कोशी

मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान

इकागज |
असार ७, २०७९ मंगलबार १८:४३ बजे

खोटाङ-  खोटाङको धार्मिक तथा ऐतिहासिक स्थल मझुवा गढीलाई ‘फूलको पहाड’ बनाउने अभियान थालिएको छ । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकामा रहेको गढीलाई बहुवर्षे फूल रोपेर ‘फूलको पहाड’ बनाउने अभियान थालिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, नेता विष्णुकुमार राई, डिभिजन वन कार्यालय खोटाङका निमित्त प्रमुख जगदीश रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिव सूर्यबहादुर राई, महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई, सुरक्षाकर्मी, देवीस्थान सामुदायिक वन उपभोक्ता समूह लगायतको सहकार्यमा मंगलबार फूलका बिरुवा रोपेर ‘फूलको पहाड’ बनाउने अभियानको सुरुवात गरिएको हो ।  


‘फूलको पहाड’ बनाउने अभियानको पहिलो दिन जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायतका पाँच सय बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

दिक्तेलको हाट डाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि मझुवा गढी पुगिन्छ । मझुवा गढी, कालिका भगवती मन्दिर आसपासका खाली जग्गा र सो स्थानमा पुग्‍ने पैदल मार्ग आसपासमा फूल रोपेर आकर्षक बनाउने महत्वाकांक्षी परिकल्पना गरिएको छ । फूलै फूलको डाँडा बनाएर आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्नका लागि ‘फूलको पहाड’ बनाउने अभियान थालिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताए । ‘सुन्दर ठाउँ, वनजंगल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ । यहाँ तीनवटै चिज एकै ठाउँमा छ । यहाँ मझुवा गढी, कालिका भगवती मन्दिर, बहुद्देश्य महादेव र त्यसको बीचमा सामुदायिक वन छ,’ अध्यक्ष राईले भने, ‘फूलको बगैंचा निर्माण गर्न सकियो भने मझुवा गढीको पर्यटन विकासमा सघाउ पुग्‍ने छ । त्यसको फाइदा नगरपालिकालाई हुनेछ ।’ 

मझुवा गढी आसपासको हाट डाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलको पहाड’ बनाउने योजना छ । आवश्यक गुरुयोजना तयार पारेर ‘फूलको पहाड’ बनाउने साझा सपना पूरा गरिने सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिव राईले बताए । ‘मझुवा गढीलाई फूलै फूलको डाँडा बनाएर पर्यटन प्रवर्द्धन गर्ने सपना हो फूलको पहाड,’ महासंघका प्रदेश सचिव राईले भने, ‘यसका लागि आवश्यक गुरुयोजना बनाएर बाँकी अघि बढ्छ । हाललाई फूलको वृक्षारोपण अभियान सञ्‍चालन सुरू गरिएको हो ।’ 

चारैतिर हरियाली जंगलले घेरिएको गढीमा घुमफिर गर्ने, पिकनिक जाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेसम्मका स्थानीय पुग्‍ने गरेका छन् । अग्लो डाँडा भएका कारण टाढा-टाढाका दृश्यावलोकनका लागि समेत स्थानीय मझुवा गढी उक्लिने गर्छन् ।

यसबाहेक मझुवा कालिका भगवतीको दर्शन गर्न र भाकल पूरा गर्न आउनेको भीड दैनिक लाग्‍ने गरेको छ । गढीमा हरेक वैशाख पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्‍ने प्रचलन छ । भगवती मन्दिरमा कहिलेकाहीँ दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ । 


Author

थप समाचार
x