कोशी

यसरी डुब्याे दक्षिणी विराटनगर, ३०० परिवार विस्थापित [फाेटाे फिचर]

बाबुराम भण्डारी |
असार १५, २०७९ बुधबार १५:५४ बजे

फाइल तस्वीर

विराटनगर । विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका अधिकांश वडाहरु जलमग्न बनेका छन् । मंगलबार विहान ३ बजेदेखि परेको बर्षा नरोकिंदा होचो भूभाग पर्ने दक्षिणी क्षेत्रका वडाहरु जलमग्न भएका हुन् ।


वडा नम्बर १३, १५, १६, १७ र १८ का बस्तीहरु डुबेका छन् । धान रोपाई गर्न जोतेर ठिक्क पारिएका खेतमा समेत चार फिटसम्म पानी जमेको छ । दक्षिणतर्फको पानीको निकास पर्याप्त नहुँदा त्यस क्षेत्रका बासिन्दा डुबानको समस्यामा पर्दै आएका छन् । बाढी र डुबानपछि महानगरले मंगलबार बनाएको विपद् व्यवस्थापन (बाढी) रेम्पोन्स टिमका संयोजक राजेन्द्र प्रधानका अनुसार दक्षिणी क्षेत्रका वडाहरुमा करीव ३०० घर परिवार विस्थापित भएका छन् ।

मंगलबारदेखि डुबानमा परेका उनीहरु मध्ये केही परिवार भने पानीको सतह घटेपछि घर फर्किएका छन् । ‘दक्षिणी बेल्टमा करिब ३०० घर विस्थापित भएका छन्, घरै फर्किन नमिलेको भन्ने चैं छैन, पानीको सतह केही घटेकोले अहिले सहज बन्दै गएको छ’ उनले भने, ‘प्रभावित क्षेत्रमा महानगरपालिकाले मुरी चिउरालगायत राहत सामग्रीहरु उपलब्ध गराउन थालेको छ ।’

विराटनगरमा पूर्वतर्फको सिंघीया खोलामा बाढी आउँदा खोला छेउका अघिकांश बस्ती डुब्दै आएका छन् । मंगलबारको तुलनामा आज बुधबार भने पानी केही कम परेका कारण खोलामा पानी घटेको छ । पानी घटेपछि बाढीको ‘थ्रेट’ पनि कम भएको संयोजक प्रधानले बताए । बस्तीमा बाढी पसेर जलमग्न भएपछि विराटनगर–१४ को बिष्णुटोल, घोगाहा, राजवंशी टोलका बासिन्दा प्रभावित भएका छन् ।

उनीहरुलाई राहत सामग्री वितरण गर्ने काम भइरहेको वडाध्यक्ष सूर्यनारायण महतोले जानकारी दिए । वडा नम्बर १८ मा पनि एकसय बढि घर परिवार डुबानमा परेको वडाध्यक्ष जितेन्द्र कुमार साहले बताए । डुबानका कारण दक्षिण क्षेत्रका बासिन्दा बढि प्रभावित भएका छन् । कोसी राजमार्ग अन्तरगत बनेको विराटनगर–एकीकृत भन्सार जाँच चौकी (आइसीपी) सडक खण्डमा समेत पानी जमेको छ । सडकको पश्चिमतर्फ ६ फिटसम्म पानी जमेका कारण मानिसहरुलाई घरबाट बाहिर निस्कन समेत कठिनाई भएको छ ।

 

 

 

 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x