कोशी

कांग्रेसकाे प्रस्ताव : प्रदेश १ को नाम सप्तकोशी

बाबुराम भण्डारी |
असार २५, २०७९ शनिबार १९:११ बजे

विराटनगर । प्रदेश १ को नाम सप्तकोशी राख्न नेपाली कांग्रेसले प्रस्ताव गरेको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेशसभाका दलहरुबीच भएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले प्रदेशको नाम सप्तकोशी राख्नुपर्ने धारणा अघि सारेको हो ।

कांग्रेसका प्रमुख सचेतक सुयर्माराज राईले कांग्रेसले मजबुत तरिकाले प्रदेश १ को नाम सप्तकोशी राख्न प्रस्ताव गरेको जानकारी दिए । उनले कांग्रेस नामाकरणको बिषयमा मौन रहेको भन्ने आरोप सही नभएको बताए ।


‘कांग्रेस बोल्दैन भन्ने जस्तो भयो, त्यसो होेइन कांग्रेस मजबुत स्ट्याण्डमा छ भन्ने कुरालाई म एक्सक्लुसिभ एक्पोज गर्न चाहन्छु, नामको बिषयमा अहिले तीन किसिमको धार छ, एउटा पहिचानवादी जो एकल पहिचानवाला छन्, अर्को बहुपहिचानवादी छन्, बहुपहिचानमा पनि कांग्रेसलाई समस्या होइन, त्यसलाई स्वीकार गर्न सकिन्छ, अर्को एमाले जो कोशीभन्दा अर्को हुनुहुँदैन भुगोलको पहिचानभन्दा अर्को हुनु हुँदैन भन्दैछ’ उनले भने, ‘हामीले हिजो शुक्रबारको बैठकमा म आफैले प्रस्ताव गरेको नाम सप्तकोशी हो, प्रदेशको नाम सप्तकोशी हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।’

उनले प्रदेशको नाम कोशी राख्नुपर्छ भन्ने तर्क, सगरमाथा राख्नुपर्छ भन्ने तर्क, या अरु कुनै नाम राख्नुपर्ने तर्कबारे छलफल गर्दा उपयुक्त विकल्पको नाम सप्तकोशी हुने बताए । उनले एमालेले प्रस्ताव गरेको नाम कोशी राख्नका लागि पर्याप्त आधार नभएको बताए ।

‘कोशी भन्ने नदी नै छैन, सिंगो कोशी भन्ने नदी नै छैन, छ त सप्तकोशी छ’ उनले भने, ‘त्यसैले हामीले के प्रस्ताव गरेको हो भने कोशीले मात्रै जष्टिफाई गर्दैन, ऐतिहासिकता, भौगोलिकता, सभ्यता, सांस्कृतिकलाई हेर्ने हो भने सप्तकोशी ठिक छ, कांग्रेसको प्रस्ताव सप्तकोशी हो ।’

उनले कांग्रेसले राखेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सवै दल छलफलका लागि तयार हुने दाबी गरे । राईले सत्ता साझेदार दलहरुमा नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा पनि सकारात्मक रहेको बताए । त्यस्तै लिम्बुवानको पहिचानको माग गर्दै आएको लिम्बुवान सम्वद्ध दल पनि सप्तकोशी नामको बिषयमा सकारात्मक अवस्थामा रहेको दाबी गरे ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x