राजनीति

१० उपमहानगरमा यस्तो छ पछिल्लो मत परिणाम

१० उपमहानगरमध्ये कांग्रेस ४, माओवादी र स्वतन्त्र २- २, समाजवादी र एमाले १-१ मा अगाडि

इकागज |
जेठ १, २०७९ आइतबार १६:५८ बजे

काठमाडौं–११ उपमहानगर मध्ये १० वटामा मत गणना जारी छ भने एउटा उपमहानगरको भने गणना सुरु हुन सकेको छैन  । तुल्सीपुर उपमहानगरपालिकाको बाहेकका अन्यको मत गणना भइरहेको छ । मत गणना भइरहेका १० उपमहानगरमध्ये ४ वटा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

बुटवल, इटहरी, धरान र नेपालगञ्ज उपमहानगरमा कांग्रेसले अग्रता लिएको हो । धनगढी र जनकपुरधाम उपमहानगरमा मा भने स्वतन्त्र उम्मेदवार अगाडी छन् । माओवादी केन्द्रले घोराही र जीतपुर–सिमरा उपमहानगरमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले हेटौँडामा र एमाले कलैयामा अग्रता कायम गरेका छन् । 


बुटवल उपमहानगरमा मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि 
बुटवल उपमहानगरपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । हालसम्मको मत परिणाममा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले २९ सय ४८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले भने १८ सय ५१ मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा भने एमालेले अग्रता कायम गरेको छ । एमाले उम्मेदवार सावित्रादेवी अर्यालले हालसम्म २१ सय ३१ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार चीनबहादुर गुरुङले भने १७ सय ६६ मत प्राप्त गरेका छन् ।


 जनकपुरधाम उपमहानगरमा स्वतन्त्र अगाडि 

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् । हालसम्मको मतपरिणाममा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १३ सय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले भने ६ सय १६ मत प्राप्त गरेका छन् । जसपाका लालकिशोर साहले ७५ मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उम्मेदवार किशोरी साहले १४ सय ५४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार रुणादेवी झाले ७ सय १७ मत प्राप्त गरेकी छिन् ।


 जीतपुर सिमरा उपमहानगरपालिका गठबन्धन अगाडि

 जीतपुर सिमरा उपमहानगरपालिकामा गठबन्धनले अग्रता कायम गरेको छ । गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले हालसम्मको ४ हजार २१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सरस्वतीदेवी चौधरीले ३ हजार ३ सय ६१ मत प्राप्त गरेकी छन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी मेघा शाहीले ३ हजार ५ सय ५२ मत प्राप्त गरेर पहिलो स्थानमा छिन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारीले २ हजार २ सय २० मत प्राप्त गरेर दोस्रो स्थानमा छन् ।


कलैया उपमहानगरमा मेयर/उपमेयर दुवैपदमा एमालेको अग्रता
बाराको कलैया उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैपदमा एमालेले अग्रता कायम गरेको छ । मेयर पदमा एमालेका विनोदप्रसाद साहले २ हजार ३७ मत ल्याएर पहिलो स्थानमा छन् । कांग्रेसका राजेश राय यादवले १ हजार २ सय ६३ मत पाएर दोस्रो स्थानमा छन् ।
उपमेयर पदमा जसपाका प्रमोदप्रसाद गुप्ताले १५ सय २८ मत ल्याएर पहिलाे स्थानमा  छन् । एमालेकी रौशन परविन १४ सय १९ मत ल्याएकी छिन् । 

धनगढीमा हमालको अग्रता कायमै
धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएका गोपाल हमालले १८ सय २९ मत ल्याएर अग्रता कायमै गरेका छन् । उनलाई पछ्याउँदै कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ५६  मत ल्याएका छन् भने एमालेका रणबहादुर चन्दले १ सय ९२ मत पाएका छन् । 
उपमेयर पदमा माओवादीकी  शान्ति अधिकारी ७ सय ७९ मत ल्याएर अगाडि छिन् । दोस्रोमा रहेकी स्वतन्त्रका प्रभाकर भण्डारीले ५ सय ६० मत पाएका छन् भने  एमालेकी कन्दकला रानाले ५सय ९ मत पाएकी छिन् । 


धरान उपमहानगरमा कांग्रेसको अग्रता
सुनसरीको धरान उपमहानगरपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसबाट मेयर पदका उम्मेदवार किशोर राईले २८ सय ४९ मत ल्याएर पहिलो स्थानमा छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका हर्कराज राईले १९ सय ९३ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १४ सय ३६ मत पाएकी छिन् । 


उपमेयर पदमा भने माओवादीका अइन्द्रविक्रम बेघाले २९ सय ७९ मत ल्याएर अग्र स्थानमा छन् । दोस्रोमा रहेका एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले १८ सय ६२ मत ल्याएका छन् । 

हेटौँडामा एमाले र समाजवादीबीच कडा प्रतिस्पर्धा
हेटौडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र नेकपा एमालेका अनन्तप्रसाद पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको छ। समाजवादीकी मीना कुमारी लामाले २२ सय ४२ मत ल्याउँदा एमालेका अनन्तप्रसाद पौडेलल २१ सय २८ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले २१ सय ३७  मत ल्याएका छन् । 

उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ २२२६ मत ल्याएका छन् । बानियाँलाई नेकपा एमालेकी सुमित्रा काफ्लेले १८ सय ६ मत ल्याएर पच्छाइरहेकी छिन् ।


घोराहीमा माओवादीको अग्रता
दाङको घोराही उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी  केन्द्रका हेमराज शर्मा पोख्रेल ३ हजार १ सय ३७ मत ल्याइ अग्रस्थानमा छन् । पोख्रेललाई नेकपा एमालेका नरुलाल चौधरीले २ हजार ७ सय ६१ मत ल्याएर पच्छ्याइरहेका छन् । 
उपप्रमुख पदमा नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री ३४ सय ३० मत ल्याएर शीर्ष स्थानमा रहेका छन् । उनलाई एमालेकी हुमाकुमारी डिसीले २ हजार ६ सय ५९ मत ल्याएर पच्छाइरहेकी छिन्। 


नेपालगञ्जमा मेयरमा कांग्रेस, उपमेयरमा जसपा अगाडि
बाँकेको नेपालगञ्ज उपमहानगर पालिकाको प्रमुखमा नेपाली कांग्रेसका पशान्त विष्टले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका पशुपति दयाल मिश्राल पच्छाइरहेक छन् । कांग्रेस उम्मेदवार विष्टको ३ हजार ७ सय ९६ मत प्राप्त गर्दा एमालेका मिश्राले १ हजार ७ सय ५१ मत पाएका छन्। 
उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई २ हजार ८ सय ४५ मत प्राप्त गरि शीर्ष स्थानमा रहेका छन् । राईलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी विन्दु चर्ती मगर १ हजार ७ सय ७४ मत प्राप्त गरि दोस्रो स्थानमा छिन्

इटहरी उपमहानगरमा कांग्रेसको अग्रता
सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका हेम कर्ण पौडेलले अग्रता कायम गरेका छन् । पौडेलले २६ सय ६२ ल्याएर पहिलो स्थानमा छन् । एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बाले १९ सय ३४ मत ल्याएका छन् ।
उपप्रमुखमा भने एमालेकी संगीताकुमारी चौधरी मत ल्याएर पहिलो स्थानमा छिन् । उनले २ हजार ४८ मत पाएकी छिन् ।  दोस्रोमा रहेका एकीकृत समाजवादीका केशवकुमार विष्टले १८ सय ३ मत ल्याएका छन् ।


Author

थप समाचार
x