कोशी

कांग्रेस संसदीय दलका नेता कोइराला भन्छन् : सांसदले बोलेका कुरामा मन्त्रीहरूबाट जवाफै आउँदैन

बाबुराम भण्डारी |
साउन ८, २०७९ आइतबार २०:९ बजे

विराटनगर- प्रदेश सरकारमा सबैभन्दा ठूलो संख्यामा मन्त्रालयको हिस्सा लिएको नेपाली कांग्रेसले पाँचवटा पावरफुल मन्त्रालय चलाइरहँदा त्यही पार्टीको संसदीय दलका नेता राजीव कोइरालाले भने सरकारका मन्त्रीहरु संसदप्रति जवाफदेही बन्‍न नसकेको टिप्पणी गरेका छन् ।

आइतबार प्रदेश सभाको विशेष समयमा बोल्दै कोइरालाले प्रदेश सभाको रोष्टमबाट सांसदहरुले शून्य र विशेष समयमा उठाउने प्रश्नहरुलाई मन्त्रालय र मन्त्रीहरुबाट ठीक ढंगले जवाफ नआएको बताएका हुन् । ‘योभन्दा अगाडि पनि प्रदेश सभाको रोष्टमबाट शून्य र विशेषमा धेरै कुरा उठाइयो, तर ठीक ढंगबाट सम्बन्धित मन्त्रालयबाट, मन्त्रीज्यूबाट जवाफ आएको छैन,’ उनले भने, ‘म आग्रह गर्न चाहन्छु किनभने उठेको कुरा यहाँ संसदमा जानकारी दिनुपर्छ, यहाँ जानकारी दिनु भनेको पुरा प्रदेशबासी र देशबासीले जानकारी पाउनु हो ।’


उनले प्रदेश सभामा बोलेका कुराहरुमा मन्त्रीहरुले समयमै जवाफ दिँदा मात्रै त्यसको महत्व बढ्ने बताए । चारैतिरबाट संघीयतामाथि प्रश्न चिन्ह खडा भइरहेको बेलामा सरकार र मन्त्रीहरु अझ जवाफदेही बन्नुपर्ने संसदीय दलका नेता कोइरालाले धारणा राखे ।

उनले विगतमा योजना बनाएर कार्यान्वयनमा गएका बहुवर्षीय सडक योजनाको प्रगतिबारे सरकारले जानकारी नगराएको गुनासो पोखे । आफ्नै दलका उपनेता हिमाल कार्कीले नेतृत्व गरेको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयप्रति संकेत गर्दै उनले भने, ‘के भइरहेको छ अहिले ? मेरो क्षेत्रमा बहुवर्षीय सडकको निर्माण कम्पनी ठेकेदारले काम नगरी हिन्ने अवस्था आएको छ, के कारणले आएको छ, यहाँ जानकारी होस् ।’

उनले आफ्ना हजुरबुवाको पालादेखि नै मलखादको अभावको कुरा सुन्‍न गरेको तर अहिलेसम्म पनि सरकारले समाधान गर्न नसकेको भन्दै आलोचना गरे । बर्सेनि धान र गहुँ रोप्ने बेलामा मलको अभाव हुनुको पछाडिका कारण प्रदेश सभामा स्पष्ट पार्न सरकार समक्ष आग्रह गरे । कोइरालाले विभिन्न गौरवका आयोजना र योजनाका नाममा संघीय सरकारबाट सर्वसाधारणको जग्गाहरु रोक्का भइरहेको प्रति प्रदेश सरकारले समेत जिम्मेवारी बहन गर्नुपर्ने बताए । कोभिड-१९ को महामारी बढिरहेको भन्दै त्यसका लागि सरकारसँग भएको तयारी प्रदेश सभामा जानकारी गराउन माग गरे ।

‘कोभिडको अवस्था के छ, तयारी के छ, हामी कुन अवस्थामा छौं, कोभिड अस्पताल संचालन छ कि छैन, भ्याक्सिन कतिले लगाउनु भयो, कतिले लगाउनु भएको छ ? कति बाँकी छ ?,’ उनले सोधे, ‘स्वास्थ्य बिमा निजी अस्पतालमा बन्द गरिएको छ, सरकारी अस्पतालमा ठूलो भार परेको छ, यी सबै कुराको जानकारी अविलम्ब सदनमा होस् ।’

नामाकरणमा जिम्मेवार छौं
कांग्रेस संसदीय दलका नेता कोइरालाले नेपाली कांग्रेसले प्रदेशको नामाकरणको विषयमा जिम्मेवार रहेको बताए । उनले प्रदेश सभाका सदस्यहरुले नामको कुरा उठाइरहेको र संसद बाहिर नारा जुलुस भइरहेको कुरा थाहा भएको बताए । तर आफूहरु चुप लागेर भने नबसेको उनले प्रष्टिकरण दिए । ‘हामी जतिपनि दलहरु छौं, हामी पनि चुप लागेर बसेका छैनौं, गृहकार्य गर्दैछौं, प्रदेश सरकारले स्वास्थ्यमन्त्रीको संयोजकत्वमा समिति बनेर वार्ताको सुरुवात भएको छ, सभामुखज्यूले पनि वार्ताको सुरुवात गर्नुभएको छ, हामी पनि वार्तामा छौं,’ उनले भने, ‘अहिले तीनखालेको नाम आएको छ, एउटा एकल पहिचान, दोस्रो बहु पहिचान र अर्को साझा पहिचान, कांग्रेसको के मान्यता छ भने सवैको साझा बिन्दुमा अगाडि बढेर सबै अट्ने खालको नाम राख्न सकियोस् ।’

दुहवी-इनरुवा सडक कहिले बन्छ ?
कोइरालाले सुनसरीको दुहवीदेखि इनरुवासम्मको सडकबारे जनस्तरमा दबाव समिति गठन भइसकेकोले प्रदेश सरकारले जिम्मेवार भएर काम गर्नुपर्ने बताए । साढे १४ किलोमिटर लामो दुहवी-इनरुवा सडक कसले बनाउने भन्नेमा स्पष्टता गर्न प्रदेश सरकारसँग माग गरे । ‘हामी दबाव समूहको चार्जमा छौं, अब दबाव समितिको मात्रै विषय रहेन, इनरुवा नगरपालिका, गढी गाउँपालिका र दुहवी नगरपालिकाले दवावका लागि ऐक्यबद्धता जनाएका छन्,’ उनले भने, ‘बाटो संघीय सरकार मातहत छ कि प्रदेश मातहत आइसकेको छ ? दुई लाइन बन्ने हो कि चार लाइन बन्ने हो ? बाटोको सम्पूर्ण अवस्थाबारे जानकारी होस् ।’

हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गसँग जोडिने भएकाले उक्त सडकलाई रणनीतिक सडकको रुपमा अघि बढाउनु पर्ने उनले माग गरे ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x