कोशी

अविरल बर्षाले विराटनगर डुबानमा (फोटो फिचर)

बाबुराम भण्डारी |
असार १४, २०७९ मंगलबार १४:३० बजे

विराटनगर - मंगलबार बिहान ३ बजेदेखिको अविरल बर्षाका कारण विराटनगरका केही बस्तीहरु डुबानमा परेका छन् । विराटनगर पुर्वतिरको सिंघीया खोला र पश्चिममा रहेको केशलियामा पानीको सतह बढेपछि खोला छेउका बस्तीहरु डुबानमा परेका हुन् ।


सिंघीया खोलाको पानी सहजै पस्ने विराटनगरको वडा नम्बर १, २ र ७ र ८ का बस्तीहरु डुबानमा परेका हुन् । सिंघीया खोलाकै पूर्वपटि रहेको कटहरी गाउँपालिकामा पर्ने बस्तीहरु समेत डुबेका छन् ।

खोला बस्तीमा पस्न थालेपछि विराटनगर–८ मा रहेका उच्च जोखिममा परेका घरका मानिसहरुलाई अग्लो स्थानमा त्रिपाल टाँगेर राखिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । अहिलेसम्म ३० घर परिवारलाई नेपाल प्रहरीको सहयोगमा सुरक्षित स्थानमा सारिएको उनले बताए ।

विराटनगरसहित मोरङका अधिकांश खोलानालामा पानीको सतह उच्च भएको जनाइएको छ । लोहन्द्रा खोलाको बाढीले रामचोकमा रहेको पक्की पुल छोएको छ । 

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगरको मेयर र उपमेयरमा उठेका सबै उम्मेदवारहरुले विराटनगरको डुबानको समस्यालाई प्रमुख तीन समस्याभित्र राखेर भोट मागेका थिए । त्यसरी भोट मागेका निर्वाचित भएका जनप्रतिनिधीहरु भने लगत्तैको बाढी र डुबानको रमितेमात्रै बनेका छन् ।

इटहरी उपमहानगरमा पनि ट्यांग्रा खोला, खेती खोला, बुढी खोलाको बाढी बस्तीतर्फ पसेको छ । अधिकांश वडाहरु जलमग्न भएका छन् । वडा नम्बर २,३, ४, ५, ९ र २० का बस्तीहरुमा बाढी पसेको जनाइएको छ । 

इटहरी–२० स्थित कृषि अनुसन्धान केन्द्रको माछा पोखरीमा बाढी पस्दा पोखरीका माछा बगाएको छ । बर्षा नरोकिएको र डुबान बढ्दै गएका कारण जोखिमबारे जानकारी गराउन इटहरीका मेयर हेमकर्ण पौडेलले प्रभावित क्षेत्रका बासिन्दालाई आह्वान गरेका छन् । 

बिहानैदेखि परेको पानी अपरान्ह २ बज्दासम्म पनि रोकिएको छैन । बर्षापछि बाढीले झापा, मोरङ र सुनसरी जिल्लामा विभिन्न पालिकाहरुमा डुबान भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । 

उनका अनुसार झापाको गौरीगञ्ज गाउँपालिकाको बालुवारीमा १५ घर, देवीगडामा ५, टप्पु बस्तीमा १२ घर गरी अहिलेसम्म ३२ घर डुबानमा परेका छन् । झापाकै शिवसताक्षी नगरपालिकामा थप ३० घर डुबान परेको प्रहरी प्रवक्ता राईले जानकारी दिए । उनीहरुलाई स्थानीय त्रिभुवन माबिमा सारिएको छ । 

त्यसैगरी सुनसरीमा अपरान्हसम्म १५ घर डुबान परेका छन् । डुबान क्षेत्रमा थुनिएको खोलालाई जेसीबी लगाएर पूर्ववत् रुपमा फर्काउन पहल भइरहेको जनाइएको छ । मोरङको ग्रामथान गाउँपालिकाका केही स्थानमा सडकको होमपाइप समेत बाढी पसेर बगाएको छ ।

प्रदेश १ मा पहाडी क्षेत्रका भन्दा तराईका जिल्लामा बढि बर्षात भइरहेकोले जोखिम बढाएको प्रहरीले जनाएको छ ।

 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x