्यस्तै वडा नम्बर ४ को बेलदारी प्रावि मतदान केन्द्रको क र ख को मतदान पनि रद्द भएको उनले बताए ।

त्यस्तै रौतहटको ३ वटा मतदान स्थलमा मतदान स्थगित गरिएको मतदान अधिकृत छोटेलाल दासले जानकारी दिए । उनका अनुसार रौतहटको बौधीमाई नगरपालिका वडा २ स्थित इनरवारी प्रा.वि. मतदान केन्द्र, बौधीमाई कंकालिनी मतदान केन्द्र  र गरुडाको शंकर प्रा.वि मतदान केन्द्रको मतदान स्थगित भएकाे हाे । 

त्यस्तै सप्तरीको एक मतदान स्थलको मतदान स्थगित गरिएको मतदान अधिकृत रमेशकुमार जोशीले बताए । उनले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा २ को एक मतदान स्थलमा मतदान स्थगित गरिएको बताए ।

मतदान बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएपछि हावाहुरीसँगै वर्षा भएपछि केही मतदान स्थलमा ढिलो गरी मतदान सम्पन्न भएको थियो । वर्षाकाे कारण प्रभावित भएका केही मतदान केन्द्रमा समाचार लेख्दासम्म मतदान जारी नै रहेकाे थियाे । मतदान अधिकृत रमेशकुमार जोशीले वर्षाकाे कारण केही समय मतदान अवरूद्ध रहेकाे कारण केही समय थपेर मतदान सुचारू गरिएकाे बताए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x