कोशी

पत्रकारलाई बलात्कारको आरोप लगाउनु पर्ने अभिव्यक्ति दिएपछि मन्त्री कार्की विवादित

बाबुराम भण्डारी |
असार २९, २०७९ बुधबार १४:४३ बजे

विराटनगर - प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की विवादास्पद अभिव्यक्तिका कारण विवादित बनेका छन् । उनले आफूविरुद्ध समाचार लेख्ने पत्रकारलाई बलात्कारको आरोप लगाएर त्यसको खण्डन स्वयं पत्रकारलाई नै गराउनु पर्ने भन्दै अभिव्यक्ति दिएका थिए ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर महानगरपालिका–१२ स्थित एकीकृत सुकुम्बासी बस्तीमा मन्त्री कार्कीले आर्थिक बर्षको अन्त्य हुन लागेको मौकामा रकमान्तर गरेर ७० लाख रुपैयाँ पठाउन खोजेका थिए । उक्त बस्ती निर्माणका लागि महानगरपालिकाले ४० लाख रुपैयाँ खर्च गरिरहेको र उक्त रकम पूर्ण रुपमा खर्च नभएको अवस्थामा आर्थिक बर्षको अन्त्यमा थप ७० लाख रुपैयाँ निकासा गरेपछि मन्त्री कार्की र महानगरपालिकाबीच रकम खर्च गर्ने बिषयमा विवाद भएको थियो ।


महानगरपालिकाले भने प्रदेश सरकारबाट आर्थिक बर्षको अन्त्यमा ७० लाख रुपैयाँ निकासा भएर आउन लागेपनि छोटो अवधिमा उक्त रकम खर्च गर्न नसकिने मनसाय व्यक्त गरेको थियो । मन्त्री कार्कीलाई भने रकम खर्च गर्न दबाब दिएको आरोप लागेको थियो ।

महानगरपालिका नेतृत्वसँग रकम खर्च गर्ने बिषयमा भएको विवादबारे विभिन्न संचारमाध्याममा समाचार आएपछि मन्त्री कार्की आक्रोशित बनेका थिए । उनले महानगरपालिकालाई रकम खर्च गर्न दबाब दिएको बिषयमा समाचार प्रकाशन गर्ने पत्रकारहरुलाई लक्षित गर्दै आफूलाई आरोप लगाए जस्तै पत्रकारलाई पनि बलात्कारको आरोप लगाउन सकिने भन्दै अभिव्यक्ति दिएका हुन् ।

‘कामै नगरी भुक्तानी मागे केदार कार्कीले भनेर जसले लेख्नु भो, उहाँलाई अहिले तपाईँ लेख्दिनोस् त बलात्कार गर्‍यो भनेर’ कार्कीले भने, ‘अनि होइन भनेर उसले प्रमाणित गरोस् न मैले गरेको होइन भनेर ।’ पत्रकारप्रति आक्रोशित बनेका मन्त्री कार्कीले आफूविरुद्ध समाचार लेख्नेले चार पटक सोच्नुपर्ने चेतावनी समेत दिएका छन् ।

विराटनगरको ‘लाइभ नेपाल टिभी’ लाई सोमबार दिएको अन्तरवार्तामा उनले आफू जोडिएको विषयमा समाचार लेख्ने पत्रकारलाई बलात्कारको आरोप लगाएर पत्रकारहरुलाई नै त्यसको खण्डन गर्न लगाउनु बताएपछि नेपाल पत्रकार महासंघ मोरङसहित विभिन्न संघ संगठनहरुले विरोध जनाएका छन् । 

नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पि अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचारहरूको सन्दर्भमा मन्त्री कार्कीले अन्तरवार्ता दिने क्रममा समाचार लेख्ने पत्रकारलाई बलात्कार गर्यो भनेर समाचार आए उसले खण्डन गर्नसक्छ भन्ने धम्कीपूर्ण भाषाको प्रयोग पूर्ण प्रेस स्वतन्त्रता विरोधी तथा अमर्यादित, अशिष्ट अभिव्यक्तिले आम पत्रकारहरुलाई आत्मसम्मानमा चोट पुर्याएको उल्लेख छ । 

विज्ञप्तिमा समाचारमा आएका विषयहरुमा असहमति राख्ने, खण्डन गर्ने, उजुरी गर्ने कानुनी बाटो हुँदाहुँदै पनि समाचार लेख्ने पत्रकारलाई बलात्कारी बनाउनेसम्मको धम्की दिनुले विधिको शासनको उपहास गरेको उल्लेख छ । प्रदेश सरकारको मन्त्रीबाट आएको अमर्यादित अभिव्यक्तिलाई आत्मसमीक्षाको बिषय बनाउन महासंघले मन्त्री कार्कीको ध्यानाकर्षण समेत गराएको छ ।

प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले प्रदेशको कानुनमन्त्री समेत रहेका कार्कीले समाचार लेख्ने पत्रकारलाई बलात्कारी बनाउनेसम्मको धम्की दिनुले विधिको शासनको उपहास गरेको भन्दै विज्ञप्तिमार्फत उक्त अभिव्यक्तिको भत्र्सना गरेका छन् । मन्त्री कार्कीले पत्रकारमाथि डर त्रास फैलाउन खोजेको चौतारीको विज्ञप्तिमा उल्लेख छ । 

प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले मन्त्री कार्कीद्वारा पत्रकारलाई धाक धम्कीको भाषा प्रयोग गरेको घटनाप्रति ध्यानाकर्षण भएको बताए । 

उनले जारी गरेको विज्ञप्तिमा समाचार खण्डन गर्ने नाममा मन्त्री पदमा बसेको व्यक्तिले अशोभनीय ढंगले पत्रकार र सिंगो संचार जगतलाई लाञ्छित गर्नु कदापि स्वीकार्य नहुने उल्लेख छ । प्रेस सेन्टरले निर्भयका साथ समाचार लेख्ने वातावरण बनाउन सरकारसँग माग गर्दै आफ्ना अभिव्यक्तिप्रति माफी माग्न मन्त्री कार्कीलाई आग्रह गरेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x